काठमाडाैंकाे न्युरोडमा सुनको कारोबार: एकातिर भीड, अर्कोतिर सुनसान (भिडिओ) – Nepal Press

काठमाडाैंकाे न्युरोडमा सुनको कारोबार: एकातिर भीड, अर्कोतिर सुनसान (भिडिओ)

काठमाडौं । न्युरोड गेट लाइनमा सुनगाभा ज्वेलर्स सञ्चालन गर्दै आएका रामगोविन्द महर्जनले मंगलबार बोहनीसमेत गर्न सकेनन् । बिहान ९ बजे पसल खोलेर ग्राहक कुरेर बसेका महर्जनकोमा दिनभर कोही पनि ग्राहक आएनन् ।

‘सुनको मूल्य घटे पनि व्यापार भने छैन । हामी त लसमा चलिरहेका छौं’, उनले गुनासो गर्दै भने, ‘आज दिनभर मैले एउटा पनि बिल काटेको छैन ।’

आजमात्रै होइन, पछिल्ला तीन-चार महिनायता उनकोमा सुनको व्यापार सुस्ताएको छ । ‘योबीचमा ५० तोला पनि सुन बिक्री भएको छैन’, उनले भने ।

सुन व्यवसायी रामगोविन्द महर्जन ।

आफ्नै घरमा पसल राखेकोले आफू अहिलेसम्म टिकिरहेको बताउँदै महर्जन भन्छन्, ‘मैले यहाँ पसल गरेको ३० वर्ष भयो । यो मेरो पसल आफ्नै घरमा भएकोले अहिलेसम्म यहाँ छु । भाडा तिरेर पसल राखेको थिएँ भने म विस्थापित भइसक्थें ।’

विभिन्न डिजाइनका गहना बनाएर उनले पसलभर सजाएर राखेका छन् । कहिलेकाहीँ आफ्नै पसलबाट सुन खरिद गरेका ग्राहकहरु भने आफ्नोमा बिक्री गर्न आउने गरेको उनको भनाइ छ । त्यस्ता ग्राहकहरुको सुन उनले खरिद गरिदिने गरेका छन्, तर नयाँ गहना भने बेच्न सकेका छैनन् ।

*******

महर्जनको जस्तै अवस्था छ सोही लाइनमा गोल्ड हाउस सञ्चालन गरिरहेका प्रकाश बज्राचार्यको पनि । सुनको मूूल्य घटे पनि व्यापार नभएको गुनासो गर्दै उनले भने, ‘सुनको मूल्य घटेर के गर्नु, किन्नेहरु आएका छैनन् । अगाडि नै अर्डर गरेकाहरुले पनि क्यान्सिल गरिरहेका छन् ।’

सामान्यतया मंसिर, माघ र वैशाख महिनालाई सुन व्यापारीहरुले सिजनको रुपमा लिने गर्छन्, तर यस वर्षको मंसिरमा सुनको व्यापार खासै नभएकोले सिजन जस्तो नलागेको न्युरोड गेटकै लाइनमा विगत ८ वर्षदेखि सुन पसल सञ्चालन गरिरहेका चित्रन्जन हजारा बताउँछन् ।

सुन व्यवसायी चित्रन्जन हजारा ।

उनी भन्छन्, ‘मंसिर महिना सुनको कारोबार हुने सिजन भए पनि हामीलाई यस वर्षको मंसिर सिजन जस्तो नै लागेन । व्यापार खासै राम्रो छैन । मूल्य घटेपछिका यी दुई दिनमा पनि त्यस्तो ह्वात्तै ग्राहक बढेका छैनन् ।’

*******

तर उनको पसलभन्दा अलि अगाडि विशालबजार लाइनमा भने सुन खरिद गर्ने ग्राहकहरुको घुइँचो थियो । ‘हाम्रोमा सदाबहार ग्राहक यस्तै हुन् । अहिले मूल्य घटेपछि झनै बढे’, विशालबजारको रिद्धीसिद्धी ज्वेलर्सका म्यानेजर पुष्कर दुलालले भने ।

उनकोमा मात्रै होइन मंगलबार दिउँसो विशालबजार लाइनका सबैजसो पसलमा ग्राहकको बाक्लो भीड थियो । त्यस लाइनका सबैजसो सुन पसलमा ग्राहकहरुको घुइँचो थियो । पछिल्लो दुई दिनमा सुनको मूल्य साढे १८ हजार रुपैयाँले घटेसँगै त्यहाँ सुन खरिद गर्ने ग्राहकहरु बढेका हुन् ।

मूल्य घटेपछि सुनमा लगानी गर्ने भन्दै औंठी, रिङ जस्ता गहना खरिद गर्ने ग्राहकहरु आइरहेको फोर नाइन बाग्लुङ ज्वेलर्समा कार्यरत सविता खड्गीले बताइन् ।

उनले भनिन्, ‘सुनको मूल्य घटेपछि सुनमा लगानी गर्ने भन्दै सुन किन्नेहरु आउने गरेका छन् । हाम्रोमा अहिले धेरैजसो बेरुवा औंठी, रिङ जस्ता ज्वेलरीका आइटम किन्ने ग्राहकहरु आइरहेका छन् ।’

उनकै पसलमा सुन खरिद गर्न आएकी अन्दाजी ५० वर्षकी मैंया दाहालले मूल्य घटेकाले सुन खरिद गर्न आएको बताइन् ।

उनले भनिन्, ‘एकै पटक सुनको मूल्य घटेको थाहा पाएपछि सुन किन्न आएको हो । अहिले सस्तोमा सुन किनेर राखे भने पछि महँगो भएपछि समस्या भएन ।’

बजारमा छैन सुन

मंगलबार दिउँसो विशालबजार लाइनमा रहेका सबैजसो सुनचाँदी पसलमा उपभोक्ताहरुको भीड लागेको थियो । रेडिमेड गहना खरिद गर्नेदेखि नयाँ अर्डर गर्नेहरुसमेत सुन पसल पुगेका थिए, तर व्यापारीलाई सुन अभाव भएको बताउँछन् । जसले गर्दा उनीहरुले नयाँ अर्डरसमेत लिन पाएका छैनन् ।

मूल्य घट्नेबित्तिकै बजारमा काँचो सुनको अभाव भएकोले नयाँ अर्डर लिन नसकेको खड्गी बताउँछिन् । उनले भनिन्, ‘हामी गरगहनाहरु आफै बनाउँछौं । धेरैजसो अर्डरअनुसार बनाउने गर्छौं । मूल्य घटेदेखि हिजो र आज सुनको अर्डर गर्ने ग्राहकहरु पनि आइरहेका छन्, तर सुन नपाएका कारण अर्डर लिन सकिएको छैन ।’

आफ्नो पसलमा फाट्टफुट्ट आएका ग्राहकले नयाँ अर्डर गर्न खोजे पनि आफूसँग सुन नभएका कारण अर्डर लिन नसकेको प्रकाश बज्राचार्यले बताए । उनले भने, ‘बनाइराखेको गहना किन्ने ग्राहक आएका छैनन् । फाट्टफुट्ट आएका ग्राहकले नयाँ अर्डर दिन खोजेका थिए । त्यो पनि लिन सकिएन ।’

सुनको भाउ घटेपछि यसको सप्लाइ पनि बढ्नुपर्ने माग गर्दै उनले थपे, ‘मैले महँगोमा किनेर तयार पारेको गहना घटेकै मूल्यमा बिक्री गर्छु, तर भोलिका दिनमा बिक्री गर्न घटेको मूल्यमा सुन पाउनु परेन ? अहिले व्यापारीले सुन नै पाएका छैनन् । हामीले सुन नपाए कसरी नयाँ गहना बनाएर बिक्री गर्ने ?’

उनीमात्रै होइन अन्य व्यापारीहरुको पनि समस्या उस्तै छ । वैधानिक रुपमा सुनको आयात गर्ने वाणिज्य बैंकहरुले समेत पछिल्लो समय सुन आयात गरेका छैनन् । भन्सार दर बढेपछि बजारमा सुनको माग नभएकाले बैंकहरुले सुन आयात नगरेका हुन् ।

भन्सार दर घटेपछि सुनको माग बढ्न थालेको छ, तर अहिले बैंकहरुसँग सुनको मौज्दात नभएकोले तत्कालै व्यापारीहरुले सुन पाउने सम्भावना देखिँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *