रकम घोटाला आरोपमा वृहत्तर जनकपुरका पूर्वनिर्देशकसहित ४ कर्मचारीलाई पक्राउ गर्ने तयारी – Nepal Press

रकम घोटाला आरोपमा वृहत्तर जनकपुरका पूर्वनिर्देशकसहित ४ कर्मचारीलाई पक्राउ गर्ने तयारी

गाडी भाडामा लिएको कीर्ते कागजात बनाएर ३० लाख अनियमितता गरेको आरोप

जनकपुरधाम । गाडी भाडामा लिएको भनेर नक्कली कागजात तयार पारी ३० लाख रूपैयाँ अनियमितता गरेको आरोपमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वनिर्देशक बलराम ठाकुरसहित चार कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

परिषद्का पूर्वनिर्देशक ठाकुर, लेखापाल सावित्री गिरी, प्रशासन प्रमुख जितेन्द्र कुमार यादव र जिन्सी शाखा प्रमुख मदनकुमार चौधरीविरुद्ध धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । सरकारी छाप र हस्ताक्षर कीर्ते मुद्दामा उनीहरूविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले पुष्टि गरे ।

उनले भने, ‘परिषद्का पूर्वनिर्देशक ठाकुरसहितका कर्मचारीमाथि जिल्ला प्रहरी कार्यालयमा ठगी गरेको भन्दै उजुरी दर्ता भएका थियो । अहिले अदालतबाट पक्राउ गर्न आदेशसमेत भइसकेको छ । चाँडै सबैजनालाई पक्राउ गर्छौं ।’

गाडी भाडावापत परिषद्का पूर्वनिर्देशक ठाकुरले कर्मचारीहरूकै मिलोमतोमा २०७६ असार ३१ मा किर्ते सम्झौता पत्र र कार्यदेश तयार गरी ३० लाख रूपैयाँ मुकेश यादवको नाममा निकासा गरेका थिए । मुकेश महोत्तरीको एकडारा गाउँपालिकाका हुन् । आफ्नो नाममा रकम निकासा भएकोबारे उनी अनभिज्ञ थिए ।

महिनौंपछि थाहा पाएपछि उनले जिल्ला प्रहरी कार्यालयमा परिषद्का पूर्वनिर्देशक ठाकुरसहित चार कर्मचारीमाथि ठगी सम्बन्धी उजुरी दिएका थिए । उनले रकम निकासा लिन तयार पारेको नक्कली गोश्वारा भौचर, आफ्नो नामको ३६४२४९४१ नम्बरको चेक, पेश्की फर्छ्योटको निवेदनपत्र सहितका कागजातमा कर्मचारीहरुले गरेको कीर्ते दस्तखत प्रमाणको रूपमा उजुरीमा पेश गरेका छन् ।

परिषद्का पूर्वनिर्देशकले यादवको नाममा रहेको बा. १६ च. ६४७ नम्बरको जीप गाडी भाडामा लिएको भन्दै नक्कली कागजात तयार पारेर रकम निकासा गरेका छन् । तर यादवले उक्त नम्बरको गाडी आफ्नो नभएको बताएका छन् ।

यादवका अनुसार परिषद्का पूर्वनिर्देशक ठाकुरसहितले एक वर्षको गाडी भाडा दैनिक ५ हजार रूपैयाँका दरले निकासा गरेर अनियमितता गरेका छन् । यस्तै डिजेल, मोबिल र चालकको खर्चसमेत बुझेका छन् ।

पूर्वनिर्देशक ठाकुरसहितले २०७६ असोज ७ को गोश्वारा भौचार नम्बर २६ बाट गाडी मर्मतका नाममा १० समेत लाख रुपैयाँ पेश्की निकासा लिएको पनि उजुरीकर्ता यादवले दावी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर