पुँजीगत खर्च बढाउने योजना १० दिनभित्र ल्याउन कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च बढाउने योजना दश दिनभित्र ल्याउन कर्मचारीलाई निर्देशन दिएका छन् । उनले अबको १० दिनमा पुँजीगत खर्च तथा सुधार योजना लिएर आउन कर्मचारीलाई भनेका हुन् ।
मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले भने, ‘प्रथम चौमासिक गयो । म आएको पनि ४ महिना भयो । खर्चमा प्रगति सोचे जस्तो भएन । खर्च हुन बाँकीको टेन्डर गरेर काम थाल्न अब ढिला नगरौं ।’
बैठकमा मन्त्रालयले प्रथम चौमासिकमा गरेका कामहरूको समीक्षा गरिएको थियो ।
‘पुँजीगत खर्च कम हुनु गम्भीर समस्या हो, यसमा सबैले समीक्षा गरौं’, स्वास्थ्यमन्त्री पौडेलले भने, ‘स्वास्थ्य मन्त्रालयलाई सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालयका रूपमा हामी विकास गराऔं ।’
उनले आमनागरिकलाई सहज स्वास्थ्य सुविधा प्रदान गर्नु आफ्नो लक्ष्य भएको उल्लेख गर्दै हाल थपिएका निःशुल्क उपचारलगायतका सुविधामा कमसेकम भार पर्ने गरी काम गरिएको बताए ।
‘पपुलिस्ट हुन निर्णय गरेका हैनौं’, उनले भने, ‘आमनागरिकलाई सहज सुविधा दिन गरिएका निर्णय आन्तरिक स्रोतबाटै व्यवस्थापन गरेका छौं । राज्यलाई कम भार पर्ने गरी स्रोत निश्चित भएका निर्णयमात्र गरेका छौं ।’
मन्त्री पौडेलले तीन तहले नै स्वास्थ्य क्षेत्रमा काम गरिरहेको भन्दै अब साना अस्पताल स्थानीय तहले नै निर्माण गर्ने भएकाले आफूहरूको ध्यान जिम्मा लिएर काम सक्न बाँकीमा केन्द्रित गर्न आग्रह गरेका छन् ।
‘भएका अस्पतालमा आवश्यक सुविधा भएको सुनिश्चित गरौं’, उनले भने, ‘अस्पताल हुने, उपकरण नहुने, तर साना अस्पताल थपिने अवस्था कम गरौं । वारि पनि पारि पनि अस्पताल हुनुभएन । भएकालाई राम्ररी कसरी चलाउने भन्नेतर्फ हामीले ध्यान दिनुपर्छ ।’
देशको आर्थिक अवस्था हेरेर धेरै दरबन्दी थप्न सकिने अवस्था नरहेकोतर्फ ध्यान दिन आग्रह गर्दै मन्त्री पौडेलले भने, ‘थप गर्न नसकिने अवस्थामा न्यूनतम दरबन्दीबाट सकेको सेवा दिने गरी काम गरौं । त्यस्तो अवस्थामा आवश्यक न्यूनतम जनशक्ति उपलब्ध हुनेछ ।’
मन्त्री पौडेलले ४८ घण्टाभन्दा बढी फाइल नरोक्न कर्मचारीलाई भनेका छन् । ‘अर्थ, कानून भनेर कुनै फाइल ४८ घण्टाभन्दा बढी रोकिन भएन’, उनले भने, ‘सरकारी कामको यो रवैया हुनुभएन ।’
मन्त्री पौडेलले आफूले परीक्षणका लागि ३ महिना बढी पालो कुर्न परे फोन गर्न भनेको भन्दै हालसम्म ३ वटामात्र फोन आएको कुराले केही सुधार भइरहेको सङ्केत गरेको पनि बताए ।
कसरी सेवा सुधार गर्न सकिन्छ भनेर लाग्न कर्मचारीसँग आग्रह गर्दै उनले भने, ‘यो योजना पूरा गर्न यो काम चाहियो भनेर को आएको छ ? हामीले नागरिकको जिम्मेवारी पूरा गर्न आएका छौं । कामका लागि आएका हौं भन्ने सोच्नुपर्छ ।’
मन्त्री पौडेलले सरकारी जिम्मेवारी भनेको नेतृत्व क्षमता देखाउने अवसर भएको भन्दै यसलाई सदुपयोग गर्न आग्रह गरे ।
मन्त्री पौडेलले योजना योजनामा सीमित नहुन भन्दै कर्मचारीलाई अब कार्य योजना लिएर आउन आग्रह गरे । उनले विदेश भ्रमण जाने समयलाई ५ दिनमा सीमित गर्न भन्दै त्योभन्दा बढी नबस्न र काममा सक्रिय हुन पनि आग्रह गरे ।
‘विदेश भ्रमण गए पछि के कस्तो सिकाइ रह्यो, के सुधार गर्न सकिन्छ रिपोर्ट पनि ल्याउनुहोला’, मन्त्री पौडेलले भने ।