मुनलाइट हाइड्रोले ‘छल’ गरेर बलेफी आयोजनाको क्षमता बढाउन लागेको भन्दै स्थानीयको विरोध – Nepal Press

मुनलाइट हाइड्रोले ‘छल’ गरेर बलेफी आयोजनाको क्षमता बढाउन लागेको भन्दै स्थानीयको विरोध

प्रभावित क्षेत्रका बासिन्दाले गुहारे अदालत, मुआब्जाबेगर नै आईपीओको तयारी

सिन्धुपाल्चोक । जुगल गाउँपालिका- १, २ र ५ को सीमा कुम्भेश्वरमा ड्याम बनाएर आरुबोटेमा निर्माण भइरहेको बलेफी जलविद्युत आयोजनाले ढाँटेर बढी क्षमताको विद्युत उत्पादन गर्न लागेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

मुनलाइट हाइड्रोपावर कम्पनीद्वारा निर्मित उक्त आयोजनाले सुरूमा १० मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने जानकारी गराएको थियो । तर, अहिले २२ दशमलब १४ मेगावाटको विद्युत उत्पादनका लागि संरचना बनाइएको स्थानीयको दाबी छ ।

बढी मेगावाट उत्पादन गर्दा देशका लागि फाइदा हुने भएपनि आफूहरूसँग गरिएको सहमतिबेगर ढाँटछल गरेर स्थानीय स्रोत र साधान हडपेको आयोजना प्रभावित जुगल-१ का स्थानीय गंगाविक्रम थापा बताउँछन् ।

‘हामीसँग एउटा सहमति गर्ने अनि अहिले हाम्रो स्रोत साधानको गलत रूपमा उपभोग गर्ने ? आयोजनाले छल गरेको छ’, थापाले भने ।

आयोजनाको वेबसाइटमा पनि १० दशमलब ६० मेगावाट विद्युत उत्पादन गर्ने भनिएको छ । मुनलाइटले आयोजनाको प्रारम्भिक वातवरणीय परीक्षणमा १० दशमलब ६० मेगावाटको नै गरेको थियो ।

पहिले जुगल-१ को कुमाले भन्ने स्थानमा पावर हाउस बनाउने भनिएकोमा अहिले त्यसलाई सारेर आरुबोटेमा निर्माणको काम भइरहेको छ ।

प्रभावितहरूले गुहारे अदालत

आयोजनाले माथिल्लो तहका कर्मचारीसँग मिलेमतो गरेर बढी क्षमताको विद्युत उत्पादन गर्न लागेको स्थानीयको आरोप छ । वन क्षेत्र लगायत अन्यको प्रारम्भिक वातवरणीय परीक्षण र सार्वजनिक सुनुवाइ नगरी विस्थापित गर्न लागेको भन्दै १ नम्बर वडा बाजसिम्लेबासीले १ वर्षअघि जिल्ला अदालत चौतारामा मुद्दा दायर गरेका थिए ।

हाम्रो मुख्य बस्तीभन्दा ५ मिटरमाथिबाट पाइप लाइन जाँदैछ, पाइप लाइनमा समस्या भयो भने बस्ती नै बगाएर लैजान्छ स्थानीय गंगाविक्रम थापाले भने,‘आयोजना, स्थानीय सरकार, विद्युत विकास विभागलगायत सबैमा अनुरोध गर्दा पनि सुनुवाई नभएपछि अदालतसम्म गएका हौं ।’

अदालतले दुवै पक्षलाई छलफल र समन्वय गरेर विवाद समाधान गर्न भने पनि आयोजनाले केही राजनीतिक दलका नेताहरूलाई हातमा लिएर आफूहरूलाई पेलेर अगाडि बढेको स्थानीयको आरोप छ ।

आयोजनाले ड्यामबाट सुरुङ नभई ‘हेडरेस पाइप’ बाट पानी लगेर पेनस्टक पाइपको माध्यमबाट पावरहाउससम्म पानी लग्नेछ । हेडरेस पाइपबाट पानी लैजाँदा ‘फ्लड’ को जोखिम हुने विज्ञहरू बताउँछन् ।

बस्तीको ५ मिटरमाथि रहेको भण्डारे सालघारी वन क्षेत्रबाट हेडरेस पाइप राखिने हुँदा बाढीपहिरो जाँदा बस्तीलाई ठूलो असर गर्ने छ । भूगर्भविद्समेत २०७२ को भूकम्पपछि यो क्षेत्रलाई अति जोखिममा राखेकाले बस्तीमाथिबाट पाइप लैजाँदा आफूहरूको बस्ती जोखिममा परेको प्रभावित क्षेत्रका स्थानीयको भनाइ छ ।

