लुम्बिनी वाणिज्य क्याम्पस छिट्टै मानिक विश्वविद्यालयमा हुनेछ : अर्थमन्त्री पौडेल – Nepal Press

लुम्बिनी वाणिज्य क्याम्पस छिट्टै मानिक विश्वविद्यालयमा हुनेछ : अर्थमन्त्री पौडेल

रुपन्देही । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा चौथो अन्तर्राष्ट्रिय कन्फ्रेन्स शुक्रबारदेखि सुरु भएको छ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले इन्टरनेशनल कन्फ्रेन्स अन ग्लोबल इनोभेसन इन म्यानेजमेन्ट एण्ड सोसल साइन्स (प्रज्ञानम् ब्रह्म–०४) को उद्घाटन गरे ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले शैक्षिक क्षेत्रमा देशकै नमुना क्याम्पसको रुपमा परिचित लुम्बिनी वाणिज्य क्याम्पस मानिक विश्वविद्यालयको रुपमा प्रमाणित गरेको बताए । अर्थमन्त्री पौडेलले आगामी दिनमा मानिक विश्वविद्यालयका रुपमा स्थापित हुने चाहना छिटै पूरा हुने बताउँदै नेपाल सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले विश्व विद्यालयको शिक्षा अनुसन्धानमूलक हुन जरुरी रहेको बताए । पौडेलले उच्च शिक्षा र सीपका लागि लगानी बढाउनुपर्ने बताउँदै ज्ञान देशको आर्थिक विकाससंग प्रत्यक्ष जोडिएको र आर्थिक एवम् मानवीय विकासमा ज्ञानको अहम् भूमिका भएको बताए ।

उनले परिवर्तित विश्व परिवेशमा अनुसन्धान र नवप्रवर्तन बढ्दै गएकोले ज्ञान र प्रविधिलाई उत्पादन र उत्पादकत्वसंग बढाउनसके ‘सुखी नेपाली र समृद्ध नेपाल’ बन्ने बताए । क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्यायले विभिन्न देशका विज्ञहरुलाई ल्याएर अनुसन्धानका लागि चौथो पटक यस्तो कार्यक्रम गरेको बताए ।

अनुसन्धान विभाग प्रमुख पिताम्बर सापकोटाले सबै क्षेत्रका विज्ञहरुको कार्यक्रममा सहभागिता रहेको बताए । शुक्रबार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डा. डिल्लीराज शर्मासहित भारत, चीन, मलेसिया, थाइल्याण्डका विभिन्न विश्वविद्यालयका प्रोफेसर तथा डाक्टरहरुले अवधारणा राखेको अध्यापक माधवकुमार पौडेलले जानकारी दिए ।

त्यसबाहेक सरकारी तथा गैरसरकारी संस्थाका अनुसन्धानकर्ताहरुसमेत गरी १ सय २० जनाभन्दा बढी अनुसन्धानकर्ताहरुले अनुसन्धान पत्र प्रस्तुत गर्नेछन् ।

प्राध्यापकहरुले उच्च शैक्षिक गुणस्तर वृद्धि गर्न ज्ञान र सीपलाई वृत्ति विकाससँग जोड्ने तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च शैक्षिक समन्वय बढाउन यस्ता अन्तर्राष्ट्रियस्तरका कन्फ्रेन्सहरु महत्वपूर्ण कन्फ्रेन्समा नेपालसहित भारत, पाकिस्तान, चीन थाइल्याण्ड, मलेसियालगायतका विभिन्न विश्व विद्यालयका पदाधिकारी, वरिष्ठ प्राध्यापक, विद्यार्थी, अनुसन्धानकर्ताहरु तथा सरकारी तथा गैरसरकारी अभ्यासकर्ताहरुले अनुसन्धानको निष्कर्ष प्रस्तुत गर्ने गरेका छन् ।

लुम्बिनी वाणिज्य क्याम्पसले सञ्चालन गर्दै आएको यो चौथो कन्फ्रेन्स हो । यस अगाडि तीन पटक सम्पन्न गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर