मानिसले छोड्दै गएको मिथुकरमको कथा: बस्नेहरु भन्छन्- गाउँ नछाडेर दुःख पायौं
चितवन । पूर्वी नवलपरासीको दलदले चोकबाट उत्तरतर्फ लाग्ने पहाडी सडक हुँदै अघि बढेपछि कुमसोतसम्म पक्की सडक छ । देवचुली नगरपालिका- ६ कुमसोत डाँडा कटेपछि देवचुली नगरपालिका पार गरिन्छ ।
त्यसपछि सुरु हुने कच्ची सडक बाटोको केही किलोमिटर हुप्सेकोट गाउँपालिकामा पर्छ । अझ अघि बढ्दै जाँदा बोझापोखरी भन्ने केही समथर भाग भएको बुलिङटार गाउँपालिकाको ४ नम्बर वडामा पुगिन्छ । त्यहाँसम्म मानिसहरुको आउजाउ अलि बाक्लो छ । बोझापोखरीबाट उकालो लागेपछि चढिने देवचुली डाँडामा सूर्योदय हेर्न, रमाइलो गर्न युवायुवतीहरु बाक्लै पुग्ने गर्छन् । त्यसैबाट केही साना होटल व्यवसाय पनि यहाँ चलेका रहेछन् ।
यो सडकबाट आउजाउ गर्ने गाडीहरुको खाजा खाने स्टेशन पनि बोझापोखरी नै हो । हुन त यो सडक कालीगण्डकी कोरिडर हुँदै पाल्पाको रामपुरसम्म जोडिन्छ, तर नियमित भने दुइटाबाहेक गाडी चल्दैनन् । विशेष गरी पूर्वी नवलपरासीका बुलिङटार, बौदीकालीका बासिन्दाको सदरमुकाम जोडिने पहाडी सडक हो यो ।
बोझापोखरी हुँदै अघि बढ्दा सडकको लगभग सबैजसो भाग बुलिङटार गाउँपालिका पर्छ । केही जोखिम, कच्ची, तर फराकिलो पहाडी सडक यात्राको लागि मात्रै हेर्दा रमणीय नै छ ।
पहाडी खण्ड छोडेर कालीगण्डकी किनारको पक्की कोरिडोर भेटिएर करिब १० किलोमिटर सडकपछि पार हुन्छ, बुलिङटार गाउँपालिका । त्यसपछि जोडिने स्थानीय तह हो, बौदीकाली गाउँपालिका ।
गाउँपालिका कार्यालय भएकोभन्दा अलि वर मचेडी भन्ने कालीगण्डकी नदी किनाराको गाउँ छ । त्यहाँ पक्की सडकलाई छोडेर दक्षिणतर्फ उकालो लाग्दा कच्ची सडक भेटिन्छ । गण्डकी प्रदेश सरकारको बजेटमा बनेको कच्ची सडकको करिब पाँच किलोमिटर दुरी कटेर माथि उक्लिएपछि भिरालो जमिनमा बसेको एउटा सुन्दर बस्ती भेटिन्छ ।
बस्तीबाट तलतिर हेर्दा नागबेली आकारमा बगेको कालीगण्डकी, समथर फाँटमात्रै होइन, हिमालको सुन्दर दृश्यसमेत देखिन्छ । त्यही बस्तीको नाम हो- मिथुकरम गाउँ, बौदीकाली वडा नम्बर १ ।
साविक मिथुकरम गाउँ विकास समितिबाट वौदीकालीको वडा नम्बर १ बनेको मिथुकरम गाउँको बारेमा कुरा गर्नुअघि बौदीकाली गाउँपालिकाको बारेमा जानौं ।
पूर्वी नवलपरासी जिल्लामा पर्ने यो बौदीकाली गाउँपालिका संघीयतापछि साविकका मिथुकरम, डेढगाउँ, रकुवा, रुचाङ्ग, नरम र जौवारी गाउँ विकास समितिका वडा नम्बर वडा नं १, २, ३ मिलेर बनेको हो ।
यो गाउँपालिकाको पूर्वतर्फ बुलिङटार, दक्षिण हुप्सेकोट गाउँपालिका पर्दछ । पश्चिमतर्फ भने पाल्पा र उत्तरमा तनहुँ जिल्ला भेटिन्छ, तनहुँलाई कालीगण्डकीले पारि बनाइदिएको छ ।
बौदीकाली नेपालको जनसंख्याको वृद्धिदरमा सबैभन्दा कम भएका पाँचमध्ये एक गाउँपालिका पनि हो । २०६८ सालको जनगणनामा १५ हजार ७३४ जनसंख्या भएको यस पालिकामा २०७८ सालको जनगणनामा -३.१४ प्रतिशतले जनसंख्या ऋणात्मक भएर ११ हजार ३३८ पुगेको छ ।
बौदीकाली गाउँपालिका अर्थात् नेपालमा कम मानिस बस्न रुचाउनेमध्ये पाँचौं नम्बरको स्थानीय तह । यस पालिकामा मानिसको बस्न रुचाउने दर किन घट्दो छ, त्यसको सम्पूर्ण बिम्ब एउटा मिथुकरम गाउँको जीवनले बोल्छ । यहाँ मान्छेको कष्टकर जीवनले कहन्छ र समग्रमा राज्यले विपन्नको हकमा कसरी अन्याय गर्छ भन्ने राज्य प्रणालीको यथार्थ चित्रले बयान गर्छ ।
अब कुरा गरौं, मिथुकरम गाउँ र यहाँका मानिसहरुको ।
मिथुकरम गाउँ साविक गाउँ विकास समिति हो । संघीयतापछि बौदीकाली गाउँपालिकाको वडा नम्बर १ मा गाभियो । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार यहाँ ४०९ घरधुरीमा कुल १ हजार ४ ६८ जना बसोबास गर्छन् । तीमध्ये १५० घरधुरी दलित बस्तीमात्रै रहेको यही वडाका सदस्य डिलबहादुर बस्यालले बताए ।
यो बस्तीको कथा डिलबहादुरको दैनिकीबाट नै सुरु गर्दा अझ छर्लङ्ग हुन्छ । डिलबहादुर आफ्नो थरको पछाडि बस्याल लेख्छन्, तर उनको नागरिकतामा सार्की थर उल्लेख छ । अर्थात् उनी हुन्, दलित समुदायबाट निर्वाचित वडा सदस्य ।
उनी जन्मिएको ठाउँ, हुर्किएको गाउँ हो मिथुकरम । डिलबहादुर २०४२ सालमा जन्मिए । उनी हुर्किंदै आएपछि कहिल्यै पनि उनले गाउँमा प्रशस्त पानी भएको अनुभव गर्न पाएका छैनन् । रोजगारीको सिलसिलामा विदेश पनि गए । आफ्नो जीवनकालमा पानी पुग्नेगरी कहिल्यै प्रयोग गर्न नपाएका बालक डिलबहादुर हुर्किएर करिब ४० को हाराहारीमा पुगिसकेका छन् । त्यही बालक डिलबहादुर हुर्किएर गाउँको मिथुकरम खानेपानी आयोजनाको अध्यक्ष भएको पनि ८ वर्ष पूरा भइसकेको छ ।
गाउँको निर्वाचित प्रतिनिधि, गाउँलाई नै पानी खुवाउने अगुवा भएर पनि पानीको अभाव जीवनबाट कहिल्यै हटाउन नसक्दा डिलबहादुरलाई विरक्त लाग्छ बेलाबेला । अनि भन्छन्, ‘गाउँ नछोडेर दुःख पाएँ ।’
हुन पनि उनका दाजुभाइले कावासोती झरेर सुन पसल चलाएका छन्, घरघडेरी जोडेका छन् । जेठा छोरा डिलबहादुर र उनकी श्रीमतीले गाउँ छोडिसकेका छैनन् । कहिले कच्ची सडकमा पटकपटक गाउँलेका समस्या लिएर ओहोरदोहोर गर्दा मोटरसाइकलबाट लडेर हात भाँच्चिएका छन् त कहिले पानी पनि खुवाइनस् भन्ने गाउँलेको रुखो वचनले मन भाँच्चिएको छ । किनकि उनी निर्वाचित वडा सदस्य हुन् ।
हुन पनि यसले त पानी खुवाउन पहल गर्ला भनेर भोट दिएर जिताएका गाउँलेका गाउँ नै छोड्नुको मूल कारण पानीको समस्या पनि समाधान गर्न नसक्दा वडा सदस्य त साक्षी बसिदिने पदमात्रै पनि लाग्न थालेको छ उनलाई ।
‘कार्यपालिका बैठकमा झगडा गर्ने ममात्रै हुन्छु, कति पटक पालिकासँग कराउनू, हैरान भइसकें म’, पानीका भत्किएका पाइप देखाउँदै विरक्ति थपेका थिए उनले ।
हुन पनि यही वर्षमात्रै मिथुकरम गाउँबाट २९ परिवार गाउँ नफर्किने गरी बसाइ सरेका छन् । ‘नयाँ एक घर आयो’, विरक्त हाँसो हाँस्दै तथ्याङ्क सुनाए डिलबहादुरले ।
अब मूल कुरो फेरि दोहोर्याए उनले, ‘के गर्नु म्याडम, गाउँलेलाई पानी खुवाउन सकिएन । आफैं पनि बस्न गाह्रो छ ।’
डिलबहादुरले ५० वटा बाख्रा पालेको छन् । तिनलाई पानी खुवाउन पनि उनलाई समस्या भएको छ । हुन त २०५६ सालमा नेपाल सरकारसँग डानिडा सरकारले गरेको सहयोगमा बनेको मिथुकरम खानेपानी आयोजनाले २०६० सालमा पानी छोडेको थियो ।
त्यो पानी खाने बासिन्दा ५०० भन्दा बढी घरधुरी थिए । अहिले घट्दै गएर मिथुकरमबाहेक गर्दा पनि ३६० घरधुरी पुगेका छन् । २०६० सालमा बनेर पानी नआएका धारा केही घरका आँगनमा ठिङ्ग पनि छन् ।
खानेपानी डिभिजन कार्यालय तनहुँले पूर्वी नवलपुर जिल्लाभरका ९० प्रतिशत मानिसलाई आधारभूत खानेपानी पुगेको अनुमान गरेको छ, तर मिथुकरमका बासिन्दा त्यही आधारभूत खानेपानीको अभावमा छन् ।
किन आउँदैन धारोमा पानी ?
२०६० मा धारो विस्तार गरेको मिथुकरम खानेपानीको मुहान गाउँबाट ३२ किलोमिटर टाढा छ । मूलमा पानी शुद्धीकरण र भण्डारणको लागि ट्याङ्की निर्माण गरिएको छैन । सीधै पाइप जोडेर ल्याउँदा पानी नियमित आउने समस्या हुने मूल कारणमा हरेक वर्ष बर्खाको समय हुन्छ ।
‘एक दिन पानी परेपछि खानेपानी आएन भन्ने जाने हुन्छ’, डिलबहादुरले थपे । त्यसपछि बनाउन जानै सकस हुन्छ । मूलमात्रै पानी नआउने कारण भने होइन । मूलबाट गाउँ लामो भएकोले ठाउँठाउँमा जाने पहिरो पनि पानी नआउने अर्को कारण हो । बेलाबेलामा पाइप नै पहिरोमा पुरिएर हराउँछ । त्यसपछि पुनः पानी ल्याउने पाइप माग्न गुहार लगाउनुपर्छ । गाउँलेहरु पटक पटक पानीको पाइप जोडजाम गरेर त ल्याउँछन्, तर २ दिन बिहान-बेलुका पानी झर्यो भने त्यसपछि फेरि पानी झर्नै रोकिन्छ ।
उसै त पानी पटक-पटक रोकिने समस्याले थलिएका मिथुकरमका बासिन्दालाई काकाकुल राख्ने अर्को कारण थपिएको छ । त्यो कारण हो- सडक विस्तार ।
मिथुकरम खानेपानीको मूल बौदीकाली गाउँपालिकाको वडा नम्बर ६ मा पर्छ । मूलबाट पानी ल्याएको पाइप सडकका किनारामा छन् । हरेकजसो वर्ष वौदीकाली गाउँपालिकाकै वार्षिक कार्यक्रमअनुसार सडक विस्तार भइरहेको छ । अहिले पनि मिथुकरम गाउँबाट वडा नम्बर ६ जोड्ने सडक मर्मत चलिरहेको छ । यही क्रममा डोजरले कतै पाइप पुरिदिएको छ त कतै पाइप निकालेर सबैजसो पाइप लथालिंग बनाइदिएको छ ।
गत शुक्रबार मिथुकरम पुग्दा गाउँमा बिहेको रमझम थियो, तर भाँडाहरु पानी नभएर रित्तै । काँधमा पानी बोकेर लैजाँदै थिए बिहे घरमा मान्छे । गाउँमा पानीको हाहाकार भएपछि गाउँले मिलेर बिहान ७ देखि १२ बजेसम्म लगाएर सडकले भत्काएको पाइप जोडेर ल्याएका रहेछन् ।
साँझपख घरघरमा छरिएका प्लास्टिक पाइप जोरजाम गरेर पानी भर्न हतार थियो सबै परिवारमा । भर्खरै आएको पानी लगेर गोठ लिपेर फर्किएकी रुममाया बस्याल (सार्की) ले भनिन्, ‘पँधेराबाट डोकोमा पानी लिएर आउनुपर्छ । त्यही पनि भनेको बेला पाइँदैन । कुरेर ल्याउनुपर्छ । दुःख छ हामीलाई त पानीको । एक दिन पाइपको पानी आएन भने एक महिना नै आउँदैन ।’
होमराज गुरुङ पनि पानीको जगेडा गर्दै थिए । ८-१० जना मिलेर वेल्डिङ गरेर जोडेपछि पानी आजलाई जगेडा गरिएको बताए । उनले डोजरले पानी बिगारिदिएको बताए । मुहानमा पनि ट्याङ्की नभएकोले थप समस्या भएको उनको गुनासो छ ।
उनले भने, ‘हामीसँग पैसा छैन । कतैबाट बजेट परे हुन्थ्यो । बजेट पनि छैन । पानी खान हामीलाई गाह्रो छ ।’
हिउँदमा खोल्से मूल सुकेपछि अझ हाहाकार
१५ दिनअघि गाउँकै एक घरमा लाखबत्ती बाल्ने, पूजा लगाउने कार्यक्रम थियो । पाहुना बोलाइएको थियो । जसोतसो पानीको जगेडा गरेर खाना त बनाए, तर खाना खाएर उठ्ने बेला पानीका भाँडा रित्तिए । डिलबहादुरले सुनाए, ‘पाहुनाहरु खाजा खाएको कागजको प्लेटले हात पुछेर हिँडे । गाउँकै लाज मर्नु भयो ।’
यस्ता पानी अभावका किस्सा त गाउँभर छन् । अझ विरक्तलाग्दो त महिलाहरुलाई छ । डिलबहादुरले झैं अर्को यथार्थ देवीमाया विकले सुनाइन् । तल्लो घरकी बहिनी छोरीलाई अगाडि बोकेर आधा घण्टाको बाटोमा पानी लिन गइछन् । पानी भर्दाभर्दै छोरी काखमै निदाइन् । निदाएको छोरी अगाडि पानी र ५-७ वटा बोतल बोकेर उकालो चढ्नै सकिनछिन् ।
‘दिदी त्यही जंगलमा आफू मरुँ कि छोरीलाई नै छोडेर आउँ जस्तो भयो भनिन्, आफूले पनि गर्नसक्ने केही हैन । बोल्नै सकिन म त’, उनले भनिन् ।
मनिसरा विश्वकर्मा २७ वर्षकी भइन् । उनका दुई सन्तान छन् । श्रीमान काम गर्न चितवन छन् । घरमा दुई सन्तानसहित एक्लै छिन मनिसरा । ८-१० वटा बाख्रा पालेकी छन् । ती बाख्राले बिहान-बेलुका पानी खोज्छ । ७ र २ वर्षका बच्चाले कपडा मैलो बनाउँछन् । घर, भान्छा, ट्वाइलेट सबैतिर पानी चाहिन्छ ।
दैनिक पछाडि डोको र अगाडि छोराछोरी बोकेर पानी ल्याउन पँधेरो जान्छिन् । अझ अहिले त पानीको हाहाकार भइसकेको छैन । खोल्से कुवाहरुमा जेनतेन पानी आइरहेको छ । धारोमा महिनामा एक पटक पानी आउने ठेगान हुँदैन ।
माघ लागेपछि वरपरका मूल पनि सुक्छन् । पानीको हाहाकार हुन्छ । कम्तीमा आधा घण्टा हिँडेर पानी भर्न जानुपर्छ । मनिसराले भनिन्, ‘छोराछोरी छोडेर जान घरमा कोही छैनन् । मौका छोपेर दिनरात पानी कुर्न जानुपर्छ । कसरी चलाउने होला जीवन ? एक खेपले पुग्दैन, ३-४ खेप पानी बोक्ने, बच्चाको लुगा धुने गर्नैपर्छ ।’
४२ वर्षकी देवीमाया विकले पनि आफ्नो जीवनकाल नै पानीको अभावमा बिताएकी छन् । उनका छोराछोरी हुर्किएका छन्, तर हुर्किएसँगै लाखापाखा लागिसके । उनी घरमा एक्लै छिन् ।
‘ट्वाइलेट जान पनि सकस छ । जंगलमा बस्नुभएन । पानी ल्याइहाल्छु भन्न नजिक ठाउँ पनि छैन’, देवीमाया भन्छिन्, ‘भन्न त नहुने हो । मान्छे भएकै ठाउँमा हो मान्छे आउने, तर हामीलाई त पाहुना पनि नआइदिए हुन्थ्यो जस्तो लाग्छ । पानी छिटो ल्याउँछु भन्ने ठाउँ छैन । एक गाग्री पानी ल्याएर पुग्दैन । पानीको दुःखको बयान गरी साध्य छैन ।’
खाली भइसके घर
विष्णुमाया सार्की (बस्याल) मिथुकरममा नै जन्मिइन् । त्यही हुर्किइन् । विवाह तनहुँमा भए पनि चितवन आएर भेटेनरी पढेकी उनले गाउँमै काम पाइन् । अहिले वडा कार्यालयको पशु शाखामा काम गर्छिन् । उनी माइतीको जमिनमा घर बनाएर बसेकी छन् ।
उनकै घर अगाडि बनेका दुइटा घर यसै वर्ष रित्तिएका छन् । ‘घर अगाडिका दुई घर यही वर्ष खाली भइसके’, विष्णुले भनिन्, ‘मान्छेको जीवन नै पानीबाट सुरु हुन्छ, पानी नभई त कसरी बस्नू ? सबै बसाइ जान थालिसके ।’
चेतमान श्रेष्ठ ६० वर्षका भए । उनी परिवारसहित काठमाडौं बस्छन् । १८ वर्षअघि मिथुकरमबाट बसाइ सरी जाने समयमा गाउँमा बाटो थिएन, बिजुली बत्ती पुगेको थिएन, पानीको समस्या त सदाबहार नै भइगयो ।
‘म काठमाडौं जाने बेला यो गाउँमा विकासको नाममा केही थिएन’, उनले भने, ‘बिजुली आयो, बाटो आयो, पानीको धारा छ, तर अझै पनि पानीको समस्या चाहिँ उस्तै रैछ ।’
उस्तै छ छुवाछूत
दलितको बस्ती बाक्लो भए पनि मिथुकरममा अन्य जातजाति पनि बसोबास गर्छन् । १५० परिवार दलित बाहेक २५ परिवार बाहुन, ५० हाराहारीमा क्षेत्री तथा ठकुरी र बाँकी मगर जातिको बसोबास रहेको छ । संख्यामा धेरै भए पनि दलित समुदायले कानूनले बन्देज गरेको जातीय छुवाछूतबाट भने अझै मुक्ति पाएको छैन ।
वडा सदस्य डिलबहादुर सार्की नै छुवाछूत कायम रहेको एक उदाहरण हुन् । २०६२ सालमा सीतामाया घर्तीसँग भागी विवाह गरेको १९ वर्षसम्म पनि न सीताले माइतीको दैलो टेकेकी छन् न त डिलबहादुरले ससुरालीको ।
दलित भएकोले वैवाहिक सम्बन्धको लामो समयसम्म पनि दैलो टेक्न नदिएपछि ससुरालीसँग सम्बन्ध बढाउन पनि डिलबहादुरको दम्पती लागेको छैन । विवाह सम्बन्धमात्रै होइन, पानी भर्ने पँधेरो एउटै भए पनि गाग्री छुन दलित समुदायकालाई अनुमति हुँदैन ।
स्थानीय देवीमाया विश्वकर्माले भोग्दै आएको छुवाछूत भोगाइ पनि उस्तै छ । भनिन्, ‘हामीले त अहिलेसम्म बाहुनको दैलो टेक्न पाएका छैनौं । पँधेरोमा पनि गाग्री छुन पाइँदैन, तर केही केही नयाँ पुस्ताका युवाहरुले भने गाग्री डोकोमा हालिदिनु भन्ने गरेका छन्, पाकाहरुको नजिक पनि जाने कुरा हुँदैन ।’
पानी संकलनको विकल्प: पालिकाको बजेटबाट घरघरमा ट्याङ्की
मिथुकरममा खानेपानीको दुइटा आयोजना छन् । एउटा २०६० देखि सञ्चालित मिथुकरम खानेपानी आयोजना । अर्को गण्डकी प्रदेश सरकारको बजेटबाट २०७६-०७७ देखि बजेट छुट्याउन थालिएको मिथुक्रम लिफ्ट खानेपानी आयोजना । जसको कुल लागत अनुमान ४ करोड ४९ लाखको छ । चालू आर्थिक वर्षको लागि २० लाख रुपैयाँ विनियोजन भएको योजना किताबमा पनि छ, तर अहिलेसम्म मिथुक्रम खानेपानी लिफ्ट आयोजनाको कुनै पनि काम थालिएको छैन । न टेन्डर प्रक्रिया नै थालिएको स्थानीयले थाहा पाएका छन् ।
खानेपानी डिभिजन कार्यालय तनहुँअन्तर्गत योजना कार्यान्वयन इकाइ नवलपुरका प्रमुख इन्जिनियर महेन्द्र आचार्य विनियोजन भएको आयोजनामा एउटामात्रै देखिए पनि मिथुक्रमसहित अन्य सामूहिक आयोजनाको लागि उक्त बजेट भएको बताउँछन् ।
उनले भने, ‘बल्कमा बजेट भएकोले अन्य आयोजनामा पनि खर्च हुन्छ । त्यसैले टेन्डर प्रक्रियामा जान नसकिएको हो ।’
मिथुकरम गाउँमा पानीको हाहाकार भएको स्थानीय पालिकाका जनप्रतिनिधिलाई पनि थाहा छ । गाउँपालिका उपाध्यक्ष डिलकुमारी सारुमगर हरेक दिन त्यही बाटो भएर पालिका कार्यालय जान्छिन् । बाटोमा आउजाउ गर्दा पाइप लथालिंग भएको पनि देखेकी छन् ।
अझ उपाध्यक्ष मगरको करको दाहिनेतर्फ पहिरोले खानेपानीको पाइप लथालिंग भएको पनि देखेकी छन् । पालिकाको नीति तथा कार्यक्रम बनाउने दायित्व पनि उपाध्यक्षको नै हुन्छ, तर अहिलेसम्म मिथुकरमको खानेपानी समस्या समाधानको लागि बौदीकाली गाउँपालिकाको योजना किताबमा कार्यक्रम उल्लेख गरिएको छैन ।
यद्यपि खानेपानी नभएकोले दुःख पाएको भनेर वडा सदस्य डिलबहादुर बस्यालले पटकपटक कार्यपालिका बैठकमा बताएपछि उनले मिथुकरमका बासिन्दालाई प्रतिघर एक हजार लिटर खानेपानीको ट्याङ्की अनुदानमा दिने कार्यक्रम राखिदिइन् । अघिल्लो र यस आर्थिक वर्ष गरेर ९० वटा खानेपानी ट्याङ्की त्यहाँका बासिन्दाले पाएका छन् ।
आकाशबाट आएको पानी संकलन गरेर पानी नहुँदाको परिपूर्ति गर्न उक्त कार्यक्रम राखिएको उनले बताइन् । गाउँपालिकाको अबको हिउँदे अधिवेशनमा भने खानेपानीको लागि स्थानीय तहले के गर्नसक्छ छलफल गर्ने र स्रोत खोजी गर्ने उनको भनाइ छ ।