स्थानीय तहले गैरकानूनीरुपमा यातायात व्यवसायीसँग कर उठाइरहेकाे भन्दै रास्वपाकाे आपत्ति – Nepal Press

स्थानीय तहले गैरकानूनीरुपमा यातायात व्यवसायीसँग कर उठाइरहेकाे भन्दै रास्वपाकाे आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर विभिन्न पालिकाहरुले गैरकानूनी रुपमा सडकमा कर उठाइरहेकोप्रति आपत्ति जनाएको छ ।

संखुवासभाको मकालु गाउँपालिका वडा नं. ६ निवासी एक यातायात व्यवसायीले आफूलाई स्थानीय तहले गरिखान नदिएको भन्दै आफू आत्मदाह गर्दैछु भनी सामाजिक सञ्जालमा सार्वजनिक भएपछि केन्द्रीय यातायात विभाग प्रमुख शिव नेपालीले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय क्षेत्रमा ढुवानी व्यवसाय गर्दै आएका उनलाई स्थानीय गाउँपालिकाले पटकै पिछे २००० कर उठाउँदै आएकोले मारमा परेको उनको गुनासो रहेको छ । उनको विषय प्रकाशमा आएपछि उक्त गाउँपालिकाले उठाउँदै आएको कर शुल्क घटाएको बुझिएको छ । उनी जस्ता कयौं यातायात व्यवसायीहरु त्यस्ता गैरकानूनी करको मारमा परेका छन् ।’

स्थानीय सरकारले देशका विभिन्न राजमार्ग तथा सहायक राजमार्गहरुमा अवैध रुपमा कर उठाउँदै आइरहेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘देशभर विभिन्न पालिकाहरुले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको भनी यातायात व्यवसायीबाट गुनासो आएपछि त्यस्ता गैरकानूनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन समेत भएको थियो तर यो क्रम रोकिएको छैन ।

विशेष गरी स्थानीय सरकारले देशका विभिन्न राजमार्ग तथा सहायक राजमार्गहरुमा अवैध रुपमा कर उठाउदै आएका छन् ।

बारम्बार यातायात व्यवसायीहरुले करको विरोध गर्दै आए पनि सडकमा कर उठाउने कार्य अझै रोकिएको छैन । यस्तो स्वरोजगारमा लागेका व्यवसायी तथा उद्यमीहरुलाई निरुत्साहित मात्र गरेको छैन, स्थानीय उत्पादनहरुको मूल्य तथा ढुवानी खर्च बढाएको छ ।’

सरकारले स्थानीय निकायहरुबाट भइरहेका गैरकानूनी तथा जनविरोधी क्रियाकलापहरु तत्काल बन्द गराउनका साथै यातायात तथा ढुवानी व्यवसायीहरुले तिनुपर्ने स्थानीय करलाई वैज्ञानिक ढंगले निर्धारण गरी यातायात व्यवसायीहरुलाई प्रोत्साहित गर्न माग समेत गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *