अदालतले मुद्दा हराएकोमा महिला आयोगकी सदस्य पौडेलले सार्वजनिकरुपमै पोखिन् रोष
काठमाडौं । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ हुने दिन सोमबार राष्ट्रिय महिला आयोगले नयाँ बानेश्वरमा रहेको अल्फाबिटामा एक कार्यक्रम गर्यो । उद्घाटन समारोह छोटो गर्ने योजनाअनुसार आयोगकी अध्यक्ष कमला पराजुलीले स्वागत मन्तव्य राख्ने तय भएको थियो ।
तर, आयोगकी सदस्य कृष्णाकुमारी पौडेलले आफूलाई स्वागत मन्तव्य राख्न दिनुपर्ने अड्डी कसिन् । पराजुलीले पनि अन्ततः सहमति जनाइन् र ५ मिनेटमा स्वागत मन्तव्य राखिसक्न निर्देशन दिइन् ।
पौडेलले कार्यक्रमका प्रमुख अतिथिदेखि सहभागी सबैको नाम लिँदै केही मिनेट खपत गरिन् । त्यसपछि उनले करिब १० मिनेट आफूले हारेको एउटा मुद्दाबारे चर्चा गर्दै अदालतसँग रिस पोखिन् । भ्रमण आदेशबिनै अमेरिका भ्रमणमा पुगेकी उनले सरकारबाट भ्रमण खर्च नपाएपछि अदालतमा दायर गरेको मुद्दा हारेकी थिइन् ।
पौडेलले उच्च अदालत पाटनबाट हारेको मुद्दाबारे भनिन्, ‘महिला आयोगलाई सरकारले विभेदपुर्ण व्यवहार र निर्णय गरिरहेको छ । यो देशका राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, मन्त्री लगायतका ठुला व्यक्ति विदेश भ्रमणमा जाँदा बजार गए जसरी जानुहुन्छ । तर यदि महिला आयोगबाट कोही जानुपर्ने भयो भने ‘कचौरा थापेर पशुपति जाउ’ भन्ने जसरी विभेदपूर्ण निर्णय गर्छ ।’
पौडेल अमेरिकामा आयोजित एक सम्मेलनमा सहभागी हुन जाँदा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री र सचिवको खर्च सरकारले व्यहोर्ने तथा बाँकी भ्रमण टोलीका सदस्यले आफैंखर्च व्यहोर्नुपर्ने मन्त्रिपरिषद्को निर्णयलाई उनले इंगित गरेकी हुन् ।
आफैंले व्ययभार बोक्नुपर्ने भएपछि महिला आयोगका अध्यक्ष पराजुली सहित आयोगका अन्य पदाधिकारी भ्रमणमा गएनन् । तर, कृष्णाकुमारी आफ्नै खर्चमा जान्छु भन्दै भ्रमण आदेशबिना नै अमेरिका उडेकी थिइन् ।
नेपाल फर्किसकेपछि भ्रमण खर्च ७ लाख पाउनुपर्ने दाबी गर्दै उनले आयोग, महिला मन्त्रालय हँुदै प्रधानमन्त्री कार्यालयसम्म ताकेता गरिन् । अन्तिममा नमिल्ने अवस्था भएपछि उच्च अदालत गुहारिन् । उच्च अदालतले उनको मुद्दा नै खारेज गरिदिएको थियो ।
मन्तव्यका क्रममा पौडेल महिला आयोगकी अध्यक्ष पराजुली, सचिव पार्वती अर्यालमाथि कटाक्ष समेत गरिन् ।
उनले भनिन्, ‘महिला आयोगमै पनि शक्तिको दुरुपयोग भइरहेको छ । आफ्नो हातमा शक्ति छ भन्दैमा महिला आयोगको नेतृत्व लिएँ भन्दैमा हुँदैन । अर्थपुर्ण सहभागिता चाहिन्छ भन्ने तर, महिला आयोगभित्रै पनि शक्तिको दुरुपयोग गर्ने हाम्रा नेतृहरु हुनुहुन्छ, कर्मचारीहरु हुनुहुन्छ ।’
राम्रै स्वागत गरिछन त ।