एनपीएलमा डीआरएस हुन्छ ? क्यान प्रवक्ता भन्छन्- छलफल जारी छ – Nepal Press

एनपीएलमा डीआरएस हुन्छ ? क्यान प्रवक्ता भन्छन्- छलफल जारी छ

काठमाडौं । मंसिर १५ गते सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रशारण विश्वकै चर्चित भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्सबाट हुँदैछ । स्पोर्ट्स च्यानलमध्येकै एक उत्कृष्ट च्यानलबाट प्रशारण हुने भएकाले एनपीएलको क्वालिटी उत्कृष्ट हुनेमा धेरै विश्वस्त छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले एनपीएलको प्रत्यक्ष प्रशारणमा २० भन्दा बढी क्यामेरा प्रयोग हुने बताउँदै आएका छन् । एनपीएल सबै किसिमले क्वालिटी हुने प्रवक्ता लामाको विश्वास छ ।

‘स्टार स्पोर्ट्स भन्नेबित्तिकै स्पोर्ट्ससमा ग्लोबल्ली नम्बर १ नै हो । हामीले प्रोडक्सनका लागि पनि उताबाटै ल्याएका छौं । स्टार स्पोर्ट्सको मापदण्ड मिट गर्ने प्रोडक्सन टीम छ’, उनले भने, ‘त्यो हिसाबले नम्बर अफ क्यामेरा, नम्बर अफ क्यालिटी, म्याचको क्वालिटी, विदेशी कमेन्टेटर । आजमात्रै रिभिल गरेका छौं । त्यसो हुँदा यो लिग सबै किसिमले क्वालिटी हुन्छ ।’

स्टार स्पोर्ट्सबाट प्रशारण हुने भएपछि डिसिजन रिभ्यु सिस्टम (डीआरएस)पनि हुने धेरैको आकलन थियो, तर यसपालि डीआरएस नहुने भएको छ । क्यानका प्रवक्ता लामाले सम्भवतः यसपालिको एनपीएलमा डीआरएस नहुने बताए ।

‘डीआरएसको विषयमा छलफल जारी छ । त्यो हुने नहुने भन्ने कुरा हामीले भन्न सक्दैनौं । डीआरएसको विषयमा प्राविधिक कुरा हो । सम्भवतः हुँदैन भनौं न यसलाई । अहिले डीआरएस एनपीएलमा नहोला’, उनले नेपाल प्रेससँग भने ।

एनपीएल टेलिभिजनमा स्टार स्पोर्ट्स र युट्युबमा एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुनेछ । नेपालमा क्लिनफिड कार्यान्वयनमा रहेकाले टीभीमा खेलका क्रममा विज्ञापन आउने नआउने धेरैको चासो छ ।

यसमा नेपाल क्रिकेट संघका प्रवक्ता लामाले सरकारको पोलिसी मानेर अगाडि बढ्ने बताए । ‘त्यसमा नेपाल क्रिकेट संघले धेरै चिन्ता लिनुपर्ने छैन । यो सरकारको पोलिसीअनुसार सूचना तथा सञ्चार मन्त्रालयको क्लिनफिडको पोलिसी जे छ, क्रिकेट संघले मानेर जान्छ । सिस्टमले काम गर्नुपर्ने होला’, उनले भने ।

एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ । प्रतियोगितामा ८ फेन्चाइज टोलीले सहभागिता जनाएका छन् ।

एनपीएल खेल्न भारतीय चर्चित खेलाडी शिखर धवनसहित विभिन्न देशका खेलाडीहरु नेपाल आउँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर