‘हनी ट्र्याप’ को नयाँ धन्दा: उपचार गर्न बोलाएर बलात्कारको आरोप लगाउँदै बार्गेनिङ – Nepal Press

‘हनी ट्र्याप’ को नयाँ धन्दा: उपचार गर्न बोलाएर बलात्कारको आरोप लगाउँदै बार्गेनिङ

काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिका- ४ घर भएर भक्तपुरको मध्यपुर थिमि नगरपालिका- ५ बस्ने २६ वर्षकी वर्षा दमाईले घाउचोट ड्रेसिङ गर्न भन्दै मेडिकल सेवा प्रदान गर्दै आइरहेका एक व्यक्तिलाई अनलाइन सम्पर्क गरी बोलाउँछिन् । अघिल्लो बिहीबार आफू एक्लै रहेको अवस्थामा उनले उपचार गर्न बोलाएका युवकलाई बलात्कारको आरोपमा १८ लाख माग गर्छिन् । त्यो रकममा बार्गेनिङ सुरु हुन्छ र अन्तिममा ८ लाखसम्ममा छिनोफानो हुन्छ ।

सूचना थाहा पाएपछि ‘हनी ट्र्याप’ को नयाँ धन्दा गर्ने वर्षासहित अन्य दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको छ । हनी ट्र्यापको मुख्य योजनाकार रहेकी वर्षाको योजनामा दीपेन्द्र दर्जी र समृद्धि मगरले साथ दिएका थिए ।

वर्षाले सामाजिक सञ्जाल म्यासेन्जरबाटै पीडितलाई उपचारको लागि बोलाएकी थिइन्, तर युवक उनको कोठामा पुग्दा वर्षाको खुट्टामा कुनै समस्या थिएन । त्यही बेला वर्षाले ढोकाको चुक्कल लगाउँछिन् र बलात्कार भएको भन्दै ठूलो रकम माग गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रहरीका अनुसार युवकलाई समृद्धि मगरले पनि रकम नदिए बलात्कार आरोपमा फसाइदिने धम्की दिएकी थिइन् ।

गर्दै नगरेको अपराधमा फस्नुभन्दा रकम दिनु उपयुक्त लागेर ११ गते बिहान दीपेन्द्र दर्जी र समृद्धि मगरलाई युवकले २५ हजार दिएका थिए । उनले समृद्धि मगरको सिद्धार्थ बैङ्कको क्यूआरमा थप २५ हजार हाले । ११ गते नै सोही ठाउँमा थप ७५ हजार चेकसमेत दिइएको थियो । प्रहरीले यी सबै प्रमाणसहित तीनै जनालाई पक्राउ गरेको हो । एक जना अझै फरार रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीले पक्राउ गरेका काभ्रेका दीपेन्द्र दर्जी २०७१ सालमै जिल्ला प्रहरी कार्यालय काभ्रेबाट ज्यानसम्बन्धी कसुरमा पक्राउ परी सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । प्रहरीले उनीहरूसँग ७५ हजारको चेक, नगद २० हजार, चार वटा मोबाइल बरामद गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर