बालअधिकारको १०० वर्ष र नेपालका बालबालिकासँग ४० वर्षे साझेदारीको अवसरमा शताब्दी महोत्सव – Nepal Press

बालअधिकारको १०० वर्ष र नेपालका बालबालिकासँग ४० वर्षे साझेदारीको अवसरमा शताब्दी महोत्सव

काठमाडौं । बालअधिकार प्रवर्धनसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय दस्तावेज जेनेभा घोषणापत्र जारी भएको १०० वर्ष पुगेको अवसरमा नेपालमा बालअधिकारको शताब्दी महोत्सव मनाइएको छ ।

यस्तै नेपालमा सेभ द चिल्ड्रेनले बालअधिकार प्रवर्धनका लागि बालबालिकासँग ४ दशक लामो यात्रा पूरा गरेको उपलक्ष्यमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले बालबालिकालाई राष्ट्र निर्माणको प्रभावशाली साझेदारको रूपमा लिइनुपर्ने बताए । उलने विशेषगरी विशेष संरक्षण आवश्यकता भएका बालबालिकालाई प्राथमिकता दिँदै बालअधिकार प्रवर्धन गर्न र बालबालिकाको आवाजलाई नीति निर्माणको हरेक तहमा समेट्न सरकार प्रतिबद्ध रहेको बताए ।

युरोपेली संघका नेपालका लागि राजदूत भेरोनिक लोरेन्जोले बालअधिकार प्रवर्धनमा नागरिक समाजको महत्वपूर्ण भूमिका रहने बताउँदै बालबालिका परिवर्तनको प्रकृयाका महत्वपूर्ण र अभिन्न अंग भएको बताए ।

उनले सशक्त नागरिक समाज बालबालिकाको हकहितको लागि अत्यन्त आवश्यक रहेकोमा जोड दिए । सेभ द चिल्ड्रेन, सरकार र अन्य साझेदारसँग सहकार्य गर्दै बालबालिकाको अवस्थामा सुधार ल्याउँन यूरोपियन यूनियन प्रतिबद्ध रहेको उनको भनाई छ । राजदूत लोरेन्जोले बालअधिकारका लागि वृहत् साझेदारीको आवश्यकता औँल्याउँदैे सबै क्षेत्रले बालअधिकारको विषयप्रति अपनत्व कायम गर्नुपर्ने धारणा राखे ।

सेभ द चिल्ड्रेन नेपाल र भूटानका राष्ट्रिय निर्देशक तारा क्षेत्रीले बालअधिकार सुनिश्चितताका लागि बालबालिका, समुदाय र नागरिक समाज संगठनसँगको सहकार्य गर्दैआएका बताएका छन् ।

उनले बालबालिकाले जलवायु परिवर्तन सृजित विपद्देखि अनलाइन तथा अफलाइन जोखिमसम्मका चुनौतीको सामना गरिरहेको अहिलेको समयमा बालबालिकाका अधिकार र समाजमा उनीहरुको अर्थपूर्ण सहभागिताका लागि एकजुट रहेको बताए । क्षेत्रीले अबको समयमा आफुहरुले बालबालिकासँग अझ बढी सहकार्य गर्न आवश्यक रहेकोमा जोड दिए ।

उनले नेपालमा बालअधिकारलाई राष्ट्रको विकास र समृद्धिको आधार बनाउन संघीय, प्रदेश र स्थानीय गरेर तीनै तहका सरकारसँग थप समन्वय र पहलको लागि आह्वान गरे । कार्यक्रममा ‘नेपालमा बालअधिकार अभियानः अवसर र भावी मार्गचित्र’ शिर्षकको अध्ययन प्रतिवेदन पनि सार्वजनिक भएको छ ।

प्रतिवेदनले देशमा बालअधिकारको विकासक्रमलाई समीक्षा गर्दै आगामी प्राथमिकता प्रस्तुत गरेको छ । उक्त दस्तावेजले बालबालिकामा रणनीतिक लगानी बढाउनुपर्ने र नेपालको बालअधिकार अभियानले हासिल गरेका उपलब्धिलाई दिगो रुपमा कायम राख्न भावी पुस्ताका बाल अभियन्ता तयार गर्नुपर्नेमा जोड दिएको छ ।

कार्यक्रममा नेपालभरका बालबालिका र युवाको नेतृत्वमा सञ्चालन भएका जलवायु र लैंगिक न्याय जस्ता महत्वपूर्ण विषय केन्द्रित अभियानसम्बन्धी प्रस्तुति गरिएको थियो । साथै, विभिन्न नागरिक समाज संगठनद्वारा बालअधिकार प्रवर्धनका लागि सञ्चालित आफ्ना कार्य झल्काउने स्टल राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर