पोखरा क्रिकेट मैदानमा आईसीसी टोली, यू-१९ महिला विश्वकपका खेल हुने सम्भावना कति ? – Nepal Press

पोखरा क्रिकेट मैदानमा आईसीसी टोली, यू-१९ महिला विश्वकपका खेल हुने सम्भावना कति ?

पोखरा । सन् २०२७ मा हुने यू-१९ महिला विश्वकप क्रिकेटका केही खेल पोखरामा हुनेमा पोखरेली जनताको आश छ । उक्त विश्वकप नेपाल र बङ्गलादेशमा हुँदैछ । विश्वकपका ८ टोलीका खेल नेपालमा हुनेछन् ।

नेपालको कुन कुन ठाउँमा खेल हुने भन्नेबारे हालसम्म टुङ्गो लागेको छैन । काठमाडौंसहित पोखरामा हुनुपर्ने माग पोखरेलीले गरिरहेका छन् । मङ्गलबार पोखरा क्रिकेट मैदानमा आएका नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आफू काठमाडौंपछि पोखरा दोस्रो भेन्यु गराउन इच्छुक रहेको बताए ।

त्यसो भए के पोखरा क्रिकेट मैदान विश्वकप खेलाउन लायक छ ? यसका लागि एउटा उदाहरण लियौं । सोही मैदानमा ५ वर्षअघि १३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला क्रिकेटका खेलहरू भएका थिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट मान्यता पाएका कारण ती खेलहरूलाई उसले निगरानीमा राखेको थियो । त्यति बेला आउटफिल्ड ग्राउन्डसँगै पिच बनाइएको थियो । प्लेयर बक्सदेखि भीआईपी बक्स अस्थायी रूपमा टेन्टले बनाइएको थियो ।

उक्त खेल भएको ५ वर्ष बित्यो, तर यसबीचमा मैदान सुधारमा उल्लेखनीय केही काम भएन । गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार अहिलेभन्दा त्यति बेलाको आउट फिल्ड राम्रो थियो भने पिच उस्तै । ५ वर्षभित्र संरचना निर्माणको नाममा एउटा ५०० क्षमता रहेको भीआईपी प्यारापिट बनेको छ । जुन प्रयोगमा आउन सकेको छैन । त्यसबाहेक कुनै पनि संरचना पोखरा क्रिकेट मैदानमा बनेको छैन ।

आईसीसीका वरिष्ठ प्रबन्धक रोहित पोद्दार र डेभेलप्मेन्ट अफिसर एनमी अमिनुअल इस्लामले पोखरा क्रिकेट मैदानको निरीक्षण गरे । विशेषगरी सन् २०२७ मा हुने यू-१९ महिला विश्वकप क्रिकेटका खेल सञ्चालनका विषयमा मैदान निरीक्षण गर्न आएका उनीहरू पहिलो दिनमै सन्तुष्ट हुन सकेनन् ।

निरीक्षणकै क्रममा उनीहरूले प्रश्न गरे- साग भएको ५ वर्षसम्म पनि किन बनेनन् संरचना ? जवाफविहीन भए क्रिकेटका प्रतिनिधि ।

विश्वकप हुन करिब २ वर्ष बाँकी छ । आईसीसी प्रतिनिधि मैदानप्रति खुसी नरहेको र अझै धेरै गर्न बाँकी रहेको बताएको प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सिग्देलले बताए । त्यसो भए किन ५ वर्षसम्म पनि मैदानमा संरचना निर्माणका काम भएन ?

यसमा अध्यक्ष सिग्देल भन्छन्, ‘बजेट भएको बेला सागलाई काम चलाऊ भनेर रोकियो । त्यसपछि कोभिड आयो । कोभिड आएपछि सबै पैसा संस्थामा हालियो ।’

विसं २०७६ मा साग हुनुअघि पोखरा क्रिकेट मैदानका लागि ५ करोड रुपैयाँ बजेट थियो । केन्द्र सरकारबाट ३ करोड र प्रदेश सरकारबाट २ करोड बजेट मैदानका लागि छुट्याइएको थियो । यसको प्रक्रिया लामो हुने भन्दै तत्कालका लागि उक्त प्रक्रिया रोकेर सागको तयारी गरियो । सागपछि पुनः प्रक्रिया सुरु गर्ने तयारी थियो, तर त्यसपछि कोभिड- १९ आयो, क्रिकेट मैदानका लागि रकम आएन ।

‘५ करोड बजेट हुँदा पनि प्रदेशले के गर्ने र केन्द्रले के गर्ने भन्दाभन्दै प्रदेशले पैसा नै हालेन । केन्द्रले तत्काल सागमा चाहिने चाहिँ पूरा गर्ने भनेर टेन्डर भयो । इभालुयसन भयो, बैंकमा रकम गयो र रोकियो । त्यही बिचमा कोभिड भयो । कोभिडपछि कामहरू भएन’, सिग्देलले भने, ‘त्यसको लगातार दुई वर्ष पैसा परेन ।’

पोखरामा विश्वकपका खेल हुने सम्भावना कति ?

निरीक्षणमा आएका आईसीसीका प्रतिनिधि पोखरा क्रिकेट मैदानप्रति सन्तुष्ट छैनन् । विश्वकप आउन २ वर्षको समय बाँकी हुँदा सम्भवतः मैदानमा मापदण्ड पूरा गर्न निश्चित समय दिइनेछ । उक्त समयभित्र पनि तोकिएका मापदण्ड पूरा गर्न नसके विश्वकपका खेल पोखरा गर्न आईसीसीले अस्वीकार गर्नेछ ।

आईसीसीको टोलीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँग पनि छलफल गरेका छन् । मेयर आचार्यले विश्वकपका खेल पोखरामा गर्न आग्रह गर्दै त्यसका लागि महानगरले उचित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विश्वकपका खेल जनवरी र फेब्रुअरीमा हुनेछ । उक्त समयमा बिहानीपख नेपालका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु लाग्ने र पिच सुक्न समय लाग्ने हुन्छ । विशेष गरी तराई क्षेत्रमा त्यो समस्या देखिन्छ ।

मैदान भएका चितवनदेखि भैरहवासम्म तराई क्षेत्र हो । ती क्षेत्रभन्दा पोखराको मौसम केही ठीक हुने गर्छ । त्यसकारण पनि विश्वकपका खेल पोखरामा हुनेमा पोखरेली आशावादी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *