जग्गा विवाद समाधान गरेर नौवस्ता औद्योगिक क्षेत्रको काम थाल्ने मन्त्री भण्डारीको प्रतिवद्धता – Nepal Press

जग्गा विवाद समाधान गरेर नौवस्ता औद्योगिक क्षेत्रको काम थाल्ने मन्त्री भण्डारीको प्रतिवद्धता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाँकेको वैजनाथ गाउँपालिका-३ नौवस्तामा स्थानीय बासिन्दाको बस्तीको समस्या समाधान गरेर औद्योगिक क्षेत्रको काम अगाडि बढाइने बताएका छन् ।

बाँकेका जनप्रतिनिधि र गाउँपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग मन्त्रालयमा आज भएको छलफलमा उनले स्थानीय बासिन्दाको बस्तीको जग्गा विवादको छिट्टै समस्या समाधान गरेर औद्योगिक क्षेत्रको समस्या समाधान गरिने प्रतिवद्धता जनाए ।

नौवस्ता औद्योगिक क्षेत्र सञ्चालनका लागि नेपाल सरकारको स्वामित्वमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा ३३८ बिघा क्षेत्रफल जग्गा रहेको र सोमध्ये ५५ दशमलब ६ बिघा जग्गामा बस्ती रहेको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा रहेको जग्गामा २०२८ सालदेखि बस्ती रहेकाले सो बस्ती रहेको जग्गा बाहेकमा चाँडोभन्दा चाँडो औद्योगिक क्षेत्र स्थापनाको काम अगाडि बढाउन प्रतिनिधिमण्डलले मन्त्री भण्डारीसमक्ष माग गरेको छ ।

जनप्रतिनिधि तथा सर्वदलीय प्रतिनिधिले स्थानीयको चलनभोगमा रहेको जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्वामित्वबाट नेपाल सरकारको नाममा ल्याएर भूमि आयोगमार्फत स्थानीय बासिन्दाको नाममा ल्याउने पहलका लागि मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका थिए । बस्ती क्षेत्रमा सडक, बत्ती, पानी, खेलमैदान र विद्यालय लगायतका पुर्वाधारको निर्माण गरिएकाले अन्यत्र सार्दा स्थानीयलाई मर्का पर्ने जनाइएको छ ।

स्थानीयस्तरमा उद्योगधन्दाको विकास गरी रोजगारी सिर्जनाका लागि स्थानीय जनताहरुको सहयोग अपरिहार्य रहेको हुँदा उक्त स्थानमा रहेका जनताको घरवासलाई उठाइ औद्योगिक क्षेत्र निर्माण हुनसक्ने अवस्था नरहेको हुँदा स्थानीयका घरवासलाई असर नपर्ने गरी नक्सा बमोजिमको बाँकी जमिनमा औद्योगिक क्षेत्र निर्माणमा स्थानीयको कुनै अवरोध नरहने र निर्माणमा सहयोगसमेत हुने उक्त प्रतिनिधिमण्डलले प्रतिबद्धता जनाएको छ ।

मन्त्री भण्डारीले बस्तीलाई असर नगर्ने गरेर औद्योगिक क्षेत्रको निर्माण कार्यमा सघाउन सो प्रतिनिधिमण्डललाई आग्रह गरे ।

सो प्रतिनिधिमण्डलले छिट्टै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समस्या समाधानका लागि ध्यानाकर्षण गराउने जनाएको छ ।

टोलीमा प्रतिनिधिसभा सदस्य दीपा शर्मा, आशा विक, लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्री, वादशाह कुर्मी, गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, नेपाली कांग्रेसका गाउँपालिका सभापति देवबहादुर केसी, एमालेका गाउँपालिका अध्यक्ष मनबहादुर खड्का, रास्वपाका प्रेमबहादुर खड्कालगायत सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *