मैले नीतिगत कुरामा जोड दिएको छु, शहरी नीति २०८१ मन्त्रिपरिषद्‌मा अन्तिम चरणमा छ: उपप्रधानमन्त्री सिंह – Nepal Press

मैले नीतिगत कुरामा जोड दिएको छु, शहरी नीति २०८१ मन्त्रिपरिषद्‌मा अन्तिम चरणमा छ: उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संसारलाई देखाउन सक्ने सम्पदाहरुले भरिपूर्ण देश भएको बताएका छन् । सोमबार विश्व शहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा बाल्दै उनले पुर्खाहरुले नेपाललाई सुन्दर शहरहरु दिएर गएको बताए ।

उनले भने, ‘संसारलाई देखाउनसक्ने सम्पदाले भरिएको देश हो नेपाल । पुर्खाले छाडेर गएका ती सम्पदालाई राम्रोसँग व्यस्थित गरेर संसारलाई चिनाउनुपर्छ ।’

विगतमा अहिलेको काठमाडौं काष्ठमण्डपका रुपमा रहेको सन्दर्भ चर्चा गर्दै तत्कालीन समयमा काष्ठमण्डप आर्थिक गतिविधिको केन्द्र रहेको स्मरण गरे ।

उपत्यकाभित्र पशुपतिनाथ मन्दिर, बौद्ध स्तूपा, चाँगुनारायण मन्दिर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, हनुमान ढोका दरबार र स्वयम्भू महाचैत्य विश्व सम्पदा सूचीमा समावेश छन् । यी नै सम्पदाको जगेर्ना गर्दै पर्यटक आकर्षित गर्न सकिने भन्दै उनले व्यवस्थित शहरीकरणमा आफ्नो जोड रहेको बताए ।

शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दीर्घकालीन रुपमा असर गर्ने भएकाले नीतिगत कुरामै जोड दिएको भन्दै मन्त्री सिंहले शहरी नीति २०८१ मन्त्रिपरिषद्‌मा अन्तिम चरणमा रहेको जानकारी गराए ।

शहरी नीति मन्त्रिपरिषद्बाट स्वीकृत भएलगत्तै त्यसलाई कार्यान्वयनमा लैजान आवश्यक पर्ने ऐन बनाउन तदारुकताका साथ मन्त्रालय अघि बढिरहेको पनि उपप्रधानमन्त्री सिंहले बताए ।

उनले युवाहरुसँग नयाँ आइडिया हुने भन्दै योजना निर्माणको प्रक्रियामा युवा र स्थानीय तहलाई भूमिका दिनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर