माओवादीले स्वामीकार्तिक खापरको उपाध्यक्षमा नेकपा एसलाई समर्थन गर्ने
काठमाडौं । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीलाई समर्थन गर्ने भएको छ ।
माओवादीबाट उम्मेदवारी दिएकी राजुकुमारी विकले उम्मेदवारी फिर्ता लिँदै एमालेलाई समर्थन गरेपछि पार्टीले एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी जवा शाहीलाई समर्थन गर्ने भएको हो ।
माओवादीका प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले पार्टीबाट उम्मेदवार बनेकी विकले पार्टीको निर्देशनविपरीत क्रियाकलाप गरेको भन्दै नेकपा एसलाई समर्थन गर्न निर्देशन दिएका हुन् ।
निर्देशनमा भनिएको छ, ‘उपनिर्वाचनमा माओवादी केन्द्रको गाउँपालिका समितिले एमाले उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्दै भोट हाल्न निर्देशन गरेको र माओवादी केन्द्रबाट उम्मेदवारी फिर्ता लिएर राजुकुमारी बिक एमालेको चुनाव प्रचारमा सहभागी भएको सम्बन्धमा यो पार्टीको केन्द्रीय नीति र निर्देशनविपरीत क्रियाकलाप रहेको छ । केन्द्रमा समाजवादी मोर्चालाई बलियो बनाउने तथा माओवादी केन्द्र र एकीकृत समाजवादीको बीचमा गठबन्धन गरेर जाने भन्ने सहमति भएको छ । त्यसैले एकीकृत समाजवादीकी उम्मेदवार जवा शाहीलाई मतदान गर्न निर्देशन गरिन्छ ।’