नियमन आयोगको निर्देशनपछि उद्योगमा लाइन नकाट्ने निर्णय
काठमाडौं । १५ दिनभित्र उद्योगले विद्युत बक्यौता नतिरे पनि उद्योगको लाइन नकाटिने भएको छ ।
केही समय अघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन नै गरेर १५ दिनभित्र उद्योगले बक्यौता नतिरे लाइन काट्ने बताएका थिए ।
आज बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले बक्यौता नतिरे पनि तत्काल नै उद्योगको लाइन नकाट्ने निर्णय गरेको हो ।
लाल आयोगको प्रतिवेदन सावर्जनिक गर्दै सरकारले टाइम अफ डे (टीओडी) मिटिर अनुसार १५ दिन भित्र टंक र डेलिकेडेट लाइन प्रयोग गरेको उद्योगबाट बक्यौता उठाउने भनेको थियो । भने, प्राधिरणले बक्यौता नतिरे पुनः उद्योगको लाइन काट्ने बताउदै आएको थियो ।
नेपाल विद्युत प्रधिकरणका प्रवक्ता चन्दनकुमार घोषले आज बसेको सञ्चालक समितिको बैठकले १५ दिन भित्र उद्योगले विद्युत बक्यौता नतिरे पनि लाइन नकाट्ने निर्णय भएको बताए ।
उनले भने, ‘हिजो विद्युत नियमन आयोगले उद्योग लाइन नकाट्नु भनेर निर्देशन दिएको थियो । आज बसेको सञ्चालक समितिको बैठकले नियमन आयोगको निर्देशन अनुसार नै उद्योगको लाइन तत्काल नै नकाट्ने निर्णय गरेको हो । लाइन नकाट्न निर्देशन दिएपछि नै आज बैठक बसेर नै लाइन नकाट्ने निर्णय सञ्चालक समितिले गरेको हो ।’
उद्योगीको बक्यौताको टाइम अफ डे (टीओडी) मिटर समेतको आधारमा प्रशासनिक तथा प्राविधिक हिसाव गर्न सुरु भइसकेको छ ।
विद्युत महसुलको बक्यौता रकम प्रशासनिक तथा प्राविधिक हिसावले आवश्यक जाँच गरी टीओडी मिटर समेतको आधारमा प्रतिवेदन पेश गर्न प्रा. डा.अरविन्द कुमार मिश्रको संयोजकत्वमा गठन भएको समितिले काम सुरु गरेको हो । जल तथा मौसम विज्ञान विभागमा कार्यालय राखेर काम सुरु गरेको छ ।