कार्टुनबाटै संसद हल्लाउन सफल वात्स्यायन
पोखरा । ‘राम्रो गर्नुभयो ! बाँच्नुपरेको भए आत्महत्या गर्नुहुन्थ्यो ।’
शहीद दिवसको दिन माला लगाइरहेको एउटा सालिक छ । सालिकमा लेखिएको छ, ‘अमर शहीद’ । शहीदको सामुन्ने एक आमनागरिक घुँडा टेकेर बसेका छन् । हात जोडेर श्रद्धा प्रकट गरिरहेका छन् । उल्लेखित वाक्य ती व्यक्तिले शहीदको सालिकलाई भनिरहेका छन् ।
शहीद दिवसको छेको पारेर दुर्गा बराल (वात्स्यायन) सृजित यो कार्टुन २०७५ सालमा कान्तिपुर कोसेलीमा छापिएको थियो । कार्टुनलाई लिएर वात्स्यायन भन्छन्, ‘जो परिवर्तनको सपना बोकेर आन्दोलनमा होमिए र शहादत प्राप्त गरे । उनीहरु बाँचेका भए यो समयमा कति दुःखी हुन्थे होलान् ?’
यो कार्टुनको सन्दर्भ स्रोत भने भूपि शेरचनको कविता रहेको वात्स्यायन बताउँछन् ।
मैले पिएकोमा रिसाएका साथीहरु
पिएर त हेर पिउन झन गाह्रो छ
मरेर शहीद हुनेहरु
जिएर त हेर जिउन झन गाह्रो छ ।
०००
धेरै पहिले एक दिन वात्स्यायनलाई काठमाडौं पोस्टका सम्पादक प्रतीक प्रधानले रातितिर फोन गरे, ‘दुर्गाजी, तपाईंले चोटिलो कार्टुन बनाएर पठाइदिनुपर्यो ।’
बरालले भने, ‘यति राति भन्नुभयो । सोच्ने समय नै भएन ।’
प्रधानले थपे, ‘जति सक्नुहुन्छ, त्यति बनाउनुस् । अलि पन्चिङ टाइपको ।’
मुलुक २०६२/६३ को दोस्रो जनआन्दोलनको संघारमा थियो । राजतन्त्र नै फाल्नुपर्छ भनेर जनता जागेका थिए । यही वेला गिरिजाप्रसाद कोइराला भने ‘बेबी किङ, बेबी किङ भन्दै हिँडिरहेका थिए । जबकि तत्कालीन राजा ज्ञानेन्द्रलाई नै गिरिजाको यो प्रस्ताव मञ्जुर थिएन । ज्ञानेन्द्रले सत्ता नै हातमा लिएका थिए ।
यही सन्दर्भलाई केन्द्रमा राखेर वात्स्यायनले कार्टुन बनाए । कार्टुनमा मरेको घोडा जस्तो बनाएर संवैधानिक राजतन्त्रलाई फोहोरको थुप्रोमा फालिएको थियो । त्यही थुप्रोबाट गिरिजा मरेको घोडाको लास काँधमा बोकेर निस्किरहेका थिए ।
‘देशभर गणतन्त्रको माग भइरहेको थियो । राजालाई नै संवैधानिक राजतन्त्र नचाहिने भनेर सत्ता हातमा लिएको थियो । अनि गिरिजालाई चाहिँ मरेको राजतन्त्र बोकेर किन हिँड्नुपर्यो भनेर कार्टुन बनाएँ’, वात्स्यायन सुनाउँछन्, ‘पछि २०६२/६३ को जनआन्दोलनमा यो कार्टुन जुलुसमा हातहातमा थियो । त्यो क्षण कम कलाकारको भाग्य हुन्छ ।’
०००
बहुदल आएपछि वात्स्यायनको अर्को चर्चित कार्टुन छ । उक्त कार्टुनलाई लिएर संसदमै कुरा चलेको थियो । त्यसवेला एमालेले तत्कालीन प्रधानमन्त्री गिरिजाविरुद्ध अविश्वासको प्रस्ताव संसदमा लगेको थियो । उक्त प्रस्ताव असफल भएको थियो ।
अनि वात्सायानले एक कार्टुन बनाए । कार्टुनमा एमाले संसदीय दलका नेता मनमोहन अधिकारीले अविश्वासको प्रस्तावको तरबार बोकेका थिए, तर तरबारको टुप्पो भने भाँचिएको थियो ।
