इङ्ल्यान्डका तीन खेलाडी भित्र्याएको काठमाडौं गुर्खाज कति बलियो ? – Nepal Press
एनपीएल टीम रिभ्यु ४

इङ्ल्यान्डका तीन खेलाडी भित्र्याएको काठमाडौं गुर्खाज कति बलियो ?

काठमाडौं । पोखरा एभेन्जर्सपछि सबैभन्दा महँगो टोली काठमाडौं गुर्खाज अक्सनमा भने सबैभन्दा कम खर्च गर्नेको सूचीमा तेस्रो नम्बरमा रह्यो । अक्सनबाट सोचेअनुसार खेलाडी भित्र्याउन नपाएको काठमाडौंले विदेशी खेलाडी भित्र्याउँदै टोलीलाई सन्तुलित बनाउने प्रयास गरेको छ ।

काठमाडौंले इङ्ल्यान्डको घरेलु क्रिकेटमा जमेका नेथन सोउटरदेखि नेदरल्यान्ड्सका उत्कृष्ट ब्याटर माइकल लेभिट र एसोसिएट क्रिकेट क्षेत्रका उत्कृष्ट खेलाडी जेहार्ड एरासमसलाई टोलीमा समेटेको छ । इङ्ल्यान्डबाट नेथनसहित स्टेफन इस्किनाजी र ड्यान डौथवेटलाई पनि काठमाडौंले अनुबन्ध गरेको छ ।

इङ्ल्यान्डका ३२ वर्षीय नेथन घरेलु प्रतियोगितामा जमेका लेगस्पीनर हुन् । उनले १४३ टी-२० खेलमा १५४ विकेट लिएका छन् । उनीसँग क्यारेबियन प्रिमियर लिग, द हन्ड्रेड, भाइटालिटी ब्लास्ट र इन्टरनेशनल लिग टी-२० जस्ता प्रतियोगिता खेलेको अनुभव छ । अस्ट्रेलियामा जन्मिएका नेथन न्यू साउथ वेल्स- २३ को प्रतिनिधित्व गरेका थिए ।

काठमाडौंमा अनुबन्ध भएका इङ्ल्यान्डकै स्टेफन टपअर्डर ब्याटर हुन् । दक्षिण अफ्रिकामा जन्मेर अस्ट्रेलियामा हुर्किएका ३० वर्षीय स्टेफनले मिडलसेक्सबाट इंग्लिस क्रिकेट काउन्टी खेल्दै आएका छन् । उनले विग व्यास लिगसहित द हन्ड्रेड र भाइटालिटी ब्लास्ट जस्ता लिग खेलिसकेका छन् । ११० टी-२० खेलमा उनले ३,१०५ रन बनाएका छन् । उनी विकेटकिपरसमेत हुन् ।

काठमाडौंबाट खेल्ने तेस्रो इङ्ल्यान्डका खेलाडी हुन् ड्यान । कार्डिफ मेरिलेबोन क्रिकेट क्लबबाट सन् २०१९ मा प्रथम श्रेणीमा डेब्यु गरेका ड्यान इंग्लिस काउन्टीमा ग्लामोर्गनबाट खेल्दै आएका छन् । अलराउन्डर ड्यानले ६२ खेलमा ६३० रनसहित ५७ विकेट लिएका छन् । उनीसँग भाइटालिटी ब्लास्ट र द हन्ड्रेड लिग खेलेको अनुभव छ । मिडलअर्डर ब्याटर ड्यान तीव्र गतिका बलरसमेत हुन् ।

नेदरल्यान्ड्सका युवा ओपनर ब्याटर माइकलले नेपालविरुद्ध डेब्यु गरेका थिए । उनले गत वर्षको फेब्रुअरीमा टीयू क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेपछि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । २१ वर्षीय माइकलले नेदरल्यान्ड्सका लागि १८ टी-२०आई र ८ एक दिवसीय खेल खेलेका छन् । उनले टीयू क्रिकेट मैदानमा नामिबियाविरुद्ध १३५ रनको उत्कृष्ट इनिङ खेलेका थिए । माइकलले १८ टी-२०आईमा ५५२ रन बनाएका छन् । उनले फास्ट बलिङ पनि गर्छन् ।

एसोसिएट क्रिकेट क्षेत्रका एक उत्कृष्ट खेलाडी नामिबियाका जेहार्ड पनि काठमाडौंमा जोडिएका छन् । नामिबियाको कप्तानसमेत रहेका उनले ६५ टी-२०आई खेलमा १,५५७ रन र ५३ विकेट लिएका छन् । उनी सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट प्लेयर अफ द इयरमा चुनिएका थिए । टपअर्डर ब्याटर जेहार्ड स्पिन बलिङसमेत गर्छन् ।

करण केसी मार्की प्लेयर रहेको काठमाडौंमा राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की, शाहब आलम, रसिद खान, राजु रिजाल जस्ता खेलाडी छन् । भीम ओडीआई क्रिकेटमा जमेका ब्याटर हुन् । साथै उनको फिल्डिङ उत्कृष्ट छ ।

त्रिभुवन आर्मी क्लबबाट घरेलु क्रिकेट खेल्ने शाहब स्पिनर हुन् । उनले घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन्, तर सन् २०२२ यता राष्ट्रिय टोलीमा पर्न सकेका छैनन् ।

रसिद बलिङ र ब्याटिङ दुवै गर्नसक्ने खेलाडी हुन् । सन् २०१९ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका रसिद फाट्टफुट्ट टोलीमा परिरहन्छन् । गत पुसमा भएको प्रधानमन्त्री कपमा रसिदले पहिलो शतक प्रहार गरेका थिए । उनी तीव्र गतिका बलर पनि हुन् । राजुले सन् २०१६ मा भएको यू-१९ विश्वकपमा नेपालको कप्तानी गरेका थिए । सोही वर्ष राष्ट्रिय टोलीबाट समेत डेब्यु गरेका थिए । विकेटकिपिङ ब्याटर रहेका राजु सुदूरपश्चिम प्रदेशबाट घरेलु क्रिकेटमा ओपनिङ गर्ने गर्छन् ।

काठमाडौंमा सुमित महर्जन, शंकर राना, दीपेश कँडेल, कृष्ण कार्की, प्रतीक श्रेष्ठ र विवेक केसी पनि अनुबन्ध भएका छन् । सशस्त्र प्रहरी बल (एपीएफ) बाट घरेलु प्रतियोगिता खेल्दै आएका सुमित र नेपाल पुलिस क्लबबाट खेल्ने शंकर टपअर्डर ब्याटर हुन् । दुवै घरेलु क्रिकेटमा जमिरहेका छन् । कृष्ण लुम्बिनी प्रदेशका कप्तान हुन् । अलराउन्डर भूमिकामा खेल्ने कृष्णले नेपालको यू-१९ बाट खेलेका थिए । उनले ब्याटिङसँगै तीव्र गतिमा बलिङ गर्ने गर्छन् ।

दीपेश युवा स्पिनर हुन् । दीपेशले गत जनवरीमा भएको यू-१९ विश्वकप खेलेका थिए । युवा ब्याटर प्रतीक बागमतीका यू- १९ टोलीका सदस्य हुन् भने विवेक अस्ट्रेलियामा घरेलु क्रिकेट खेलेका तीव्र गतिका बलर हुन् ।

कस्तो रहला टीम फर्मेसन ?

उत्कृष्ट विदेशी खेलाडी भित्र्याएको काठमाडौंको ब्याटिङ अर्डर बलियो देखिन्छ । काठमाडौंको ओपनिङ नेदरल्यान्ड्सका उत्कृष्ट ब्याटर माइकल लेभिट र नेपालका राजु रिजालले गर्ने सम्भावना छ । सुमित महर्जन पनि ओपनिङ गर्नेको विकल्प हुन सक्छन् ।

माइकलले नेदरल्यान्ड्सको ओपनिङ गर्दै आएका छन् भने घरेलु क्रिकेटमा राजुले सुदूरपश्चिम र सुमितले एपीएफबाट ओपनिङ गर्ने गर्छन् । उनीहरुसँगै टपअर्डरमा नामिबियाको कप्तान जेहार्ड एरासमस, इङ्ल्यान्डका स्टेफन इस्किनाजी, नेपालका भीम सार्की र शंकर राना रहनेछन् । काठमाडौंको मिडलअर्डरमा इङ्ल्यान्डका अलराउन्डर ड्यान डौथवेट, नेपालका रसिद खान र प्रतीक श्रेष्ठ रहँदा लोअर्डरमा इङ्ल्यान्डका नेथन सोउटर, करण केसी, कृष्ण कार्की रहनेछन् ।

काठमाडौंको बलिङ युनिट मार्की प्लेयर करणले सम्हान्नेछन् । पेश बलिङमा करणलाई रसिद खान, कृष्ण कार्की र इङ्ल्यान्डका अलराउन्डर ड्यानले साथ दिनेछन् । स्पिनतर्फ शाहब आलम, दीपेश कँडेल र नामिबियाका कप्तान जेहार्ड रहनेछन् ।

काठमाडौं गुर्खाज

स्वदेशी खेलाडी : भीम सार्की, शाहब आलम, रसिद खान, राजु रिजाल, शंकर राना, सुमित महर्जन, कृष्ण कार्की, दीपेश कँडेल, विवेक केसी र प्रतीक श्रेष्ठ ।

विदेशी खेलाडी : माइकल लेभिट (नेदरल्यान्ड्स), जेहार्ड एरासमस (नामिबिया), नेथन सोउटर (इङ्ल्यान्ड), स्टेफन इस्किनाजी (इङ्ल्यान्ड) र ड्यान डौथवेट (इङ्ल्यान्ड) ।

मार्की प्लेयर : करण केसी ।

मुख्य प्रशिक्षक : बवन्त शाही ।

काठमाडौंको खेल तालिका

काठमाडौंले मंसिर १७ गते चितवन राइनोजसँग पहिलो खेल खेल्दै नेपाल प्रिमियर लिग (एनपीएल)को सुरुवात गर्नेछ । काठमाडौंले दोस्रो खेल मंसिर १९ गते कर्णाली याक्स, तेस्रो खेल मंसिर २० गते सुदूरपश्चिम रोयल्स र चौथो खेल मंसिर २६ गते लुम्बिनी लायन्सँग खेल्नेछ ।

पाँचौं खेल मंसिर २७ गते जनकपुर बोल्ट्स, छैटौं खेल मंसिर २९ गते पोखरा एभेन्जर्स र सातौं खेल मंसिर ३० गते विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ ।

याे पनि पढ्नुस् : १) विराटनगर किङ्स : बलिङमा सन्दीप र ब्याटिङमा गप्टिलको भर

२) अनिल र आसिफको ओपनिङ जोडीसहित बलियो ब्याटिङ लाइनअपमा उभिएको जनकपुर बोल्ट्स

३) बलियो मध्यक्रममा टिकेको चितवन राइनोजको आशा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *