उम्मेदवारको चरित्रहत्या गर्ने अनलाइनलाई प्रेस काउन्सिलको कारवाही, भ्रामक सामग्री हटाउन निर्देशन
काठमाडौं । प्रेस काउन्सिलले स्थानीय तह उपनिर्वाचनको उम्मेदवारको चरित्रहत्या गर्ने अनलाइनलाई कारबाही गरेको छ ।
काउन्सिलले उपनिर्वाचनको उम्मेदवारउमा शेर्र्पाको चरित्रहत्या गरेको भन्दै हेदाहेर्दै डटकम अनलाइनलाई हटाउन निर्देशन दिएकाे हाे ।
हेदाहेर्दै डटकम अनलाइनले वेवसाइट र सोको फेसबुक पेज हेर्दाहेर्दै बाट मङ्सिर १३ गते “माथिल्लो तामाकोशी सामान चोरी प्रकरण: नेकपा एमाले उम्मेदवार उमा शेर्पाको संलग्नता भएको आशंका’ शीर्षक राखी समाचार प्रकाशन गरेको थियो ।
उक्त समाचारविरुद्ध सुदिप पोखरेलले मङ्सिर १४ गते स्थानीय तह उपनिर्वाचनका बेला उम्मेदवारको बारेमा पुष्टि नभएको, भ्रामक, वदनियतपूर्वक समाचार सम्प्रेषण गरी निर्वाचनको माहौल बिगारेको हुँदा आचारसंहिता उल्लङ्घन गर्ने मिडियालाई आवश्यक कारवाही गरिपाऊँ भनि उजुरी दर्ता गराएको थियो ।
काउन्सिलले अनलाइन सञ्चार माध्यम र सोको फेसबुक पेजबाट समेत सम्प्रेषित सामग्रीको अनुगमन गर्दा स्थानीय तह उप निर्वाचनका उम्मेदवारका विषयमा मौनअवधिमा समेत देखिने गरी सन्तुलनरहित र एकपक्षीय सामग्री सम्प्रेषण भएको देखिएको जनाएको छ ।
सम्प्रेषण भएको उक्त सामग्री पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) का ४(६) र निर्वाचन आचारसंहिता २०७९ को दफा २५को (ख) प्रतिकूल देखिएको हुँदा अविलम्ब हटाइ र स्थगन गरी २४ घण्टाभित्र जवाफ पेस गर्न निर्देशन दिएको छ ।
मौन अवधिको विशेष र संवेदनशील बेलामा डिजिटल माध्यममा देखिने गरी यसप्रकारको सामग्री प्रकाशन र प्रसारण गर्न नमिल्ने भन्दै काउन्सिलले यसअघि नै प्रेस विज्ञप्तिमार्फत अपिल जारी गरिसकेको अवस्थामा उक्त अपुष्ट र भ्रामक समाचार सामग्री तत्काल नहटाइए आवश्यक कारबाही हुने उल्लेख गरेको छ । साथै आगामी दिनमा यस किसिमका सामग्री सम्प्रेषण नगर्नरनगराउन र निर्वाचन आचारसंहिता पालनामा सजग रहन निर्देशन दिएको छ ।