गोरखापत्रमा प्रकाशित त्यस कार्टुनलाई लिएर एमालेले संसदमै कुरा उठायो । जनताको करले चलेको संस्थामार्फत प्रतिपक्षी आवाजलाई दबाउन खोजिएको भन्दै एमालेले विरोध गरेर संसद नै चल्न दिएन । वात्स्यायन सम्झिन्छन्, ‘त्यसवेला एमालेले तत्कालीन सञ्चारमन्त्री जेपी गुप्ताले स्पष्टीकरण नै दिनुपर्छ भनेर कुरा उठाएको थियो । संसद नै चल्न दिएको थिएन ।’
वात्स्यायनको ६ दशक लामो कार्टुनकारिता
२०१९/२० सालमा वात्स्यायन (८१) कला पढ्ने सोच बनाएर काठमाडौं छिरेका थिए । ललितकला क्याम्पसमा पढ्ने सोच थियो उनको, तर पढाइ चित्त बुझेन । ललितकला क्याम्पस उनलाई साँघुरो लाग्यो । यहीवेला त्रिपुरेश्वरमा एक जर्मनले घरेलु शिल्प कला डिजाइन पढाउँदो रहेछ । त्यहाँ सिक्नेलाई अलिअलि भत्ता पनि दिँदोरहेछ । भत्ताकै लोभमा तीन महिना डिजाइन सिके ।
‘तर मैले काठमाडौंमा कला पढ्ने ठाउँ भेटिनँ । एक पटक दिल्लीमा गएर कोसिस गर्छु भन्ने लाग्यो । ठूलो सपना बोकेर आएकाले खुम्चन मन लागेन’, वात्स्यायन सुनाउँछन्, ‘म घर आउँछु, मलाई पैसा पठाइदेऊ भनेर घरमा झूट बोलें । घरबाट डेढ सय पठाइदियो ।’
उक्त पैसा बोकेर वात्स्यायन दिल्लीतिर लागे । दिल्ली, ठाउँ नै विशाल । चिनेजानेको कोही छैन । केही भेउ पाएको छैन । यसो बजार डुल्ने क्रममा पेन्टिङको साइनबोर्ड देखे । त्यहाँ गएर भने, ‘मलाई काम दिनुस् । खर्च चाहिएको छ ।’ उनले आफू नेपालबाट पढ्न भनेर आएको बताए ।
अनि बोर्ड लेख्ने काम पनि पाए ।
साहुजीले बोर्ड लेख्न लगाए । वात्स्यायन सुनाउँछन्, ‘इनामेल नै नचलाएको मान्छे, साइनबोर्ड लेख्न एकदमै ढिला गरें ।’
साहुजीले भने, ‘तिमी सक्दैनौं । यहाँ त छिटो-छिटो गर्नुपर्छ । बरु ड्रइङ गर्न जान्छौ ?’
साहुजीले स्कुलको कामको ठेक्का लिएका रहेछन् । हात धुनुपर्छ, दाँत माझ्नुपर्छ भन्ने सन्देश बोकेका ड्रइङहरु बनाउनुपर्ने रहेछ । ड्रइङको काममा वात्स्यायनले आफूलाई प्रमाणित गरे । साहुजी दंग पर्यो । १० दिन जति काम गरे । सँगै कला पढ्ने कलेज पनि खोजिरहे, तर भेउ पाएनन् ।
साहुजीले भने, ‘भारत धेरै ठूलो देश छ । यहाँ बसेर प्रतिस्पर्धा गर्न गाह्रो छ । मेरो विचारमा तिमी आफ्नै देश जाऊ, त्यहाँ नै सजिलो हुन्छ । बाटो खर्च म दिन्छु ।’
वात्स्यायनले पनि सोचे- कुरा त ठीक हो ।
यसपछि वात्स्यायन काठमाडौं नै फर्किए, तर काठमाडौंमा कहाँ बस्ने, के खाने ? अलमलमा थिए उनी । संयोगले यही वेला असन, किलागलमा साथी रामकुमार श्रेष्ठ भेटिए । श्रेष्ठले भने, ‘काम नपाएसम्म मसँगै बस । काम खोज्न म सघाउँला ।’
यही क्रममा वात्स्यायनको शालिकराम नामक पोखरेली युवासित भेट भयो । ती युवा ‘नयाँ सन्देश’ साप्ताहिकमा विज्ञापन उठाउने काम गर्थे । उनलाई सम्पादक रमेशनाथ पाण्डेले भनेका रहेछन्, ‘पत्रिकामा कार्टुन लेख्ने कोही साथी छ भने भेटाइदेऊ ।’
वात्स्यायनको पाण्डेसँग भेट भयो । हप्ताको एउटा कार्टुन बनाउनुपर्ने, पारिश्रमिक पाउने सर्तमा काम सुरु गरे ।
‘कार्टुन भनेको के हो थाहा नै थिएन । मलाई रमेशनाथले विदेशी पत्रिकाहरु देखायो, कार्टुनहरु देखायो । न्युरोडको अमेरिकन लाइब्रेरीमा गएर आफैंले अध्ययन गरें । सिकें । बनाएँ’, वात्स्यायन भन्छन्, ‘तर मैले पैसा कहिल्यै पाइनँ । पैसा नभएपछि बिहान बेलुकाको दालभातमै समस्या आयो ।’
वात्स्यायन भरपर्दो जागिरको खोजीमा जनक शिक्षा सामग्री लिमिटेड पुगे २०२२ सालमा । ६ महिना ज्यालादारीमा काम गरे । यसपछि अस्थायी नियुक्ति पाए । ६ महिनापछि स्थायी भए । अफिसको तर्फबाट जापान गएर तीन महिनाको ट्रेनिङ पनि गरे ।
अलि पछि अफिसले सिनियर पोस्टमा स्थायी दरबन्दीको लागि जागिर खुलायो । योग्यता नपुगेकाले उनले दरखास्त हाल्न पाएनन् । ‘नयाँ हाकिम आयो । मैले विचार गरें, यहाँ बसेर जिन्दगी त यत्तिकै जान्छ । यसपछि राजीनामा दिएर पोखरा आएँ’, २०२६ सालमा पोखरा नै फर्किएका वात्स्यायन सुनाउँछन् ।
पोखराबाट फैलिएको वात्स्यायनको सृजनात्मक सुवास
२०३० सालतिर पोखरामा वात्स्यायनको स्टुडियो थियो । बजारमा घर भाडामा लिएर पेन्टिङ बनाउँथे । उनको स्टुडियोकै अगाडि थियो साहित्यकार विजय बजिमयको घर । बजिमयको घरमा साहित्यकार, लेखक, कलाकारहरु आइरहन्थे ।
एक दिन बजिमयले वात्स्यायनलाई घरमा बोलाए । त्यहाँ सरुभक्त, कवि तीर्थ श्रेष्ठलगायत पनि थिए । त्यही वात्स्यायनको साहित्यकारहरुसित परिचय भयो । यो परिचयले वात्स्यायनलाई पोखरेली युवा सांस्कृतिक परिवारसँग जोड्यो । कालान्तरमा यस संस्थाको दोस्रो अध्यक्ष पनि बने ।
सँगै सरुभक्तलगायतसँग सृजनात्मक सहकार्य पनि गरे । सरुभक्तसँगै प्रकट पंगेनी, विनोद गौचन, उषा शेरचन, विक्रम गुरुङ, नवराज कार्की, अर्जुनजंग शाहीसित पनि सहकार्य गरे । सरुभक्तका नाटकहरुमा सेट डिजाइन गरिदिए । कलाकारहरुको मेकअप गरिदिए । वात्स्यायनले नाटकको स्टेज डिजाइनको मोडेल नै तयार पारिदिन्थे । अनि थप अनुरोध गर्थे, ‘तपाईं त कलाकार, मेकअप पनि गरिदिनुपर्यो ।’
यही समयदेखि वात्स्यायनको सृजनाले उडान भर्न सुरु गर्यो । पोखराबाटै उनका कार्टुनहरु जनताको घरदैलोमा पुगे । पेन्टिङहरु भटाभट बिक्री भए । काठमाडौं गए पनि, काठमाडौं साँघुरो लागेर दिल्ली गए पनि चाहिने त सृजना थियो । सृजनाको महक थियो । सृजनाको त्यही महक चाहिँ पोखरा फर्किएपछि त्यहीबाटै देशभर फैलाए । र, सृजनाको सुवास फैलाउन काठमाडौंमै बस्नुपर्छ भन्ने न्यारेटिभ भत्काए ।
बालकृष्ण समले वात्स्यायनमा देखेका साल्भाडोर डाली
पोखरा आएपछि केही समय कार्टुनकारितामा ब्रेक लागे पनि अलि पछि ‘राष्ट्र पुकार’ साप्ताहिकमा कार्टुन बनाउन थाले । काठमाडौंबाट निस्कने यो साप्ताहिककै कार्टुनहरुले वात्स्यायनलाई चर्चित बनायो ।
२०३५ सालमा काठमाडौंमा उनले एक कला प्रदर्शनी गरे । उनका ३५ वटा जति सर्रियलिस्टक पेन्टिङ थिए । अर्थात् स्वप्निल पेन्टिङहरु । जहाँ यथार्थ छ, यथार्थ छैन पनि । यथार्थ र काल्पनिकताको सम्मिश्रण । वात्स्यायन प्रसिद्ध फ्रेन्च कलाकार साल्भाडोर डालीका आर्टहरुबाट प्रभावित हुनुको परिणाम थिए उनका सर्रियलिस्टिक पेन्टिङहरु, तर ठ्याक्कै डालीको कपी चाहिँ गरेका थिएनन् ।
उनको पेन्टिङ प्रदर्शनीमा बालकृष्ण सम आए । प्रसिद्ध नाटककार सम आफैंमा चित्रकार पनि थिए । उनले पेन्टिङहरु अवलोकन गरेपछि लेखे, ‘दुर्गा बरालजीका चित्रहरु देख्दा मलाई साल्भाडोर डालीको सम्झना आयो । बरालजीलाई सफलताको कामना गर्छु ।’
तपाईं कार्टुनिस्ट कि पेन्टर ?
‘धेरैले कार्टुन आर्टभन्दा तलको विधा हो भन्छन्, तर उपयोगिताको हिसाबले समाज परिवर्तनमा कार्टुनले जति भूमिका खेल्छ, आर्टले उति खेल्दैन’, वात्स्यायन भन्छन्, ‘आर्ट त एलिटहरुको समूह हो । यसले आमजनतासँग कम सरोकार राख्छ । कार्टुन त सीधै आमजनतासँग सरोकार राखेर संवाद गर्छ ।’
वात्स्यायन थप भन्छन्, ‘मलाई कार्टुनिस्ट भएकोमा पछुतो छैन, खुसी छु । किनभने अलिकति भए पनि जनताको कुरा कार्टुनबाटै प्रस्तुत गरें । मलाई आर्ट पनि मनपर्छ, तर आर्टमा म पूरै होमिन पाएन । अर्को कुरा, जति आम्दानी कार्टुनबाट गरें, यसको तुलनामा पेन्टिङबाट नगण्य छ । पेन्टिङले मलाई जीविकामा सहयोग गरेन । कार्टुनले चाहिँ जीविकामा पनि सहयोग गर्यो, जनमानसमा पनि मलाई पुर्यायो ।’
नयाँ पुस्ताका कार्टुनिस्टहरु कस्ता लाग्छन् ?
पछिल्लो समय रविन सायमी, अविन, राजेश केसीहरुले सक्रिय रुपमा कार्टुनहरु बनाइरहेका छन् । सँगै रवि मिश्र, रवीन्द्र मानन्धरहरुले पनि बनाइरहेका छन् । यी कार्टुनिस्टहरुको जीविका नै कार्टुनले चलाइरहेको छ ।
वात्स्यायन नयाँ पुस्ताका कार्टुनिस्टहरुका कार्टुनहरुसँग परिचित छन् । उनीहरुका कार्टुनहरु हेरिरहन्छन् । वात्स्यायन भन्छन्, ‘यो उमेरमा जे गरिरहेका छन्, राम्रै गरिरहेका छन् । अझै राम्रो गर्न थप अध्ययन बाँकी छ जस्तो लाग्छ । उनीहरु प्रविधिमा राम्रा छन् । प्रविधिले सजिलो बनाउँछ । काम पनि छिटो हुन्छ, तर कार्टुनमा प्रविधिमात्रै महत्वपूर्ण हुन्न । कार्टुनमा महत्वपूर्ण त अभिव्यक्ति हो, कन्सेप्ट हो । ड्रइङमा जतिसुकै राम्रो भए पनि विषयवस्तु कमजोर छ भने त्यो कार्टुन राम्रो हुँदैन ।’