वैवाहिक सम्बन्धकाे आत्मसमीक्षा गर्न सिकाउने ‘ढुकढुकी ७२ मेगाहर्ज’
काठमाडौं । मण्डला थिएटर थापागाउँमा प्रदर्शनरत नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ले भन्छ- औसत ३०० ग्राम रहने मान्छेको मुटुको सूक्ष्म र मधुर आवाज नै जीवनको सबैभन्दा ठूलो आवाज हो । यो आवाज सम्बन्धसँग जोडिएको आवाज हो । यो मधुर आवाज प्रेम र स्नेह, त्याग र समर्पणसँग जोडिएको आवाज हो । त्यसैले त यो हर्ज नभएर मेगाहर्ज हो ।
केदार श्रेष्ठ निर्देशित यस नाटकले संवेदना र सहअस्तित्वको वकालत गर्छ । विवाह भन्ने संस्थाकै आवश्यकता छैन भनेर छिटफुट बहस सुरु भएको वेला यो नाटकले भने विवाहपछि सम्बन्धलाई कसरी सुमधुर बनाउने भनेर तपाईंलाई सिकाउँछ । सम्बन्धमा एकै सिक्काका दुई पाटा हुनलाई कति सहज र कति असहज झेल्नुपर्छ ? तपाईंलाई यस नाटकले सिकाउँछ । एकै रथका दुई पांग्रा हुनलाई दुवै पांग्रा कसरी गुड्नुपर्छ ? यो नाटकले सिकाउँछ ।
समाज, आफन्त र परिवारको कथित इज्जतका खातिर वैवाहिक सम्बन्धलाई जबरजस्ती टिकाइरहेकाहरुलाई यस नाटकले सम्बन्ध कसरी सुमधुर बनाउने भनेर सिकाउँछ । नाटकले भन्छ- सम्बन्ध भनेको सम्बन्ध जस्तै सुमधुर हुनुपर्छ । एक-अर्काको अस्तित्वलाई स्वीकार गरिनुपर्छ । एक-अर्काको निर्णयलाई सम्मान गरिनुपर्छ । एक-अर्काको आत्मसम्मानमा ठेस पुर्याउनुहुन्न । जबरजस्ती लतारेर सम्बन्धलाई अगाडि बढाउनुहुन्न ।
०००
नाटकमा कार्म र मेनुका प्रधानले श्रीमानश्रीमतीको भूमिका निर्वाह गरेका छन् । दुवैले एक-अर्कालाई गर्ने सम्बोधन हो, ‘माया’ । श्रीमती सात महिने गर्भवती छिन् । स्कुलको शिक्षिका हुन् । श्रीमान चित्रकार हुन् । उनी अमूर्त चित्रहरु बनाउँछन् । उनीहरुको जीवन एक-अर्काले दिएको सम्मानसहितको प्रेमले सुगन्धित छ । उनीहरुको सम्बन्ध भावनात्मक न्यानोपनले पुलकित छ ।
यहीवेला दुवैको अग्निपरीक्षा सुरु हुन्छ, जब डाक्टरले कि आमामात्रै बाँच्छे कि त बच्चामात्रै बाँच्छ भन्छ । यसपछि श्रीमानले के निर्णय लिन्छन् त ? उसको निर्णयले ढुकढुकी बढाइदिन्छ । डाक्टरको भनाइपछि मुस्कुराउने श्रीमानको मुस्कानले मुटु निचोरिदिन्छ ।
मुटु झनै त्यसवेला निचोरिन्छ, जब थाहा हुन्छ कि यो कुरा श्रीमतीलाई पहिल्यै थाहा थियो । यसवेला दर्शकले महसुस गर्छन्, एक पाउ मुटुको ढुक् ढुक् साँच्चै जीवनको सबैभन्दा विशाल आवाज हो ।
०००
पंक्तिकारलाई एक पटक कलाकार दीपकराज गिरीले भनेका थिए, ‘नेपाली समाजको मनोविज्ञान बुझ्न धेरै टाढा जानुपर्दैन, युट्युबका ट्रेन्डिङहरु हेरे पुग्छ । घर झगडाहरु ट्रेन्डिङमा आइरहेका हुन्छन् ।’
युट्युबमात्रै होइन, अदालत छिर्ने हो भने पनि बैंकिङ कसुरपछि सबैभन्दा सेलिब्रेटी मुद्दा हो, सम्बन्धविच्छेद । दैनिक सयौंको संख्यामा सम्बन्धविच्छेदका मुद्दा दर्ता भइरहेका हुन्छन् । विच्छेद भइरहेका हुन्छन् । नाबालक बालबच्चाहरु कि बाउबाट टाढा भइरहेका हुन्छन् कि त आमाबाट ।
नेपाली समाज किन यस्तो जटिल बनेर गइरहेको छ ? छुट्टै समाजशास्त्रीय अध्ययन चाहिएला, तर यही समाजभित्रको सम्बन्धहरुलाई कसरी सुमधुर बनाउने ? यसका लागि चाहिँ नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ हेर्न जाँदा हुन्छ । सम्बन्धमा एक-अर्काको आत्मसम्मान कति महत्वपूर्ण हुन्छ, त्यसका लागि यो नाटक हेर्न जाँदा हुन्छ ।
नाटकले भन्छ- हामी प्रायः आफ्नै दृष्टिकोणबाट मात्रै हरेक कुरालाई हेर्छौं । अरुको दृष्टिकोणबाट हेर्न बिर्सिदिन्छौं । नाटकको सुरुमै श्रीमतीले श्रीमानलाई अरुको दृष्टिकोणबाट पनि हेर्ने गर्नुपर्छ कहिलेकाहीँ भनेर भन्छे, तर जब उनी नै जीवनको कठिन निर्णय लिनुपर्ने अवस्थामा पुग्छिन्, अब आफ्नै दृष्टिकोणबाट हेर्न सुरु गर्छिन् ।
श्रीमानले बच्चाको साटो श्रीमतीलाई रोज्ने मनस्थिति बनाउँछन् । श्रीमतीले भने आफ्नो साटो बच्चालाई रोज्ने मनस्थिति बनाउँछिन् । मुटु निचोरेर आमा र बच्चामध्ये एउटामात्रै रोज्नुपर्ने अवस्थामा आउँदा श्रीमानका लागि श्रीमती जति महत्वपूर्ण हुन्छ, श्रीमतीका लागि बच्चा त्यति नै महत्वपूर्ण हुन्छ ।
यस्तो अवस्थामा श्रीमान र श्रीमतीले कस्ता कस्ता निर्णय लेलान् त ? कथा कसरी अगाडि बढ्ला त ? यो थाहा पाउन यही आइतबारसम्म मात्रै नाटकका सीमित शोहरु बाँकी रहेका छन् ।
०००
पछिल्लो समय रङ्गमञ्चमा राजनीतिक मुद्दा केन्द्रित नाटकहरुको बाढी नै आएको वेला ‘ढुकढुकी ७२ मेगाहर्ज’ले मानवीय संवेग र सहअस्तित्वको मुद्दा लिएर आएको छ । पूर्ण राजनीतिक भइसकेको महिलाको मुद्दा, आदिवासी जनजातिका मुद्दा केन्द्रित नाटकहरुले रङ्गमञ्चहरु भरिएका थिए । यहीवेला सम्बन्धको कथा बोकेर यो नाटक मञ्चन भइरहेको छ । ठूल्ठूला मुद्दामा अलमलिँदा हामी आफैंले बिर्सेको आफ्नै प्रमुख मुद्दाको सुन्दर उठान यस नाटकले गरेको छ ।
नाटकले बहस, विमर्श गर्नलाई धेरै नै स्पेश दिएको छ, तर अनेक खाले बहस र विमर्श गर्नलाई होइन, म आफूले आफ्नै सम्बन्धलाई चाहिँ कसरी ट्रिट गरिरहेको छु भनेर महसुस गर्न यो नाटक हेर्नुपर्छ ।
‘कतै मैले आफ्नो पार्टनरको अस्तित्वलाई कुल्चेर त हिँडेको छैन’ भनेर आत्मसमीक्षा गर्नलाई पनि यो नाटक हेर्नुपर्छ । ‘प्रेमको नाममा मैले प्रेम नै गरिरहेको छु या अरु केही’ भनेर थाहा पाउन पनि यो नाटक हेर्नुपर्छ । अनि मेनुका प्रधान र कार्मको अभिनयको परख गर्न पनि यो नाटक हेर्नुपर्छ ।
नाटकको सबैभन्दा सुन्दर पक्ष हो, सेट डिजाइन । ठूलो रुखको छहारीमुनि कथा भनिएको छ । रुखलाई गर्भवती महिलाको बिम्बका रुपमा प्रयोग गरिएको छ । र, रुखको हागाबिँगा परपरसम्म फैलिएका छन् । तिनै हाँगाबिँगाको छहारीमुनि श्रीमानले पेन्टिङ बनाइरहेका छन् । यही रुखको छहारीमुनि तेस्रो प्रमुख पात्र पेटको बच्चाको भविष्यको रेखा कोरिँदैछ ।
अर्को बलियो पक्ष चाहिँ संवाद हो । नाटकमा कलाकारहरुले एकदमै काव्यिक संवादहरु बोल्छन् । सुन्दा मीठा लाग्ने संवाद यस्ता काव्यिक संवाद घरभित्र सायद बोलिँदैन होला । यद्यपि निर्देशकले यसमा निर्देशकीय लिबर्टी लिएका पनि होलान् ।
संवादको ब्याकग्राउन्ड स्कोर नाटकको बलियो पक्ष हो । स्मारिका फुँयालको गायनले नाटकको मर्मलाई बलियो गरी पक्रिएको छ । प्रकाश संयोजन पनि राम्रो छ । विशेष गरेर पहेंलो प्रकाशले खुब ध्यान खिच्छ । पहेंलो प्रकाशको अर्थ हो, जीवन छ पनि छैन पनि, मृत्यु छ पनि छैन पनि । अस्पतालमै गम्भीर बिरामीलाई रातो बत्तीमुनि राख्छन् । सामान्य बिरामीलाई हरियो बत्तीमुनि राख्छन् । र, पहेंलो बत्तीमुनि कस्ता बिरामी राख्छन्, तपाईंहरुलाई थाहै छ ।
अनि नाटकको अन्त्यमा हर्ट मोनिटरमा हरिया रेखाहरु चलमलाउँछन् । हरियो रेखाको संकेत त तपाईंहरु बुझिहाल्नुहुन्छ ।