आत्मकथामा मर्केलले ‘कुकुर लगाएर तर्साएको’ भनेपछि पुटिनले मागे माफी – Nepal Press

आत्मकथामा मर्केलले ‘कुकुर लगाएर तर्साएको’ भनेपछि पुटिनले मागे माफी

काठमाडौं । कुरा १७ वर्ष अगाडिको हो । सन् २००७ जनवरी २१ मा रुसी शहर सोचीमा राष्ट्रपति पुटिन र जर्मनीकी चान्सलर एङ्गेला मर्केलको बैठक चल्दै थियो । अचानक पुटिनको कुकुर आयो । आत्तिइन् मर्केल ।

मर्केल आत्तिएको समाचार विश्व मिडियामा आयो । त्यो समाचार सही भएको हालै सार्वजनिक मर्केलको आत्मकथा ‘फ्रीडम’मा उल्लेख गरिएको छ । पुस्तकमा मर्केलले बैठक अगाडि क्यामेरामेन अगाडि राखेर तस्बिर खिचाउने क्रममा कुकुर आफूतिरै आएको उल्लेख गरेकी छन् । त्यो दृश्य पुटिनले आनन्दले हेरेको भन्दै उनले गुनासोसमेत गरेकी छन् ।

मर्केलले लेखेकी छन, ‘के पुटिन तनावमा हुँदाको अनुहारको भाव पढ्न खोज्दै थिए ? के यो सानो शक्तिको प्रदर्शन थियो ? मैले यतिमात्र सोचे– शान्त भएर क्यामेरापर्सनतिर मात्र ध्यान दिने । यो यतिकै सकिन्छ ।’

मर्केलको यो गुनासो सार्वजनिक भएपछि पुटिनले माफी मागेका छन् । रुसी विश्व च्यानल आरटीले पुटिनले आफूले मर्केलले कुकुर मन पराउने सोचेको तर, उनलाई डर लाग्नेरैछ भन्दै पछि माफी मागेको उल्लेख गरेको छ ।

सन् १९९५ मा कुकुरले टोकेपछि मर्केल कुकुरसँग डराउन थालेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर