कांग्रेस-एमाले र हाम्रो बाटो फरक भइसक्यो, नयाँ दललाई उठ्नै नदिन खोज्दैछन् : वर्षमान पुन – Nepal Press

कांग्रेस-एमाले र हाम्रो बाटो फरक भइसक्यो, नयाँ दललाई उठ्नै नदिन खोज्दैछन् : वर्षमान पुन

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कांग्रेस र एमालेसँग आफूहरुको बाटो फरक भएको बताएका छन् । पार्टीको तेस्रो रोल्पा नगर अधिवेशनलाई शनिबार सम्बोधन गर्दै पुनले ०६२/०६३ को आन्दोलनअघि निरंकुशताविरुद्धको आन्दोलनका लागि १२ बुँदे सहमतिबाट सुरु भएको दुई दलसँगको सहकार्य संविधान निर्माणपछिको ९ वर्षमा कमजोर भएको बताए ।

कांग्रेस–एमालेले गणतन्त्रलाई सीमित विचौलिया, दलाल र भ्रष्टहरुको मात्र सीमित गर्ने कोसिसमा र आफूहरु बहुसंख्यकको गणतन्त्र बनाउने प्रयासमा रहेको उनको भनाइ थियो ।

आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारी र तस्करहरुलाई नियन्त्रण गर्न थालेपछि कांग्रेस एमाले अप्रत्याशित रुपमा मिलेको पुनले बताए ।

कांगेस र एमालेलाई पुराना संसदवादी दलको संज्ञा दिँदै पुनले काँग्रेस–एमाले एउटा कित्ताका र आफूहरु अर्को कित्ताको भन्ने जनताले स्पष्ट रुपमा बुझेको दाबी गरे ।

उनले भने, ‘हामी एउटा कित्ताका र कांग्रेस एमाले अर्को कित्ताका हुन् भन्ने जनताले बुझेका छन। उनीहरुको भ्रष्टाचार र बेथितीका कारण जनता हामीतर्फ आकर्षित भएका छन्। अहिलेको सरकारको नृेतृत्वसँग असन्तुष्टि र हामीसँग आकर्षण सँगसँगै बढेको छ ।’

सुशासनका लागि भ्रष्टाचार र अनियमितताविरोधी अभियान थालेपछि कांग्रेस एमाले बिच्किएको भन्दै उनले कांग्रेस र एमालेसँग त्यही बिन्दुबाट बाटो फरक भएछि सरकार ढलेको बताए ।

संसारमा कहीं पनि प्रमुख दुई दल मिलेर सरकार चलाएको रेकर्ड नभएको चर्चा गर्दै पुनले सुशासनको अभियान थाल्दा आफूहरुलाई सरकारबाहिर आएपछि जनताले विगतको तुलनामा बढी माया गरेको उनको भनाइ थियो ।

प्रचण्ड सरकारले सुशासनका लागि केही गर्न खोज्दा हटाए भन्ने जनतामा स्थापित भएको दाबी गर्र्दै पुनले वर्तमान सरकार भ्रष्ट, बिचौलिया, दलाल र अनैतिकहरुले सरकार चलाइरहेको आरोप लगाए । गणतन्त्र जनताको हुन्छ कि बुर्जुवाहरुको हुने खतरा हुन्छ भनेर ०६२/०६३ अघि नै भनेको स्मरण उनले गरे । यद्यपि जनताले गणतन्त्रको विकल्प नखोजेको बताए ।

०२६, ०४६ अघि हरेक १० वर्षमा व्यवस्था परिवर्तनका लागि आन्दोलन भए पनि ०६२/०६३ पछि २० वर्ष भए पनि त्यस खालको आन्दोलन नहुनुले वर्तमान व्यवस्थाप्रति बहुसंख्यकको अपनत्व रहेको पुष्टि हुने पुनले उल्लेख गरे ।

उनले भने, ‘यसअघि हरेक १० वर्षमा व्यवस्था परिवर्तनका लागिआन्दोलन हुन्थ्यो । अहिले २० वर्ष भयो । किन आन्दोलन उठेको छैन भने मानिसले यसलाई रुचाएका छन् ।’

कांग्रेस एमाले नयाँ भन्ने दलहरुलाई माथि उठ्न नदिने र आफूहरु पनि लोकतन्त्रको बगैंचामा नयाँ फूल फूल्न दिनुपर्ने नीतिमा रहेको उनले बताए ।

उनले थपे, ‘लोकतन्त्रमा नयाँलाई आउन दिनुपर्छ । यदि वृक्ष गलत परेछ भने आफैं सकिन्छ । तर, आउनै रोक्ने कुरामा हाम्रो सहमति छैन ।’

फरक प्रसंगमा उनले प्रचण्डकै नेतृत्वमा पार्टीलाई पुनर्गठित र पुनर्ताजगी गरेर जनुपर्छ भन्ने पार्टी निष्कर्ष रहेको उनले उल्लेख गरे ।

 


प्रतिक्रिया

One thought on “कांग्रेस-एमाले र हाम्रो बाटो फरक भइसक्यो, नयाँ दललाई उठ्नै नदिन खोज्दैछन् : वर्षमान पुन

  1. बाटो जति फरक भने पनि मुख्य काम भारतको दलाली हो ।बेलाबेलामा प्रकट हुन्छ । अस्ति चाईना कार्ड भनेर प्रकट भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर