माओवादीले कति संख्याको बनाउँदैछ वडा र पालिका कमिटी ?
काठमाडौं । नेकपा माओवादी केन्द्रले मातहतको कमिटीलाई संगठित पार्टी सदस्यहरूको भेलाद्वारा १५ सदस्यीय संगठन समिति गठन गर्न निर्देशन दिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले पठाएको परिपत्रमा स्थानीय तहहरूको अधिवेशन सम्बन्धमा पार्टी विधान-२०८० मा भएको व्यवस्था अनुसार आवश्यक गर्ने निर्देशन दिएको हो ।
संगठन समितिमा अध्यक्ष र सचिव गरी दुई सदस्यीय पदाधिकारी राख्नुपर्ने परिपत्रमा उल्लेख छ । गाउँ/टोल/शाखाहरूले आफ्नो मातहत रहेका संगठित पार्टी सदस्यहरूको वीचमा सेल समितिहरू गठन गरी सञ्चालन गर्नेछ । सेल समितिहरूमा १ सचिव सहित कम्तिमा ३ सदस्यीय रहने व्यवथा छ ।
गाउँ/नगर अधिवेशनले बढिमा गाउँपालिका र शाखामा-४५, नगरपालिकामा-५५, उपमहानगरपालिकामा-७५ र महानगरपालिकामा–९९ सदस्यीय गाउँ/नगर/शाखा कार्यसमितिको गठन गर्न निर्देशन दिएको छ ।
समितिको गठन सहमतिले हुन नसकेमा पार्टीको स्थानीय निर्वाचन समितिको व्यवस्थापनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली मार्फत समिति गठन गर्ने, गाउँ/नगर/शाखासमितिको कुल कार्यसमितिको बढिमा एक तिहाईसम्मको सचिवालय समिति गाउँ/नगर/शाखा कार्यसमितिले गठन गर्नुपर्ने उल्लेख छ ।
गाउँ/नगर/शाखा समितिका पदाधिकारीहरू अध्यक्ष–१, उपाध्यक्ष–३, सचिव–१, सहसचिव–१ र कोषाध्यक्ष– १ गरी ७ (सात) सदस्यीय कार्यालय गठन गर्न सकिने, वडा/उपशाखा अधिवेशनले बढिमा २५ सदस्यीय वडा समितिको गठन गर्ने, वडा/उपशाखा समितिको कुल कार्यसमितिको बढिमा एक तिहाई अर्थात बढिमा ९ (नौ) जनासम्मको सचिवालय समिति वडा/उपशाखा कार्य समितिले गठन गर्नुपर्नेछ ।
वडा/उपशाखा समितिका पदाधिकारीहरू अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरी बढिमा ५ (पाँच) सदस्यीय कार्यालय गठन गर्न सकिने, सचिवालय र पदाधिकारीको चयन कार्यसमितिबाट सहमतिले हुन नसकेमा कार्यसमितिका सदस्यहरूको बीचमा निर्वाचन प्रक्रियाबाट चयन गर्ने, सचिवालय र पदाधिकारीको गठन गर्दा समानुपातिक, समावेशिको मान्यतालाई अवलम्वन गर्नुपर्ने उल्लेख छ ।