भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न सरोकारवालाको ध्यानाकर्षण
रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पर्यटन व्यवसायले फड्को मार्ने चरणमा रहेको बताउँदै सरोकारवालाले सोहीअनुसारको पर्यटन पूर्वाधारमा लगानी बढाउन जोड दिएका छन् ।
उनीहरुले लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी पर्यटन सर्किटको माध्यमबाट प्रदेशभर भ्रमणको वातावरण बनाउनुपर्ने र विमानस्थललाई दीर्घकालीन रुपमा पूर्ण क्षमताले चलाउने योजना बनाउन सरकारलाई आग्रह गरेका छन् ।
नेपाल चेम्बर लुम्बिनी र टक्सार मिडिया ग्रुपको संयुक्त आयोजनामा भएको ‘भैरहवामा गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन, लगानी र सम्भावना’ विषययक छलफल कार्यक्रम उनीहरुले विमानस्थल चलायमान हुँदा बेग्लै आशाको सञ्चार भएको र यसलाई कायम राख्दै दिगो बनाउन जोड दिए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित हवाई उडानका लागि भिसा स्वीकृति, श्रम स्वीकृति, स्वास्थ्य परीक्षणको काम यहीबाट गर्नेगरी प्रदेश सरकारले पहल लिएको बताएका छन् ।
विमानस्थल सञ्चालनमा आएपछि लगानीको थप वातावरण तयार भएको बताउँदै उनले सरकारले लगानीमैत्री कानून बनाउने जानकारी दिए । प्रदेशभित्र सरकारले लगानीको वातावरण बनाउन कुनै कसर बाँकी नराख्ने भनाइ उनको छ ।
‘मन खोलेर लगानी गर्नुस्, सरकार वातावरण बनाउन प्रतिबद्ध छ । कानून बाधक छन् भने हामी त्यसलाई संशोधन गर्न तयार छौं’, उनले भने, ‘व्यवसायीहरुले उद्योग, व्यवसायमा लगानी गर्नुपर्छ, तर अहिले शेयर बजारमा ध्यान दिएको जस्तो लाग्छ । उद्योग, व्यवसायबाट उत्पादन र आम्दानी बढाउन सकिन्छ ।’
विमानस्थल सञ्चालनको लागि लुम्बिनी प्रदेशको सिंगो मन्त्रीमण्डल डेलिगेसन गएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि प्रदेश सरकारले पहलकदमी गरेको समेत बताए ।
‘चल्छ, अब उडान रोकिँदैन, ढुक्क हुनुहोस्’, उनले भने, ‘अब चीनको सिचुआनबाट गौतम बुद्ध विमानस्थलमा सीधा दैनिक उडानको लागि पनि पहल गरेका छौं ।’