आफूहरू आयोजनाको विरोधी नभई सहयोगी नै भएको स्थानीय भण्डारे सालघारी सामुदायिक वन उपभोक्ता समितिका निर्वतमान अध्यक्ष आनन्द थापाले भने ।

बस्तीमाथिबाट होइन बस्ती तलबाट संरचना बनाएर पाइप लैजानु पर्छ । आयोजनाको हेडरेस पाइप लैजाने बाटोमुनि ५० भन्दा बढी घरधुरी रहेका छन् । सबै बस्ती गर्दा आयोजनाबाट २ सय बढी घरघुरीहरु प्रत्यक्ष प्रभावित हुने स्थानीयको भनाई छ ।

मुआब्जा नदिई आईपीओको तयारी

२०६९ मा पीपीए भएको आयोजनाको निर्माण अवधि सकिएको लामो समय भइसक्यो । निर्माण सुरू गरेको १० वर्ष भन्दा बढी भइसकेपनि आयोजनाको हालसम्म ३० प्रतिशत पनि संरचनाको काम सकिएको छैन । आयोजना सुरू भएको तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने भएपनि आयोजना कहिले निर्माण सम्पन्न हुन्छ अन्योल नै रहेको छ ।

आयोजना प्रभावितहरुको मुआब्जा बापत लाखौ रकम आयोजनाले दिनै बाँकी रहेको छ । आयोजना भने स्थानीयको मुआब्जा लगायत स्थानीय विवाद मिलाएर आयोजना निर्माण गर्ने भन्दा पनि आईपीओ निकाल्ने तयारीमा लागेको छ । आईपीओमा पैसा कलेक्सन गरेर अन्य क्षेत्रमा लगानी गर्नका लागि आयोजनाले बठ्याइँ गरेको भन्दै स्थानीयले आलोचना गरेका छन् ।

‘स्थानीय क्षेत्रमा बग्रेल्ती समस्या छन्, आयोजनाका कर्मचारी आयोजनास्थलसम्म पुग्न सकेका छैनन्, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूलाई साथमा लिएर स्थानीयलाई पेलेर आईपीओ निष्कासन गर्ने आयोजनाको नियत ठिक छैन’, बलेफी-१ का पूर्ववडाअध्यक्ष मधु थापाले भने ।

अधिग्रहण गर्न लागिएको मध्ये ८० प्रतिशतभन्दा बढीको मुआब्जाबापतको रकम आयोजनाले दिन बाँकी छ ।

लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने १०० अंकित दरका १,७६१,००५,००० रकम बराबरको १,७६,१०,०५० कित्ता साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता भइसकेको छ ।

बलेफी जलविद्युत आयेजनाको मुख्य सञ्चालक हुन् वीरेन्द्र न्यौपाने । जलविद्युत आयोजनाको अधिकांश निर्माणको जिम्मा पनि उनैले लिएका छन् । नियमनकारी निकाय आफैँ ठेकेदार भएपछि कामको गुणस्तर मापनमा प्रश्न उठ्ने गरेको छ ।

आयोजना भन्छ- अपग्रेड गर्दा सार्वजनिक सुनुवाइ गर्नु पर्दैन

रन अप द रिभर प्रकारको यो जलविद्युत आयोजनाले सुरूमा १० दशमलब ६० मेगावाट क्षमताको मात्रै सार्वजनिक सुनुवाइ गरेर आयोजना निर्माण सुरु गरेपनि पछि २२ दशमलब १४ मेगावाट क्षमताको बनाइएको आयोजना प्रमुख सन्दीप जिसीले जानकारी दिए ।

‘थप भएको क्षमताको लागि फेरि सार्वजनिक सुनुवाई गर्नु नपर्ने रहेछ, त्यही भएर नगरेका हौं । आईपीओ निष्कासन गर्न लागेको बारेमा मलाई जानकारी छैन’, उनले भने ।

आईईई पनि सुरूको क्षमताको मात्रै गरेको र अहिले थपिएको बाँकी क्षमताको लागि ‘सप्लीमेन्ट्री’ आईईई गर्ने प्रक्रियामा रहेको आयोजना प्रमुख जिसीले बताए ।

प्रभावित क्षेत्र कुन कुन हुने, मुआब्जालगायत सबै क्षेत्र विद्युत प्राधिकरणको भएको उनको भनाइ थियो । साढे ३ अरब रूपैयाँको लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको लामोसाँघुमा रहेको सबस्टेशनमार्फत केन्द्रीय प्रशारण लाइनमा जोडिने भएपनि आयोजना कहिले सम्पन्न हुने अन्योल छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *