एनपीएल : पहिलो खेलमा कस्तो रह्यो नेपाली खेलाडीको प्रदर्शन ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ । ब्याटिङमा विदेशी खेलाडी चम्किँदा जनकपुरले विराटनगरमाथि सहज जित दर्ता गर्यो ।
१५ रनमा दुवै नेपाली ओपनर गुमाएको जनकपुरका लागि दुई विदेशी खेलाडी लाहिरू मिलन्था र हर्ष थाकरले ११६ रनको शतकीय अविजित साझेदारी गरेसँगै जनकपुरको जित सुनिश्चित रह्यो ।
पहिलो खेलमा कस्तो रह्यो नेपाली खेलाडीको प्रदर्शन ?
दुवै टोलीले पहिलो खेलमा ४–४ विदेशी खेलाडी समावेश गरेका थिए । दुवै टोलीमा विदेशी खेलाडीको प्रदर्शन उच्च रह्यो । विराटनगरले १२७ रन बनाउँदा न्यूजिल्यान्डका मार्टिन गुप्टिल ५५ रनको योगदान दिए ।
ओमनका अकिव इल्यासले १५ रन बनाउँदा कुनै पनि नेपाली खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर लोकेश बम ५, बसिर अहमद ७, राजेश पुलामीमगर १, प्रतिश जिसी २, कप्तान सन्दीप लामिछाने ७, जितेन्द्र मुखिया शुन्य रनमा आउट हुँदा अनिल खरेल ७ रनमा अविजित रहे ।
विराटनगरको कुनै पनि नेपाली ब्याटर चल्न सकेनन् । बलिङतर्फ पनि प्रतिशबाहेक अन्य नेपाली बलरले विकेट निकाल्न सकेनन् । २ ओभर बलिङ गरेका प्रतिशले १४ रन खर्चेर एक विकेट लिएका थिए । उनले जनकपुरका कप्तान अनिल शाहलाई आउट गराएका थिए । ४ ओभरको स्पेल पुरा गरेको कप्तान सन्दीप विकेट विहीन हुँदै ३० रन खर्चिए । २ ओभर बलिङ गरेका जितेन्द्र मुखिया १२ र एक ओभर बलिङ गरेका अनिल ११ रन खर्चिँदै विकेटविहीन भए ।
ब्याटिङमा टिक्न नसकेका जनकपुरका नेपाली खेलाडीले बलिङमा राम्रो प्रदर्शन गरे । ब्याटिङमा कप्तान अनिल ५ र आसिफ शेख शुन्य रनमा आउट भए । बलिङतर्फ ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका ललितले महत्वपूर्ण ३ विकेट लिए । ३ विकेट बलिङ गरेका नेपालकै किशोर महत्तो १८ रन खर्चेर २ विकेट लिए । नेपालका तुलबहादुर थापाले एक ओभर बलिङ गर्दै ७ रन खर्चे ।