सुनकाे भन्सारभित्रकाे सार- वर्षमानले बढाएकाे दर विष्णुले किन घटाए ? – Nepal Press

सुनकाे भन्सारभित्रकाे सार- वर्षमानले बढाएकाे दर विष्णुले किन घटाए ?

घटेको भन्सार दरले तस्करी राेकिने र कारोबार बढ्नेमा व्यवसायी आशावादी

काठमाडौं । गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री वर्षमान पुनले सुनको भन्सार दर बढाउने घोषणा गरे । चालू आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै उनले सुनको भन्सार दर ५ प्रतिशत बढाउने सुनाए ।

सोहीअनुसार सुन आयातमा लाग्दै आएको भन्सार दर २० प्रतिशत पुर्‍याइयो । त्यसअघि सुनको भन्सार दर १५ प्रतिशत थियो । नेपालमा सुनको भन्सार दर बढाउँदै गर्दा यहाँभन्दा भारतमा भन्सार दर बढी थियो ।

तर, नेपालमा सुनको भन्सार दर बढाएपछि भारतले भने घटायो । नेपालमा भन्सार दर २० प्रतिशत पुर्‍याइसकेपछि भारतले पूर्ण बजेटमार्फत ६ प्रतिशतमा झार्‍यो । त्यसअघि नेपाल र भारतमा सुनको भन्सार दर १५/१५ प्रतिशत थियो । भारतले दर घटाएपछि नेपालमाभन्दा भारतमा सुनको मूल्य सस्तो हुँदा नेपालमा भने सुनको मूल्य आकाशियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले पनि सुनको मूल्य ३४.७ प्रतिशतसम्मले बढेको देखाएको छ ।

भन्सार दरका कारण नेपाल र भारतमा सुनको मूल्यमा फराकिलो अन्तर भयो । यी दुई देशबीच खुल्ला सीमाका कारण भारतबाट सस्तोमा सुन खरिद गरेर नेपालमा महँगोमा खरिद बिक्री भइरहेको हुनसक्ने अनुमान गर्न सकिन्छ । नेपाली बजारमा तस्करीको सुन आएको आशंका छ ।

आयातमा भारी गिरावट

नेपालमा अब सुन तस्करी मौलाउँछ भनेर व्यवसायीले नै भन्दै आएका थिए । तर, वैध च्यानलबाट सुन आयात गरिएको तथ्यांकले बल पुर्‍याएको छ । नेपालमा वैध च्यानलमार्फत सुनको आयात बैंकहरूले मात्रै गर्न पाउँछन् । त्यसका लागि पनि कोटा तोकिएको छ । उनीहरूले दैनिक १० किलोग्राम सुन आयात गर्न पाउने व्यवस्था छ ।

यसरी वैध च्यानलबाट आउने सुनको परिमाणमा भारी गिरावट आएको देखिन्छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष ०८१/८२ को चार महिना (साउनदेखि कात्तिक)सम्ममा १३२ केजीमात्रै सुन आयात भएको छ । जबकी गत आवको सोही अवधिमा एक हजार केजी सुन आयात भएको थियो ।

चालू आवको पहिलो महिना साउनमा एक सय केजी सुन आयात भएकोमा असोजमा आयात नै भएन । कात्तिकमा ३२ केजी सुन भित्रियो भने भदौमा ५० ग्राम सुन आयात भएको छ ।

कच्चा सुनको आयात घटेपनि तयारी गहना भने नेपाल भित्रिरहेको व्यवसायी नै स्वीकार्छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव किरणभाइ बज्राचार्य भन्छन्, ‘नेपाली र भारतीयहरूले लगभग उस्तैउस्तै गहना लगाउँछन् । भारतबाट नेपालमा गहनाकारूपमा सुन भित्रिरहेको छ ।’

उनका अनुसार यसरी नेपालमा काँचो सुनभन्दा तयारी गहना भित्रिनु कारण पनि भन्सार दर नै हो । नेपालमा कच्चा पदार्थभन्दा तयारी वस्तुको भन्सार कम छ । तयारी गहनामा ९ प्रतिशतमात्रै भन्सार लाग्दा काँचो सुनमा २० प्रतिशत लाग्छ । तयारी वस्तुको भन्सार कम हुँदा विदेशबाट गहना आयात भइरहेको उनको जिकिर छ ।

काँचो सुन बैंकले मात्रै ल्याउन पाएपनि गहनाकारूपमा भने व्यवसायीले समेत आयात गर्न पाउँछन् । यसले वैधानिक बाटोबाट सुन ल्याएर बिक्री वितरण गर्ने व्यवसायी मारमा परेको राज्यले पनि अर्बौँ राजस्व गुमाइरहेको उनले गुनासो गरे । भारतसँग खुल्ला सीमा भएकाले भारतबाट नेपालमा अवैध सुन भित्रिएको हुनसक्ने भन्दै व्यवसायीहरूले अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई ध्यानाकर्षण गराएको बज्राचार्यले जानकारी दिए ।

व्यवसायीको हारगुहार

तत्कालीन अर्थमन्त्री पुनले बजेटमार्फत सुनमा भन्सार दर बढाएपछि सुनचाँदी व्यवसायीले सडक आन्दोलनदेखि मन्त्रालयसम्म गुहारे । बजेट सार्वजनिक भएको केही दिनमै व्यवसायीहरूले काठमाडौंको माइतीघरमा आन्दोलन गरे । उनीहरूले सुनको भन्सार वृद्धि अव्यवहारिक भएको भन्दै तुरुन्तै खारेज गर्न माग राखे ।

व्यवसायीहरू त्यतिमै रोकिएनन् । उनीहरूले बजेट सार्वजनिक भएको १० दिनपछि (जेठ २५ गते) अर्थमन्त्री पुनलाई नै भेटेर भन्सार दर घटाउन माग राखे । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला संघले तत्कालीन मन्त्री पुनलाई भेटेर भन्सार दरले नकारात्मक असर पार्ने भएकोले यसलाई खारेज गर्न माग राखे । त्यसबेला मन्त्री पुनले व्यवसायीहरूको माग सम्बोधन गर्ने आश्वासन दिए । तर, भएन ।

सरकार परिवर्तनसँगै नयाँ अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल आए । पौडेलसँग पनि व्यवसायीले नेपालमा सुनको भन्सारदर बढेको बेला भारतमा घटेकोले त्यसले नेपालमा पारेको प्रभावबारे तत्काल सम्बोधन गर्न मागेका थिए ।

अन्ततः घट्यो भन्सार दर

ध्यानाकर्षण पत्र बोकेर अर्थ मन्त्रालय पुगेका व्यवसायीलाई मन्त्री पौडेलले यसबारे छिट्टै निर्णय गर्ने आश्वासन दिएका थिए । व्यवसायीले ध्यानाकर्षण गराएपछि सम्बन्धित निकायहरूसँग अर्थमन्त्री पौडेल निरन्तर छलफलमा जुटेको मन्त्रालय स्रोत बताउँछ ।

मन्त्रालय स्रोतका अनुसार आर्थिक ऐनको दफा १८ उपदफा १ मा सरकारले राजस्व दर घटाउन, बढाउन वा छुट दिन सक्ने प्रावधान छ । सोही प्रावधान अनुसार अर्थमन्त्री पौडेलले सुनको भन्सार दर घटाउने प्रस्ताव मन्त्रीपरिषद्मा लगेका थिए ।

केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले सुनको भन्सार दर घटाएर १० प्रतिशतमा झार्ने निर्णय गर्‍यो । सोही अनुसार आइतबार भन्सार विभागमा पत्र पुगेको थियो । आइतबारदेखि नै लागू हुनेगरी विभागले भन्सार दर घटाएको विभागका महानिर्देशक हरिशरण पुडासैनीले बताए ।

सुनको वैध आयात घट्ने तर बजारमा कारोबार भइरहँदा ठूलो मात्रामा नेपालले राजस्व गुमाइरहेको थियो । आयातको तथ्यांक र बजारमा सुनको कारोबारको अवस्था तालमेल नखाएकाले सुनको अवैध कारोबार भएको हुनसक्ने आशंकासहित भन्सार दर घटाइएको समेत उनले जानकारी दिए ।

सुनचाँदी व्यवसायी महासंघको तथ्यांक हेर्दा पनि वैधानिकरूपमा सुनको कारोबार घटेको देखाउँछ । चालू आवको चार महिनामा बैंकबाट सुन ल्याएर बिक्री गरिएको परिमाण करिब ५० केजी पनि नरहेको महासंघका महासचिव बज्राचार्यले जानकारी दिए ।

उनले नेपाल प्रेससँग भने, ‘अघिल्ला वर्षहरूमा हामीले देशभर दैनिक १५ देखि २० केजीसम्म सुनको कारोबार गर्थ्यौँ । तर, चालू आवको चार महिनामा ५० केजी पनि सुनको कारोबार गर्न सकेका छैनौँ । भारतबाट गहनाकारूपमा सुन नेपाल ल्याइएको छ की भन्ने हाम्रो आशंका छ ।’

नेपाल र भारतमा भन्सार महसुल अन्तर तोलामै २२ हजारसम्म रहेको व्यवसायीको भनाई छ । नेपाल र भारतमा सुनको भन्सार महसुलमा ठूलो अन्तर देखिएपछि महसुल समायोजन गरिएको छ ।

भन्सार दर घटेकै भोलिपल्ट सोमबार तोलामै १५ हजार ९ सय रूपैयाँ सस्तिएको छ । त्यस्तै आज २६ सय रूपैयाँ घट्यो । आइतबार तोलामा १ लाख ६७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेकोमा आज १ लाख ४८ हजार ७ सय रूपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्य भन्सार दर घटाएका कारण मूल्य समायोजन गरिएको बताउँछन् ।

भन्सार दर पछि सुनको मूल्य घटेका कारण अब सुनको कारोबार बढ्ने आशामा छन् उनी ।

‘भन्सार दरका कारण नेपालमा सुन महँगिँदा नेपालीहरूको क्रय शक्तिले भ्याएन । भारतमा सस्तो भयो । सस्तो जहाँ छ त्यहाँ जानु स्वाभाविक हो’, उनले भने, ‘अब नेपाल र भारतमा सुनको मूल्य उस्तैउस्तै पर्न जान्छ । यसले गर्दा अब नेपाली बजारमा सुनको कारोबार बढ्छ भन्ने आशा छ ।’

वैध च्यानलमार्फत सुनको कारोबार बढेमा राज्यले पनि राजस्व पाउने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *