ताप्लेजुङको फलेटार र घुन्सा क्षेत्रमा स्याउखेती परीक्षण – Nepal Press

ताप्लेजुङको फलेटार र घुन्सा क्षेत्रमा स्याउखेती परीक्षण

फुङ्लिङ । फक्ताङलुङ गाउँपालिका- ६ घुन्सा र फलेटारका स्थानीय र केही संस्थाले परीक्षणका रूपमा स्याउखेती गर्न थालेका छन् । ग्याप्ला र फलेटार क्षेत्रमा विगतदेखि नै स्याउखेती हुँदै आएको भए पनि घुन्सामा परीक्षण गरिएको हो ।

इटालीबाट आयात गरिएका ‘फुजी’ र ‘गोल्डेन डेलिसियस’ प्रजातिका विरुवाले पहिलो पटक फल दिएका छन् । विरुवामा फल लागेपछि किसानहरू उत्साहित भएका छन् ।

मनाङ एग्रो फार्मको समन्वयमा विरुवा ल्याएर परीक्षणका रूपमा रोपिएका र फल लागेकामा दङ्ग स्याउ किसान मिङ्मा शेर्पाले व्यवसायिक रूपमा स्याउखेती गर्न सकिने बताए ।

फलेटार र घुन्सामा दुई रोपनी जग्गामा नमुना स्याउ बगैंचा विस्तार गरिएको छ । स्वीट्जरल्यान्डको टोली, स्थानीय समुदाय र पुतली सहयोग योजना नामक संस्थाको साझेदारीमा नमुना स्याउ बगैंचामा दिगो पर्यावरणीय कृषि प्रणाली कार्यक्रमअन्तर्गत नमुना स्याउ बगैंचा सुरु गरिएको पुतली सहयोग योजना संस्थाका जिल्ला कार्यक्रम संयोजक दावाछिरिङ शेर्पाले बताए ।

शेर्पाका अनुसार परियोजनाले स्याउ उत्पादनमात्र नभएर अन्य कृषि उपजका माध्यमबाट किसानलाई आर्थिक रूपमा सशक्त बनाउन स्याउखेती गर्न थालिएको हो । घुन्सा स्याउ नमुना बगैंचामा ६० वटा जापनिज फुजी (पोथी), १० वटा गोल्डेन डेलिसियस (भाले) र १० काला (भाले) प्रजातिका स्याउका विरुवा फल्ने क्रममा रहेको संयोजक शेर्पाले बताए ।

स्याउ बगैंचामा जैविक विविधता कायम गर्न पाँच घार मौरी र कुखुरापालन गरिएको संस्थाले जनाएको छ । फलेटार क्षेत्रमा रहेको नमुना स्याउ बगैंचामा उस्तै प्रकार स्याउका विरुवा लगाइएको छ । संस्थाले स्याउ बगैंचा हेरचाहका लागि एक जना कृषि प्रविधिक राखेको छ । अन्य सहयोगीको समेत व्यवस्था गरिएको छ ।

स्याउखेतीको सम्भाव्यता अध्ययन गर्न फलेटार र घुन्साको माटो तीन वर्षअघि स्वीट्जरल्यान्डमा परीक्षण भएको थियो । यस वर्ष परीक्षणका रूपमा ४०-४० विरुवा रोपिएको छ । प्रारम्भिक नतिजाले स्याउखेती सफल हुने सङ्केत दिएको छ, तर पूर्ण रूपमा खेती सफल हुन ३ वर्षसम्मको परीक्षणलाई पर्खनुपर्ने पुतली सहयोग योजनाले जनाएको छ ।

स्याउखेती गरिएका क्षेत्रमा कुखुरा र मौरीपालन गरिएको छ । कुखुराको मलले माटो उर्वर बनाउन सहयोग पुर्‍याएको छ । मौरीले स्याउका फूलको परागसेचनमा योगदान दिएको छ, तर हिउँदमा अत्यधिक चिसोका कारण मौरीपालनमा चुनौती छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *