अक्सनमा ‘भाग्यमानी’ लुम्बिनीको बलियो ब्याटिङ लाइनअप – Nepal Press
एनपीएल टीम रिभ्यु ६

अक्सनमा ‘भाग्यमानी’ लुम्बिनीको बलियो ब्याटिङ लाइनअप

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा भाग्यमानी बनेको टोली हो, लुम्बिनी लायन्स । अक्सनबाट खरिद गरेका ग्रेड ‘ए’ तीन वटै खेलाडी लुम्बिनीले ‘लक्की ड्र’मार्फत पाएको हो । एकभन्दा धेरै टोलीले उच्चतम मूल्यमा खरिद गर्न चाहेपछि ‘लक्की ड्र’ गरिएको थियो ।

‘लक्की ड्र’ बाट सन्दीप जोरा, विवेक यादव र सूर्य तामाङ लुम्बिनीको पोल्टामा परे । तीनै जना राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी हुन् । उनीहरुसँगै राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल लुम्बिनीका मार्की प्लेयरको रुपमा हुँदा राष्ट्रिय टोलीबाट खेलिसकेका अर्जुन साउद पनि लुम्बिनीमा छन् । सन्दीप र विवेक विशेष गरी टी-२० का लागि चिनिन्छन् ।

सन्दीप मिडलअर्डर ब्याटर र विवेक फिनिसरसँग गीव्र गतिका बलर हुन् । सूर्य घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आइराखेका छन् । उनी बायाँ हाते स्पिनर हुन् । विकेटकिपर ब्याटर अर्जुन ओपनर हुन् । नेपाल ‘ए’ टोलीबाट खेलेका आशुतोष धिरैया, यू-१९ टोलीबाट खेलेका तिलक भण्डारी, दुर्गेश गुप्ता र घरेलु क्रिकेट खेलिरहेका विकास आग्री, अभिषेक गौतम र दिनेश अधिकारी लुम्बिनीबाट खेल्नेछन् ।

आशुतोष पछिल्लो समय उत्कृष्ट ब्याटिङ गर्दै आइराखेका खेलाडी हुन् । बागमती प्रदेशबाट खेल्दै आएका तिलक स्पीनर र लुम्बिनीबाट खेल्दै आएका दुर्गेश तीव्र गतिका बलर हुन् । विकास, अभिषेक र दिनेश घरेलु क्रिकेट खेलिरहेका बलर हुन् ।

लुम्बिनीले आईपीएल विजेता अस्ट्रेलियाका अलराउन्डर बेन कटिङदेखि भारतलाई यू-१९ विश्वकप क्रिकेट जिताएका उन्मुक्त चन्दसम्मलाई टीममा अनुबन्ध गरेको छ । कटिङ र चन्दसहित क्यानडाका साद बिन जफर, इङ्ल्यान्डका विकेटकिपर ब्याटर टम मुर्स र वेस्ट इन्डिजका रामोन सिमन्ड्स पनि लुम्बिनीमा अनुबन्ध भएका छन् ।

सन् २०१६ को हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) जित्दा अस्ट्रेलियाका कटिङ महत्वपूर्ण सदस्य थिए । उनले सन् २०१३ देखि २०१७ सम्म अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट पनि खेलेका थिए । त्यसयता विश्वका विभिन्न लिग खेल्दै आएका छन् । कटिङले आईपीएलसहित विश्वका चर्चित ८ बढी लिग खेलिसकेका छन् । २१२ टी-२० खेल खेलका उनले २ हजार ९२१ रन र १३७ विकेट लिएका छन् । मिडल अर्डरमा खेल्ने कटिङ मध्यम गतिका बलर हुन् ।

भारतलाई यू-१९ विश्वकप क्रिकेट जिताएका चन्द अहिले अमेरिकामा क्रिकेट खेलिरहेका छन् । उनको कप्तानीमा भारतले सन् २०१२ मा यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको थियो । उनले भारतको ए टीम, यू-२३ टीमबाट समेत खेलेका थिए । चन्दले सन् २०११ देखि २०१६ सम्म आईपीएल पनि खेलेका हुन् ।

आईपीएलदेखि बंगलादेश प्रिमियर लिग, विगव्यास लिग जस्ता प्रतियोगिता खेलेका चन्दले अमेरिकाको राष्ट्रिय टोलीबाट खेल्न पाएका छैनन् । विकेटकिपरसमेत रहेका चन्द ओपनिङ ब्याटर हुन् । उनले ९० टी-२० खेलमा १,७९५ रन बनाएका छन् ।

लुम्बिनीमा आवद्ध जफर क्यानडाका पूर्वकप्तान हुन् । पाकिस्तानमा जन्मिएका जफरले गत जनवरीमा अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपमा क्यानडाको कप्तानी गरेका थिए । क्यानडाबाट ४९ टी-२० आई खेलेका उनले ३९० रनसहित ५५ विकेट लिएका छन् । अलराउन्डर भूमिकामा खेल्ने उनी ब्याटिङमा फिनिसिङ र बलिङमा स्पिनर हुन् ।

इङ्ल्यान्डका मुर्स विकेटकिपर ब्याटर हुन् । इङ्ल्यान्डका यू-१९ टोलीबाट खेलेका उनले ‘द हन्ड्रेन्ट’, बीपीएल जस्ता विभिन्न लिग खेलिसकेका छन् । मिडल अर्डरमा ब्याटिङ गर्ने उनले १४७ टी-२० खेल खेलेका छन् । उक्त खेलमा २,३११ रन बनाएका छन् । उनी आक्रामक ब्याटरको रुपमा चिनिन्छन् ।

वेस्ट इन्डिजका सिमन्ड्स बायाँ हाते तीव्र गतिका बलर हुन् । उनले वेस्ट इन्डिजको यू-१९ टोलीबाट खेलिसकेका छन् । २३ वर्षीय सिमन्ड्सले १२ टी-२० क्रिकेटमा १० विकेट लिएका छन् ।

लुम्बिनीको टीम फर्मेसन

लुम्बिनीले नेपालका अर्जुन साउद, आशुतोष धिरैयासहित अमेरिकाका उन्मुक्त चन्दलाई ओपनिङ जोडीलाई ओपनिङ विकल्पको रुपमा लिनेछ । अर्जुनले राष्ट्रिय टोलीबाट समेत ओपनिङ गरिसकेका छन् । आशुतोष बागमती प्रदेशका घरेलु क्रिकेटमा ओपनिङ गर्ने गर्छन् । उन्मुक्त पनि ओपनर हुन् । यीमध्ये दुई जनालाई लुम्बिनीले ओपनिङ पोजिसनमा खेलाउने सम्भावना छ ।

यसबाहेक टपअर्डरमा कप्तान रोहित पौडेल, इङ्ल्यान्डका मुर्स पनि रहनेछ । लुम्बिनीलाई मिडल अर्डरको विकल्प धेरै छ । नेपालका सन्दीप जोरा, क्यानडाका साद बिन जफर, अस्ट्रेलियाका बेन कटिङ मिडल अर्डरका विकल्प हुन् ।

लोअर्डर अर्थात फिनिसरमा विवेक यादवसहित वेस्ट इन्डिजका सिमन्ड्स हुनेछन् । मुख्य स्पिनरको रुपमा सूर्य तामाङ हुनेछन् । उनलाई तिलक भण्डारी, क्यानडाका जफरले साथ दिनेछन् । फास्ट बलिङमा नेपालका दुर्गेश गुप्तासहित वेस्ट इन्डिजका सिमन्ड्स, वेन कटिङ, विवेक यादव रहनेछन् । उनीहरुलाई विकास, अभिषेक र दिनेशले साथ दिनेछन् ।

लुम्बिनीको टोली

स्वदेशी खेलाडी : सन्दीप जोरा, विवेक यादव, सूर्य तामाङ, अर्जुन साउद, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, विकाश अग्री, अभिषेक गौतम र दिनेश अधिकारी ।

विदेशी खेलाडी : बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), साद विन जाफर (क्यानडा), टम मूर्स (इङ्ल्यान्ड) र रेमन सिमन्ड्स (वेस्ट इन्डिज) ।

मार्की प्लेयर : रोहित पौडेल

कन्सलट्यान्ट प्रशिक्षक : शक्ति गौचन

मुख्य प्रशिक्षक : नन्दन फाडनिस

लुम्बिनीको खेल तालिका

एनपीएल मंसिर १५ गतेबाट सुरु हुने भए पनि लुम्बिनीले पहिलो खेल १९ गते खेल्नेछ । लुम्बिनीको पहिलो प्रतिस्पर्धीको रुपमा विराटनगर किंग्स रहेको छ । लुम्बिनीले दोस्रो खेल मंसिर २१ गते पोखरा एभेन्जर्स, तेस्रो खेल मंसिर २२ मा सुदूरपश्चिम रोयल्स र चौथो खेल मंसिर २३ मा जनकपुर बोल्ट्ससँग खेल्नेछ ।

पाँचौं खेल मंसिर २५ मा चितवन राइनोज, छैटौं खेल मंसिर २६ मा काठमाडौं गुर्खाज र सातौं खेल मंसिर २८ गते कर्णाली याक्ससँग खेल्नेछ ।

याे पनि पढ्नुस् : १) विराटनगर किङ्स : बलिङमा सन्दीप र ब्याटिङमा गप्टिलको भर

२) अनिल र आसिफको ओपनिङ जोडीसहित बलियो ब्याटिङ लाइनअपमा उभिएको जनकपुर बोल्ट्स

३) बलियो मध्यक्रममा टिकेको चितवन राइनोजको आशा

४) इङ्ल्यान्डका तीन खेलाडी भित्र्याएको काठमाडौं गुर्खाज कति बलियो ?

५) महँगो टोली पोखराः अलराउन्डरले सुसज्जित, विदेशी खेलाडी दह्रा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *