उपनिर्वाचनको मौन अवधि : के गर्न पाइन्छ के पाइदैन ?
काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको मौन अवधिमा गर्न पाइने र नपाइनेबारे जानकारी गराएको छ ।
आयोगले मंसिर १६ गते आइतबारका दिन सम्पन्न हुने स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वासनीय र भयरहित वातावरणमा सम्पन्नन गर्न मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म लागु हुने निर्वाचन प्रचारप्रसार निषेध अवधि मंसिर १३ गते बिहीबार राती १२ बजेदेखि शुरू हुने जनाएको हो ।
निर्वाचन प्रचार प्रसार निषेध गरिएको अवधिमा आचारसंहिता विपरितका कार्य भए गरेको पाइएमा केन्द्रिय आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समिति, स्थानीय प्रशासन, सुरक्षाकर्मी, अनुगमन अधिकृतबाट समेत सुक्ष्म अनुगमन गरी कहीं कतै आचारसंहिता उल्लंघन गरिएको पाइएमा तत्काल कानून बमोजिम कारबाही गरी मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोगमा जानकारी गराउन निर्देशन दिइएको आयोगका सहसचिव एवम प्रवक्ता सिता पोखरेलले जानकारी दिईन ।
उनका अनुसार निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले के गर्न पाउँछ के गर्न पाउदैँन ?
१.कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचार प्रसार नगर्ने नगराउने ।
२.निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि नगर्ने नगराउने ।
३.कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्ने नगराउने ।
४.सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर नगर्ने गराउने ।