विद्युत् महसुल नतिर्ने ३४ उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई कुलमानको पत्र
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ३४ वटा उद्योगको बैंक खाता रोक्न पत्र काटेको छ । प्राधिकरणले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पत्र लेख्दै डेडिकेडेट फिडर तथा ट्रंक लाइनबापतको विद्युत् महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न भनेका हुन् ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ती उद्योगमा लाइन काट्न नदिएपछि बैंक खाता रोक्न पत्र पठाएको पुष्टि गरे । उनले भने, ‘३४ वटा उद्योगको बैंक खाता रोक्न राष्ट्र बैंकमा पत्र पठाएका छौं । ती उद्योगहरूको कारोबार बन्द गराउन, आईपीओ निष्काशन रोक्न र ती उद्योगहरूका सञ्चालकहरूको घरमा समेत लाइन काट्ने तयारी छ ।’
उनले राष्ट्र बैंकका पठाएको पत्रमा लेखेका छन्, ‘बक्यौता रकम भुक्तानी गर्न विभिन्न समयमा अवधि दिइएकोमा सो अवधिभित्र पनि भुक्तानी नगरेकोले नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ३२ क र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४०(२) एवम् विभिन्न अदालतको फैसला बमोजिम बक्यौता रकम असुलीको निम्ति सम्बन्धित निकाय (कम्पनी) हरूको रकम असुली नभएसम्म ती कम्पनीहरूले खातामा रकम जम्मा गर्न पाउने, खाताबाट रकम झिक्न गर्न नपाउने गरी बैंक खाता रोक्का गरी विद्युत् महसुलबापतको सार्वजनिक राजश्वको रकम असुली गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध छ ।’
महालेखा परीक्षकको कार्यालयबाट विभिन्न आर्थिक वर्षहरूको लेखापरिक्षण हुँदा उक्त बक्यौता असुली गर्नुपर्ने गरि बेरुजु कायम भएको छ । विद्युत् आपूर्ति लिएका उपभोक्ताहरूले प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने २०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुल बक्यौता रकमको विवरण समेत पठाएको घिसिङले जानकारी दिए ।
well done
well done
Great 👍