विदेश जान रोकिएर गाडीको स्टेयरिङ घुमाइरहेकी तुलसीकुमारी – Nepal Press

विदेश जान रोकिएर गाडीको स्टेयरिङ घुमाइरहेकी तुलसीकुमारी

सुर्खेत । सुर्खेत बराहताल- २ की ३२ वर्षीया तुलसीकुमारी ओली महिला गाडी चालकहरूमध्ये एक हुन् । घरको स्टेयरिङ चलाइरहेकी उनलाई सात वर्षअघि श्रीमान सम्पर्कविहीन भएपछि परिवारको आर्थिक जिम्मेवारी पूरा गर्न गाडीको चालक सीटमा बस्न बाध्य बनायो । तीन छोरीको शिक्षादीक्षासँगै र परिवारको जीविकोपार्जन गर्नुपर्ने बाध्यताले उनलाई घरको मात्रै गाडीको पनि स्टेयरिङ सीटमा ल्यायो ।

श्रीमान भारतको कुल्लु जान्छु भनेर हिँडेको सात वर्ष भइसक्यो । उनी आजसम्म सम्पर्कमा आएका छैनन् । तुलसीले माइतमा बसेर छोरीहरूको लालनपालन गर्न अनेक संघर्ष गरिन् । खेतीपाती, मजदुरी र बाटो बनाउने रोजगार कार्यक्रममा काम गर्दै दैनिक गुजारा टारिरहेकी उनले दिदी-भिनाजुको सुझावमा गाडी चलाउन सिकिन् ।

‘विदेश जाने आँट आएको थियो, तर भिनाजुले स्वदेशमै केही सीप सिक्न सल्लाह दिनुभयो । त्यही सल्लाहले मेरो हातमा गाडीको स्टेयरिङ पर्‍यो, जसले जीवन बदलियो’, उनी भन्छिन् ।

तुलसीले वीरेन्द्रनगरको रंगशालामा गाडी चलाउन सिकिन् । भिनाजुको गाडी चलाउन थालेको एक वर्ष भयो । आजभोलि उनी बराहतालदेखि वीरेन्द्रनगर र आसपासका स्थानमा यात्रु ओसारपसार गर्छिन् ।

‘सुरूमा समाजले मलाई स्वीकार्न गाह्रो मान्यो’, उनी सम्झिन्छिन्, ‘गाडी चढ्न मान्नेलाई डर लाग्थ्यो, तर समयसँगै सबैको सोच बदलिएको छ । अहिले यात्रुले खुलेर प्रशंसा गर्नुहुन्छ ।’

उनको गाडीमा चढ्ने धेरैजसोले महिला चालकको हिम्मत र आत्मविश्वासको सराहना गर्छन् । ‘सुरूमा मेरो पनि मनोबल कमजोर थियो’, उनी भन्छिन्, ‘तर यात्रुले हौसला दिन थालेपछि ढुक्क भएर काम गर्न थालें । अहिले मलाई कर्णालीका अप्ठेरा बाटोहरू पनि सजिलै पार गर्ने आत्मविश्वास छ ।’

गाडीको स्टेयरिङ समाउँदै उनले जीवनसँगै बाटोका अनेक मोड पार गरिसकेकी छन् । तुलसीकुमारीले गाडी चलाएर मासिक २० हजार रुपैयाँ कमाउँछिन् । यही आम्दानीबाट उनले तीन छोरीको पढाइ र लालनपालन गर्दै आएकी छन् । उनका १२, १० र ७ वर्षका छोरीहरू क्रमशः सात, छ र दुई कक्षामा पढ्छन् ।

‘यो पेशा अंगाल्नुअघि मैले ज्यामी, मजदुरी सबै गरें, तर अब छोरीहरूको भविष्य राम्रो बनाउने जिम्मेवारीबाट पछि हट्दिनँ’, उनी भन्छिन् ।

कर्णाली जस्तो परम्परागत सोच भएका ठाउँमा तुलसीकुमारीको कामले महिलाहरूलाई सशक्त बन्ने प्रेरणा दिएको छ । ‘पहिले महिलाले गाडी चलाएको देख्दा धेरैले अचम्म मान्नुहुन्थ्यो । अहिले उहाँहरूले मलाई समर्थन र प्रशंसा गर्नुभएको छ’, उनी भन्छिन्, ‘यसले अन्य महिलाहरूलाई पनि काममा लाग्न हौसला दिएको छ । अब महिलाले श्रीमानको भर पर्नुपर्ने दिन सकिएको छ ।’

गाडी चलाउनु महिलाका लागि असम्भव काम भन्ने सोचलाई तोड्दै उनले देखाएको बाटोले अन्य महिलाहरूलाई पनि अगाडि बढ्न उत्साहित बनाएको छ । ‘हामीले आँट गरेपछि केही पनि असम्भव छैन । सबैले साथ दिए महिलाहरूले ठूलो परिवर्तन ल्याउन सक्छन्’, उनी विश्वासपूर्वक भन्छिन्, ‘छोरी मान्छेले पनि छोरासरह सबै काम गर्न सक्छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर