नेपाल रेडक्रसको रक्तसञ्चारका सम्पूर्ण सेवा अब पुन: प्रदर्शनीमार्गबाटै – Nepal Press

नेपाल रेडक्रसको रक्तसञ्चारका सम्पूर्ण सेवा अब पुन: प्रदर्शनीमार्गबाटै

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले सोमबारदेखि रक्तसञ्चार सेवासम्बन्धी सम्पूर्ण सेवा प्रदर्शनीमार्गस्थित नवनिर्मित केन्द्रीय रक्तसञ्चार सेवा भवनबाट सुरु गरेको छ ।

२०७२ साल बैशाख १२ को विनाशकारी भूकम्पले केन्द्रीय रक्तसञ्चार सेवाको भवनमा क्षति पु¥याएपछि विभिन्न ठाउँबाट दिँदै आएको रक्तसञ्चारसम्बन्धी सम्पूर्ण सेवा सोमबारदेखि पुनः प्रदर्शनीमार्गस्थित भवनबाट सुरु गरिएको रेडक्रसले जनाएको छ ।

नयाँ भवन बनाउने भूकम्पले क्षति पुर्‍याएको भवन भत्काएर त्यहाँ दिइँदै आएको सेवा ललितपुरको बालकुमारीस्थित ब्रिटिश रेडक्रसको सहयोगमा निर्मित आकस्मिक रक्तसञ्चार सेवाबाट उपलब्ध गराइएको थियो, तर सेवाग्राहीले सो स्थान सेवा लिन अपायक र असहज भएको गुनासो गरेपछि नेपाल रेडक्रसले सोल्टीमोडस्थित केन्द्रीय कार्यालय परिसरमा अस्थायी संरचना बनाइ रक्तसञ्चारसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराएको थियो । जुन सेवा अब प्रदर्शनीमार्गस्थित भवनबाटै उपलब्ध हुने नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भूकम्पले क्षति पु¥याएको केन्द्रीय रक्तसञ्चार सेवाको भवन पुनर्निर्माण गर्न नेपाल रेडक्रसले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघमार्फत सहयोगको लागि अपिल गरेको थियो । जुन अपिलअनुरुप थाइल्यान्ड सरकारबाट थाई रेडक्रसको सहयोगमा सुविधा सम्पन्न नयाँ केन्द्रीय रक्तसञ्चार सेवा भवन तयार भएको र रक्तसञ्चार सेवा पनि पुनः सुरु गरिएको महामन्त्री श्रेष्ठले बताए ।

नेपाल रेडक्रसले नेपालमा पहिलो पटक रक्तसञ्चार सेवा २०२३ साल साउन १२ गते काठमाडौंमा वीर अस्पतालले उपलब्ध गराएको सानो कोठाबाट शुरु गरेको थियो । २०३९ साल असोज ६ गतेदेखि अस्ट्रेलियन रेडक्रसको सहयोगमा प्रदर्शनी मार्गमा निर्मित भवनबाट सेवा प्रदान गर्दै देशभर रत्तलसञ्चार सेवा विस्तार गरेको थियो ।

२०७२ साल बैशाख १२ को विनाशकारी भूकम्पले प्रदर्शनीमार्गस्थित केन्द्रीय रक्तसञ्चार सेवाको भवनमा क्षति पुर्‍याएपछि तत्काल नजिकैको नेपाल प्रहरी क्लबसँग समन्वय गरी सोही क्लबको प्राङ्गणमा टेन्ट निर्माण गरी रक्तसञ्चार सेवालाई निरन्तरता दिएको थियो । नेपाल प्रहरी क्लबबाट पुनः केन्द्रीय रक्तसञ्चार सेवाको प्राङ्गण र अघिल्तिरको भवनको केही कोठाहरूबाट सेवा निरन्तरता दिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर