रोकिएको आइपीओ निष्काशन चाँडै सुरु हुन्छः अध्यक्ष श्रेष्ठ (भिडिओ)
काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन् ।
बुधवार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन्। उनले नयाँ स्टक एक्सचेन्जको धेरै कामहरु अघि बढेको बुझेको भन्दै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताए।
उनले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको उल्लेख गरे । उनले धितोपत्र बोर्डको अध्यक्ष बिहिन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारीमा आफू आएको भन्दै बोर्डमा ठूलो जिम्मेवारी र चुनौतिहरु रहेको उल्लेख गरे ।
उनले भने,‘आइपीओ निष्कासनको विषयमा साथीहरुसँग वस्तु स्थिति बुझ्छु । आईपीओ जारी गर्न अनुमति दिने नियमित काम हो । प्रक्रियाबाट अगाडि बढ्छ । स्थायी नेतृत्व नहुँदा आईपीओ रोएिको थियो । त्यो समस्या समाधान हुँदै जान्छ । मेरो कार्यकालमा मैले धितोपत्र बोर्डको आफ्नै भवन पहिलो प्राथमिकतामा छ । अर्थमन्त्री ज्युसँग पनि यो विषयमा छलफल भएको छ । सकारात्मक रुपमा सहयोग गर्ने भन्नु भएको छ । पुँजीबजारको विकासमा सबै सरोकारवाला निकायहरुसँगको सहकार्यमा लाग्ने र नेपाली पुँजीबजारलाई वर्तमान समय सापेक्ष अगाडि बढाउने गरी काम गर्ने योजना छ ।’
उनले लामो समयदेखि रोकिएको आईपीओ समयमा नै आउने गरी काम गर्ने बताए । उनले आफ्नो यही कार्यकालमा सेबोन आफ्नै भवनमा सर्ने पनि दाबी गरे। उनले पुँजीबजारको विकासमा सबै सरोकारवाला निकायहरुसँगको सहकार्यमा लाग्ने र पुँजीबजारलाई वर्तमान समय सापेक्ष अगाडि बढाउने उल्लेख गरे । अध्यक्ष श्रेष्ठले एभरेष्ट बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिने पहिलो निर्णय गरेका छन् ।