देशमा संकट पर्दा कांग्रेस नेता कार्यकर्ता भागेका छैनन्, लुकेका छैनन्, डटेका छन् : विद्वान गुरुङ – Nepal Press

देशमा संकट पर्दा कांग्रेस नेता कार्यकर्ता भागेका छैनन्, लुकेका छैनन्, डटेका छन् : विद्वान गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले देशबाट भागेका र विदेशमा ठगेर आएकाहरूको नयाँ दल भन्नेहरू फेरि पनि भाग्ने समय आउने जिकिर गरेका छन् ।

मंगलबार कीर्तिपुरमा आयोजित चुनावी कार्यक्रममा अध्यक्ष गुरुङले रास्वपा सभापति रवि लामिछानेप्रति लक्षित गर्दै सहकारीको रकम ठगी गर्नेहरूले भोलिका दिनमा देशबाट भाग्ने बताए । उनले नयाँ भनिएकाहरूबाट सामाजिक सञ्जालमा जथाभावी विकृतिपूर्ण पोष्टहरू गरेर नेताहरूको चरित्रहत्या हुने कार्यहरू भएको बताए ।

उनले भने, ‘यो व्यवस्थामाथि हरेक दिन फेक आईडी बनाएर नेताहरूमाथि गाली र गलौज गर्नुभएको छ । देशमा विकृति र विचलित कार्य मच्चाउँदै हुनुहुन्छ ।’

‘यति धेरै विकृतिहरू तपाईहरूले मच्चाउनुभएको छ कि देशमा खुसीयाली भन्दा पनि जनतामा निराशा छाएको छ’, तरुण अध्यक्ष गुरुङले भने ।

तरुण दलका अध्यक्ष गुरुङले देशमा संकट आउँदा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले साथ दिएको बताए । उनले भने, ‘जबजब देशमा संकट पर्छ नेपाली कांग्रेसका नेता कार्यकर्ता भागेको छैन । लुकेको छैन । डटेको छ ।’

‘अब यो देशमा बस्न सकिदैन भनेर यो देश छोडेर भागेकाहरू आज सबैभन्दा ठूला ठूला कुरा गरेर विद्वानहरूले सामाजिक सञ्जालमा लेख्ने गरेका छन्’, अध्यक्ष गुरुङले भने ।

‘ती नयाँ भन्नेहरू यो देशबाट भागेर गएका थिए । विभिन्न देशमा ठगेर आएका थिए र ठग्न आएका हुन् भन्दा कसैले पत्याएनन्’, उनले दाबी गरे ।

उनले नयाँ भन्ने दलकाले नै जनताका पैसा हिनामिना भएको र जेलमा भएको गुरुङले जिकिर गरे ।

‘आज मैले सुने, हिजो मात्रै कोही अमेरिका भागेर गएका छन् । धेरै भाग्नेवाला छन्’, अध्यक्ष गुरुङले रास्वपाका नेताहरूको नाम नलिएर भने ।

तरुण अध्यक्ष गुरुङले कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसबाट कृष्णमान डंगोल उम्मेदवार बनेको हुँदा चुनाव चिन्ह रुखमा मतदान गरेर विजयी बनाउन अपील गरे । उनले कीर्तिपुरवासीलाई कांग्रेसका उम्मेदवार डंगोललाई विजयी गराउनै पर्ने भनेर अनुरोध गरेका छन् । जनताको माया र साथ पाएकै कारण कीर्तिपुरको १० वटा वडामा कांग्रेसले जितेको अध्यक्ष गुरुङले बताए ।

चुनावी कार्यक्रमपछि घरदैलो कार्यक्रममा तरुण अध्यक्ष गुरुङ हिँडेका थिए । उनले कांग्रेसका उम्मेदवारको पक्षमा भोट मागेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर