५५ कराेडकाे अनलाइन जुवामा संलग्न सुनीलका ७५ बैंक खाता, चलाउँथे ४२ एटीएम
काठमाडौं । अनलाइनबाट विभिन्न खेलका निम्ति सट्टेबाजी गराएको आरोपमा पक्राउ परेका एक युवालाई प्रहरीले सार्वजनिक गरेको छ ।
पाँचथर मिक्लाजुङ गाउँपालिका-७ घर भई महालक्ष्मी नगरपालिका ललितपुर बस्दै आएका सुनील राईलाई प्रहरीले पक्राउ गरेको हो । उनले अनलाइन जुवा (सट्टेबाजी) गराएर ५५ करोड २० लाख ८४ हजार ७१ रूपैयाँको कारोबार गरेको खुल्न आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी काजीकुमार आचार्यले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा उनले फरक-फरक व्यक्तिको नाममा ७५ वटा बैंक खाता, १२८ वटा ईसेवा वालेट, बाइनान्स आईडी, जीमेल आईडी प्रयोग गरेर गैरकानूनी रूपमा त्यति ठूलो रकम कारोबार गरेको पाइएको छ । राईले क्रिप्टो करेन्सीको पनि कारोबार गरेको डीएसपी आचार्यले बताए ।
प्रहरीका अनुसार सुनीलले विभिन् ठाउँमा कोठा लिएर लुकीछिपी बसेर हुलिया परिवर्तन गर्दै वान एक्स बेटिङ खेल्ने खेलाउने गरेका थिए ।
राईको साथबाट ल्यापटप, मोबाइल सेट, एनटीसी/एनसेलका ७५ थान सीम, विभिन्न व्यक्तिका नागरिकता, राहदानी, चेकबुक र ४२ थान एटीएम कार्ड बरामद गरिएको छ ।