उपनिर्वाचनमा आयुक्तदेखि पिएसओसम्मलाई तलबमा थप ५० प्रतिशत सुविधा
काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन अवधिभर निर्वाचन आयोग तथा आयोग मातहतका कार्यालयमा कार्यरत निर्वाचन आयुक्तदेखि निजी सुरक्षा अधिकारी (पिएसओ)सम्मले तलबमा थप ५० प्रतिशत सुविधा पाउने भएका छन् ।
आयोगले जारी गरेको ‘स्थानीय तह उपनिर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०८१’ अनुसार उनीहरुले उपनिर्वाचन घोषणा भएको मितिदेखि निर्वाचनको अन्तिम परिणाम प्रकाशन भएको मितिले १५ दिनसम्म थप ५० प्रतिशत सुविधा पाउने भएका हुन् ।
गत भदौ ३० गतेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने मिति तोकेकाले सोहि दिनदेखि उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भएको १५ दिनसम्म अर्थात मंसिर मसान्तसम्म गरेर ३ महिनामा खाइ पाइ आएको सुविधामा थप ५० प्रतिशत सुविधा निर्वाचन आयुक्तदेखि पीएसओसम्मले पाउने छन् ।
निर्वाचनको काममा संलग्न निर्वाचन आयुक्त, आयोगको सचिवालय, सम्बन्धित प्रदेश तथा निर्वाचन कार्यालयमा स्वीकृत दरबन्दीमा कार्यरत स्थायी तथा सेवा करार र काजमा कार्यरत कर्मचारी, आयुक्तको सुविधामा कार्यरत कर्मचारी, आयुक्तको निवासमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी, आयुक्तका निजी सुरक्षा अधिकारी (पीएओ) तथा आयोगको मूल गेटमा खटिने नेपाल प्रहरीका १० जनासम्म सुरक्षाकर्मीले निर्वाचन घोषणा भएको मितिदेखि निर्वाचनको अन्तिम परिणाम प्रकाशन भएको मितिले १५ दिनसम्म थप ५० प्रतिशतसुविधा र खाजा तथा खाना खर्च पाउनेछन् ।
भ्रमण आदेशबाट निर्वाचनको काममा काजमा खटिएको अवस्थामा त्यसरी खटिने आयुक्त तथा आयोगको सचिवालयमा कार्यरत कर्मचारीले उक्त अवधिभरको लागि भ्रमण खर्च नियमावली, २०६४ बमोजिम पाउने दैनिक भत्ता तथा भ्रमण खर्चको अतिरिक्त भत्ताको ५० प्रतिशतले हुन आउने रकम थप भत्ता पाउनेछन् ।
आयुक्त तथा आयोगको सचिवालयका कर्मचारीले निर्वाचन घोषणा भएको मितिदेखि निर्वाचनको अन्तिम परिणाम प्रकाशन भएको मितिले १५ दिनसम्म प्रतिमहिना आयुक्ते २ हजार ५००, सचिवले २ हजार, सहसचिवले १ हजार ५००, उपसचिवले १ हजार र शाखा अधिकृतले ५०० सञ्चार सुविधा पाउनेछन् ।
निर्वाचन अधिकृतको कार्यालयमा रहने कर्मचारी मध्ये निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको निजी सुरक्षा अधिकारी (पिएसओ)ले नियुक्ति पाएको मितिदेखि र सहायक निर्वाचन अधिकृत, लेखापाल, कम्प्यूटर अपरेटर, हलुका सवारी चालक, कार्यालय सहयोगीले निर्वाचन अधिकृतको कार्यालयमा हाजिर भएको मितिदेखि निर्वाचनको मतगणना सम्पन्न भएको एक सातासम्म खाइपाइ आएको सुविधामा थप ५० प्रतिशत निर्वाचन सुविधा पाउनेछन् । यस दफा बमोजिमको सुविधा सेवा करारमा काम गर्ने कर्मचारीले समेत पाउनेछन् ।
निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कर्मचारी र निजी सुरक्षा अधिकारी (पिएसओ)ले कार्यालयमा हाजिर भएको दिनको खाजा तथा खाना खर्च पाउनेछन् भने निर्वाचन अधिकृतले निर्वाचन अवधिभर सञ्चार सुविधा एकमुष्ट पाउनेछन् ।
निर्वाचनको परिणाम आएको मितिले सात दिनसम्म दैनिक भत्ता
निर्वाचन अधिकृतले आफू नियुक्ति भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयबाट आफू खटिएको निर्वाचन अधिकृतको कार्यालयमा हाजिर हुन जाँदा र निर्वाचनको कार्य सम्पन्न गरी आफ्नो पदाधिकार रहेको कार्यालयमा फर्किँदाको दिनको भ्रमण खर्च नियमावली, २०६४ बमोजिमको खर्च तथा दैनिक भत्ता पाउनेछन् ।
निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा अन्य कर्मचारी निर्वाचन अधिकृतको कार्यालयमा हाजिर भएको दिनदेखि निर्वाचनको परिणाम आएको मितिले सात दिनसम्म दैनिक भत्ता पाउनेछन् ।
तर, पदाधिकार रहेको कार्यालयबाट निर्वाचन अधिकृतको कार्यालय रहेको स्थान १५ किलोमिटर भन्दा घटी भएमा दैनिक भत्ता नपाइने व्यवस्था छ । दैनिक भत्तामा भ्रमण खर्च नियमावली, २०६४ को नियम ७ को उपनियम २ बमोजिम थप रकम पाउने रहेछ भने उक्त रकम समेत थप गरी पाउनेछ ।
निर्वाचन अधिकृतलाई प्रतिदिन ३ हजार रुपैयाँ अनुगमन भत्ता
निर्वाचन सम्बन्धी कामको सिलसिलामा मतदान केन्द्रको निरीक्षण वा आचारसंहिता अनुगमनका लागि जानु परेमा निर्वाचन अधिकृतले प्रतिदिन ३ हजार रुपैयाँ अनुगमन भत्ता पाउनेछ ।
तर, त्यस्तो अनुगमन भत्ता निर्वाचन अवधिभर सात दिनभन्दा बढी अवधिको लागि उपलब्ध नगराईने कार्यविधिमा उल्लेख छ । तर, निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयका अन्य कर्मचारीले पदाधिकार रहेको कार्यालयबाट दैनिक भत्ता तथा भ्रमण खर्च पाइरहेको भए दोहोरो पर्ने गरी दैनिक भत्ता तथा भ्रमण खर्च उपलब्ध नगराइने उल्लेख छ ।
दैनिक भत्ता पाइरहेका कर्मचारी बाहेक निर्वाचन अधिकृतको कार्यालयमा रहेका अन्य कर्मचारीले निर्वाचन सम्बन्धी काममा आफ्नो कार्यक्षेत्रभित्र काज खटिदा भ्रमण खर्च नियमावली, ३०६४ बमोजिम दैनिक भत्ता तथा भ्रमण खर्च पाउनेछ ।
जसमा मतदान अधिकृतले २ हजार ५ सय, सहायक मतदान अधिकृतले २ हजार, सहायक कर्मचारीले १ हजार ६००, सहयोगी कर्मचारी, स्वयमसेवले १ हजार २ सयले पाउनेछन् ।
दैनिक भत्ता पाइरहेका कर्मचारी बाहेक कर्मचारीले काज खटिदा भ्रमण खर्च
दैनिक भत्ता पाइरहेका कर्मचारी बाहेक निर्वाचन अधिकृतको कार्यालयमा रहेका अन्य कर्मचारीले निर्वाचन सम्बन्धी काममा आफ्नो कार्यक्षेत्रभित्र काज खटिदा भ्रमण खर्च नियमावली, २०६४ को नियम ६ बमोजिमको भ्रमण खर्च मात्र पाउनेछन् ।
यस्तै नेपाल सरकारबाट तोकेको दरमा स्थानीय भत्ता पाउने जिल्लामा अन्यत्र जिल्लाबाट खटिई आएका निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीले नेपाल सरकारले तोकेको दरमा स्थानीय भत्ता पाउनेछन् ।
दैनिक भत्ता भुक्तानी दिँदा पैदल भ्रमण गर्नुपर्ने स्थानका लागि प्रतिदिन १५ किलोमिटरको दरले गणना गर्नुपर्नेछ । किलोमिटरको आधारमा दिन गणना गर्दा सवारी साधन नचल्ने स्थानबाट मात्र गणना गर्नुपर्नेछ ।
भ्रमण खर्च नियमावली, २०६४ को नियम ७ को उपनियम २ दैनिक भत्तामा थप रकम पाउने स्थानमा खटिने कर्मचारीले उपदफा २ बमोजिमको दैनिक भत्तामा थप १० प्रतिशत रकम पाउनेछन् ।
मतदान केन्द्रमा खटिने सुरक्षाकर्मीलाई ३ दिनको प्रतिदिन ६ सयका दरले खाजा खर्च
जिल्ला निर्वाचन सुरक्षा योजना बमोजिम तोकिएको संख्यामा मतदान केन्द्रको सुरक्षाका लागि सुरक्षा निकायबाट खटाइएका सुरक्षाकर्मीलाई मतदान केन्द्रमा बसेको ३ दिनको प्रतिदिन प्रतिव्यक्ति ६ सय रुपैयाँको दरले खाजा खर्च निर्वाचन अधिकृतको कार्यालयबाट पाउनेछन् ।
खाजा खर्चको रकम मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीलाई उपलब्ध गराउने प्रयोजनका लागि निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृतलाई भरपाई गराई दिनुपर्नेछ ।
सम्बन्धित निर्वाचन क्षेत्रको कुल मतदान केन्द्रको २ प्रतिशतसम्म संख्यामा मतदान अधिकृत र सहायक मतदान अधिकृतमा खटाउने प्रयोजनका लागि जगेडामा कर्मचारी राख्न सकिनेछ ।
यसरी जगेडामा रहने कर्मचारीले निर्वाचन अधिकृतको कार्याल्यमा सम्पर्क गर्न एक दिन र तालिममा सहभागि भएको १ दिन गरी जम्मा २ दिनको दैनिक भत्ता निर्वाचन अधिकृतको कार्यालयबाट पाउनेछन् । मतदान केन्द्रमा स्वयंसेवकको रुपमा नियुक्त हुने व्यक्तिलाई ३ दिनका लागि दिने दैनिक भत्ता बापतको रकम मतदान अधिकृतलाई एकमुष्ट उपलब्ध गराइनेछ ।
मतगणना टोलीका कर्मचारीले प्रत्येक सिफ्टको १२०० देखि २५०० सम्म पाउने
मतगणना टोलीमा रहेका कर्मचारीले प्रत्येक सिफ्टको मतगणना बापत अनुसार १ हजार २ सय देखि २ हजार ५०० सम्म रकम पाउनेछ । तर, मतगणनाको लागि एकै समयमा एक भन्दा बढी मतगणना टोली परिचालन गरिएको प्रमुख मतगणना अधिकारी (निर्वाचन अधिकृत)ले प्रत्येक थप टोलीको लागि थप रकम मात्र पाउनेछ ।
निर्वाचन अधिकृतको निजी सुरक्षा अधिकारी (पिएसओ)ले मतगणना अवधिमा प्रतिदिन एक हजार २ सय रुपैयाँ भत्ता पाउनेछ । निर्वाचन अधिकृतको कार्यालयले मतगणना कार्यमा खटिने कर्मचारीको खाजा र चिया वापत प्रत्येक सिफ्टका लािग पद अनुसार ३ हजारदेखि १० हजारसम्म खर्च गर्न सक्नेछन् ।
आयुक्त नेतृत्वको बैठक भत्ता २५ सय, सचिवको नेतृत्वको बैठक भत्ता २ हजार
आयुक्तले अध्यक्षता गर्ने गरी गठन भएका समितिले बैठक आवश्यकतानुसार बस्नेछ । यस्तो बैठकमा अध्यक्षता गर्ने आयुक्त र उपस्थित हुने सदस्यलाई प्रति बैठक २ हजार ५ सय रुपैयाँका दरले बैठक भत्ता उपलब्ध हुनेछ ।
आयोगका सचिवको नेतृत्वमा रहेको आर्थिक व्यवस्थापन समिति, निर्वाचन अधिकृतको नेतृत्वमा रहेको जिल्ला निर्वाचन समिति, उपसमिति र कार्यदलको बैठकमा उपस्थित हुने सदस्यलाई सचिवले अध्यक्षता गर्ने बैठक भए प्रति बैठक २ हजार रुपैयाँका दरले र अन्य व्यक्तिले अध्यक्षता गर्ने बैठक भए प्रति बैठक १ हजार ५०० रुपैयाँका दरबले बैठक भत्ता उपलब्ध हुनेछ ।