बझाङको सुर्मा- ४ मा मतदान जारी
कैलाली । बझाङको सुर्मा गाउँपालिका- ४ मा वडा अध्यक्ष पदका लागि सुर्मा माध्यमिक विद्यालयमा मतदान भइरहेको छ । बिहान ७ देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए ।
निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएकोसमेत उनको भनाइ छ । सुर्मा गाउँपालिका वडा नं ४ मा एमालेबाट निर्वाचित वडा अध्यक्ष सर्जन बोहराको मृत्यु भएपछि उपनिर्वाचन गरिएको हो ।
वडाध्यक्षको लागि नेपाली काङ्ग्रेसबाट धीरेन्द्र पुजारा, एमालेबाट लखिचन्द्र बोहरा र नेकपा माओवादी केन्द्रबाट पुष्कर बोहरा गरी ३ जनाको मात्रै उम्मेदवारी परेको छ । सुर्मा- ४ मा १ हजार ५५४ जना मतदाता रहेका छन् ।
निर्वाचनमा दुई वटै मतदान केन्द्रमा गरी दुई जना मतदान अधिकृत, दुई जना सहायक मतदान अधिकृत, चार जना सहायक कर्मचारी र दुई जना कार्यालय सहयोगी गरि जम्मा १० जना कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ ।