सुतेका श्रीमानको ईंट्टाले हानेर हत्या, जनककुमारीको पोल यसरी खुल्यो
कैलाली । कञ्चनपुर बेलौरी नगरपालिका–६ भुराकोट की जनककुमारी रानाले आफ्नै श्रीमानको हत्या गरेकी छन् ।
४९ वर्षीय श्रीमान् सियाराम रानाको जनककुमारीले ईंट्टाले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले बिहीबार आफ्नै घरमा हत्या गरेको अवस्थामा भेटिएका रानाको हत्या उनकै श्रीमतीले गरेको पाइएपछि पक्राउ गरिएको जानकारी दिए ।
शौचालयमा चिप्लिएर रानाको मृत्यु भएको भन्दै प्रहरीलाई स्थानीयले खबर गरेका थिए । तर शवको अवस्था चिप्लिएर लडेको र सोही कारण मृत्यु भएको भन्दापनि हत्या भएको जस्तो देखिपछि प्रहरीले अनुसन्धनको सुरु गरेको थियो ।
त्यसैमाथि मृतकको शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा भेटेपछि घटना थप शंकास्पद बनेको थियो ।
मृतकको टाउको र तालुमा रहेको चोटका आधारमा प्रहरीले घटना शंकास्पद भएको भन्दै अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा रानाको घर कोठा खानतलासी गर्दा कोठा, कुर्सी, ढोका लगायतका ठाउँमा रगत लागेको भेटिएको थियो ।
खाटमुनी रगत लागेको ईटा भेटिएको थियो भने दराजमा महिला र पुरुषले लगाउने कपडा रगतले भिजेको अवस्थामा फेला परेको थियो । त्यसपछि उनको हत्या भएको करिब टुङ्गो लागेको थियो ।
केहीबेरको केरकार पछि श्रीमती जनककुमारीले दुवै जनाबीच झगडा भएको र दिउँसो सुतेका बेला ईटा प्रहार गरि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
बिहानै देखि झगडा भएको रहेछ छोरी स्कूल गएको बेला र श्रीमान सुतेको मौका छोपेर उनले इट्टाले हानेर हत्या गरिन् अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने छोरी आउँदा रुवाबासी सुरु भयो त्यही थाहा पाएर स्थानीयले प्रहरीलाई खबर गरे ।
रानाविरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।