बीआरआईको विषयमा संयुक्त रूपमा एजेण्डा तयार पारिसक्यौं, सरकार ढल्दैन : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बीआरआईको विषयले सरकारमा समस्या नआउने दाबी गरेका छन् ।
कांग्रेस गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै बीआरआईको विषयमा एमालेसँग फरक मत नरहेको बताए ।
उनले भने, ‘अहिले देशको अर्थतन्त्रले थप ऋण धान्न सक्दैन । त्यसैले कांग्रेस अहिले अनुदानकै पक्षमा छ । कुनै योजनामा ऋण लिएर काम गर्दा तिर्न सक्ने अवस्थामा ऋण लिन सकिने भएपनि अहिले नै ऋण लिइहाल्ने अवस्था छैन ।’
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा उठाउने विषयमा कांग्रेस–एमालेले संयुक्त रूपमा नै एजेण्डा तयार गरेको पनि बताए । यसअघि चीनले दिने घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्ने पनि उनका भनाइ थियो । उनले सरकार ढल्छ भनेर अफवाह फैलाइएपनि त्यसमा सत्यता नरहेको दाबी गरे ।
उनले थपे, ‘कांग्रेस सभापति शेरबहादुर देउवा बोलीमा इमानदार हुनुहुन्छ भन्ने कुरा सबैलाई थाहा छ । प्रधानमन्त्रीजीले सहमति अनुसार हस्तान्तरण हुने बताइरहनुभएको छ । सरकारमा समस्या छैन ।’