ग्रामथानमा नेताहरूको लर्को- उम्मेदवार घरदैलोमा, मतदाता खेतबारीमा
विराटनगर । उपचुनावअन्तर्गत मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदका लागि १६ जना मैदानमा छन् । उनीहरू अहिले भोट माग्दै मतदाताको खेत खलियानमा व्यस्त छन् ।
मतदाता रिझाउन उम्मेदवारमात्रै होइन दलका नेतासमेत ग्रामथान केन्द्रित छन् । चुनावी माहौल आफ्नो पक्षमा बनाउन जिल्लादेखि केन्द्रीय नेताहरू खटिएका छन् । ग्रामथानको चुनाव आफ्नो पक्षमा पार्न नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू मिनेन्द्र रिजाल, डिला संग्रौला, भीम पराजुली उम्मेदवारसँगै घरदैलोमा हिँडिसकेका छन् ।
डा. शेखर कोइराला सोही चुनावलाई लक्षित गरेर मंगलबारबाट विराटनगर आएका छन् । उनी केही दिन ग्रामथानको चुनावी कार्यक्रममा सहभागी हुने छन् । यस्तै गगन थापा पनि पनि आज आएका छन् ।
नेपाली कांग्रेस मोरङका सभापति तथा प्रतिनिधिसभा सदस्य डिकबहादुर लिम्बूले भने, ‘हामी ग्रामथानमा जित निकाल्न प्रयासरत छौं ।’
‘केन्द्रीय नेतादेखि प्रदेश र जिल्लाका नेताहरूको पनि चासो र चिन्ता यसैमा छ । हामीले पहिलेदेखि नै जित्दै आएको क्षेत्र हो । सभापति लिम्बूले भने, ‘यस पटक पनि जित्नेमा ढुक्क छौं । यसका लागि हामीले तल्लो तहबाट सूचना सङ्कलन गरेर अभियान चलाइरहेका छौं ।’
नेकपा एमालेले भने महासचिव शंकर पोखरेललाई ग्रामथानमा ल्याएर चुनावी अभियानको सुरूवात गरेको थियो । एमालेको चुनावी अभियानमा उपाध्यक्ष गुरु बराल, प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य शेरधन राई, नेताहरू भगवती चौधरी केन्द्रित छन् ।
ग्रामथानमा विजय निकाल्न प्रदेश कमिटीका अधिकांश नेताहरू सोही क्षेत्रमा खटिएका छन् । एमाले मोरङका इन्चार्ज तथा केन्द्रीय सदस्य जीवन घिमिरेले केन्द्रीय नेताहरूलाई भन्दा पनि स्थानीय नेताहरूलाई ग्रामथानमा परिचालन गरिएको बताए ।
उनले भने, ‘बाहिरका भन्दा पनि स्थानीय नेताहरूले नै चुनाव हाँक्ने हो । हामी यस पटक जित निस्कनेमा ढुक्क छौं । यसका लागि तल्लो तहलाई बलियो बनाएका छौं । ’
२०७४ सालको निर्वाचनमा यो पालिकामा एमालेले अध्यक्ष जितेको थियो ।
ग्रामथानको निर्वाचनमा माओवादी पनि जित्ने आत्मविश्वासका साथ होमिएको छ । तीन महिनाअघि नै पार्टी अध्यक्ष प्रचण्डले चुनावी अभियान सुरू भएको उद्घोष गरेका थिए । उनले सोही दिन अध्यक्षका उम्मेदवार नमोनारायण माझीलाई कांग्रेसबाट आफ्नो पार्टीमा भित्र्याएका थिए ।
माझीलाई जिताउन सांसद अमनलाल मोदी ढुक्कै ढुक्कै खटिएका छन् । ग्रामथान उनको निर्वाचन क्षेत्र पनि हो । यो बाहेक माओवादीका केन्द्रीय नेताहरू पनि ग्रामथानको चुनावी मैदानमा छन् ।
नेताहरू घरदैलोमा मतदाता खेतमा
आसन्न निर्वाचनका लागि घरदैलोमा उम्मेदवारसहित नेताहरू टोल-टोलमा पुग्दा मतदाताहरू भने खेतमा हुने गरेका छन् । अहिले धान काट्ने बेला हो । खेतमा धान पाकेका कारण मतदातालाई धान थन्क्याउन भ्याइ नभ्याई छ ।
कांग्रेसका जिल्ला सभापति लिम्बू भन्छन्,‘मतदाता घरमा नभेटिँदा समस्या भएको छ ।’
उनले ४० घर रहेको टोलमा १० जना पनि मतदाता नभेटिएको सुनाए । घरभन्दा तीन/चार किलोमिटर पर खेत हुँदो रहेछ ।
उनले भने, ‘अब दुई चार दिनमा धान काटेर सकिन्छ होला त्यसपछि अझै चुनावी सरगर्मी बढेर जाने छ ।’
एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले खेतमा मतदाता भएकाले हामीले पनि खेतमै गएर मत माग्ने गरेको बताए ।
उनले भने,‘ हामीले टोल-टोलमा कार्यक्रम राखेका छौं । सबैसँग हामी पुग्नेछौं । उनले यस पटक पनि एमालेले ग्रामथानमा चुनाव जित्ने बताए । ’
यस्तो छ अङ्क गणित
ग्रामथानमा रहेका सात वडामध्ये एमालेले पाँचवटा वडा जितेको छ । कांग्रेस र माओवादी केन्द्रले एक-एक वडामा जितेका छन् । वडाध्यक्षको मत जोड्दा सबैभन्दा बढी मत एमालेको देखिन्छ । ७९ को निर्वचनमा एमालेको ६ हजार ७६३ मत ल्याएको छ । उपाध्यक्षसमेत एमालेले जितेको ग्रामथानमा वडामा आएको मत हेर्दा कांग्रेसले दोस्रो मत पाएको छ । कांग्रेसको ५ हजार ५३७, माओवादी केन्द्रको २ हजार ६६५ मत आएको थियो ।
०७४ मा पालिका अध्यक्ष एमालेले जितेको थियो । ०७४ मा एमालेका शिवनारायण माझी थारुले चार हजार ७२०, मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) का जयप्रकाश गच्छदार थारुले चार हजार ६६१ र काँग्रेसका कृष्णकुमार सरदार थारुले तीन हजार १४३ मत प्राप्त गरेका थिए ।
माओवादीका रमेशकुमार भगतले भने एक हजार ६०२ मत मात्रै ल्याएका थिए ।निर्वाचन आयोगले गरेको अद्यावधिक नयाँ विवरणअनुसार ग्रामथानमा हाल २७ हजार ४३९ जना मतदाता छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा २५ हजार ९४२ मतदाता रहेको ग्रामथानमा अहिले २६ हजार ४४ जना मतदाता पुगेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीअनुसार २०७९ को तुलनामा यो उपनिर्वाचनसम्म १०२ जना नयाँ मतदाता थपिएका छन् ।
नयाँ मतदाता सङ्ख्या अनुसार १३ हजार ३ पुरुष र १३ हजार ४१ महिला मतदाता कायम भएका छन् । ग्रामथानमा १२ मतदान स्थलमा २९ मतदान केन्द्र तोकिएका छन् ।
२०७९ को स्थानीय चुनावमा कांग्रेसबाट विजेता बनेका गच्छदारले ७ हजार ६०५ मत पाएका थिए भने एमालेका शिवनारायण माझीले ६ हजार ९३ मत प्राप्त गरेका थिए । त्यस बेला तेस्रो बनेको माओवादी केन्द्रका विजयकुमार सरदारले २ हजार ७२७, राप्रपाका पखुलाल विश्वासले ४४७, नेकपा एकीकृत समाजवादीका राकेश चौधरीले १३९, जनमत पार्टीका पञ्चनारायण चौधरी थारुले ९४ र नेपाल मजदुर किसान पार्टीका मनोजकुमार चौधरीले ४ मत प्राप्त गरेका थिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावलीमा ग्रामथानमा १६ जना उम्मेदवार कायम भएका छन् । तर ग्रामथानमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।
स्थानीय रमेश चौधरी भन्छन्, ‘उम्मेदवार जति भए पनि ठूला तीन पार्टीका बीचमा प्रतिस्पर्धा हुने छ ।’
उपनिर्वाचनका लागि एक स्वतन्त्र र विभिन्न दलका १५ जनाले उम्मेदवारी दिएका छन् । ग्रामथानमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिनेशकुमार थन्दार, जनता समाजवादी पार्टीबाट धर्मेन्द्रकुमार चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवीनकुमार विश्वास खवास उम्मेदवार छन् ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीबाट परशुराम विश्वास थारू, मङ्गोल नेशनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी थारू, राप्रपा नेपालबाट राजु मुसहर, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास थारू, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी र जनता समाजवादी पार्टी, नेपालबाट सुरेशकुमार राजवंशी मैदानमा छन् ।