तारादेवीले नेतृत्व गरेको विद्यालय उदाहरणीय
म्याग्दी । अवसर र उचित वातावरण भए महिलाले पनि कुशल नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण बनेकी छन् बेनी नगरपालिका–९ नेप्टेचौरकी तारादेवी चोखाल । स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा विगत दुई दशकदेखि चोखालले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएकी छन् । विद्यालयको पूर्वविद्यार्थी रहेकी चोखालले २०५० सालदेखि शिक्षण गर्दै आएकी छन् भने २०६४ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी वहन गर्दै आएकी हुन् ।
तत्कालीन समयमा कक्षा ५ सम्म मात्र पठनपाठन हुने यस विद्यालयमा चोखालकै नेतृत्वमा कक्षा ८ र १० सम्मको पठनपाठन हुन थालेको छ । विगत दुई दशकको अवधिमा विद्यालयको तह मात्र बढेको छैन, विद्यालयको भौतिक र शैक्षिक वातावरणमा पनि व्यापक सुधार भएको छ । कच्ची र साँघुरा कोठामा पठनपाठन हुने विद्यालयमा अहिले सुविधायुक्त पक्की भवन बनेका छन् ।
आधारभूत तहदेखि स्तरवृद्धि भएर माध्यमिक तहसम्मको पठनपाठन हुन थालेपछि स्थानीय बालबालिकालाई गाउँ छाडेर अन्यत्र अध्ययन गर्न जानुपर्ने झन्झट र बाध्यता हटेको छ ।
उक्त विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सन्तोषजनक नतिजा ल्याउने गरेको छ । तत्कालीन समयमा कक्षा ३ सम्म पठनपाठन हुने यसै विद्यालयमा आफ्नो आधारभूत तहको पढाइ सुरु गरेकी चोखालले गलेश्वर मावि तोरीपानीबाट एसएलसी उत्तीर्ण गरेकी थिइन् । उनले तत्कालीन महेन्द्र बहुमुखी क्याम्पस बागलुङबाट स्नातक तह पास गरेकी थिइन् ।
स्नातक तहमा अध्ययन गर्दागर्दै २०५० सालमा आफूले प्रारम्भिक तहको शिक्षा लिएको विद्यालयमा अस्थायी शिक्षकका रूपमा शिक्षण पेशामा जोडिएकी चोखालले जीवनको महत्त्वपूर्ण समय विद्यालय र विद्यार्थीकै हितमा खर्चेकी छन् ।
‘आफैंले अक्षर चिनेको विद्यालयमा तीन दशकदेखि जोडिन पाउनुलाई मैले अवसर र कर्तव्यका रूपमा लिएकी छु, समाजको विश्वास र मेरो आत्मविश्वासले विद्यालयलाई नेतृत्व गर्न सक्षम बनाएको हो, घरपरिवारको सकारात्मक सहयोगले पनि विद्यालयको काममा निरन्तर लागिरहन हौसला मिल्ने गरेको छ’, प्रअ चोखालले भनिन् ।
विद्यालयसँग आफ्नो पेशा, कर्तव्य, जिम्मेवारी र उत्तरदायित्व जोडिएको उनी बताउँछिन् । विस २०५२ को शिक्षक आयोगमा प्रावि तहको लिखित परीक्षा दिए पनि २०६१ सालमा मात्र नतिजा प्रकाशित भएको र आफू सोही विद्यालयमा पदस्थापना भएको उनले बताइन् ।
उनी २०७० सालमा प्रावि द्वितीय तहमा बढुवा भइन् । आफैंले प्रारम्भिक तहको पढाइ सुरु गरेको विद्यालयबाटै आफ्नो शिक्षण पेशा सुरु हुनु, सोही विद्यालयमा नै स्थायी शिक्षकको पदस्थापन हुनु र प्रअको भूमिकामा नेतृत्व सम्हालेकी चोखालको जीवनमा विद्यालयसँग सम्झनलायक संयोग बनेका छन् । उनी प्रअको जिम्मेवारीमा आएपछि २०६८ सालदेखि प्रस्तावित माविको अनुमति लिएर विद्यालयको स्तरवृद्धि भएको थियो ।
‘प्रावि तहमा मात्र दरबन्दीका शिक्षक कार्यरत थियौं, बाँकी सबै शिक्षकको तलब सुविधा निजी स्रोतबाट जुटाउनुपर्थ्यो, पछि निमावि र माविमा केही राहत र अनुदानका दरबन्दी थपिएपछि विद्यालयलाई राहत भयो, अहिले पनि दुई जना निजी स्रोतबाट शिक्षक राखेका छौं”, प्रअ चोखालले भनिन् ।
समुदायको एकता तथा शिक्षक कर्मचारीको सामूहिकताले विद्यालयको शैक्षिक र भौतिक सुधार सम्भव भएको उनको अनुभूति छ । आफू महिला भएकै कारण विद्यालय असफल हुने त होइन भन्ने सुरुवाती चिन्ता समुदायको रचनात्मक साथ, व्यवस्थापन समितिको कुशल अगुवाइ र शिक्षकहरूको मेहनतले उपलब्धिमा रुपान्तरण गर्न सम्भव भएको चोखालले बताइन् ।
‘महिला प्रअ भएकै कारण व्यक्तिगत रूपमा धेरै चुनौतीको सामना गर्नुप¥यो, घरको काम व्यवस्थापन गरेर विद्यालयका लागि अतिरिक्त समय निकाल्नु महिलाका लागि कठिन हुँदोरहेछ, शिक्षणसँगै विद्यालयको कामले दौडधुप धेरै नै गर्नुप¥यो, जेजति विद्यालयका लागि समय लगानी गरें, विद्यालयको भौतिक र शैक्षिक स्वरुपमा आएको परिवर्तनले सन्तुष्टि मिल्ने रहेछ’, उनले भनिन् ।
विद्यालयलमा तत्कालीन समयमा निजी स्रोतका शिक्षकलाई मासिक एक लाख ५० हजारदेखि दुई लाखसम्म रकम जुटाउनुपर्ने बाध्यता थियो । अहिले तल्लो तहमा कार्यरत भए पनि माथिल्लो तहमा पनि पठनपाठन गर्ने शिक्षकको सुविधा र निजी स्रोतका शिक्षकलाई गरी ९० हजारसम्म विद्यालयलाई व्ययभार परेको प्रअ चोखाल बताउँछिन् ।
विद्यालयले देउसीभैलो, चन्दा सङ्कलन र सामुदायिक वनको सहयोगबाट व्ययभार पूर्ति गर्दै आएको छ । केही वर्ष शिक्षक तलबस्वरुप आर्थिक सहयोग उपलब्ध गराएको स्थानीय गलेश्वर ठूलो सल्लेरी सामुदायिक वनले १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएको छ ।
विद्यालयले सहयोगदाता, चन्दादाताबाट प्राप्त हुने रकमलाई समेत कोषमा जम्मा गर्ने गरेको छ । विद्यालयको अक्षयकोषमा देश विदेशमा छरिएका पूर्वविद्यार्थी र शिक्षकले समेत रकम जम्मा गर्दै आएका छन् । कच्ची भवनलाई विस्थापित गरेर पक्की भवन बनेसँगै विद्यालयको स्वरुप फेरिएको छ । गाजा युवा क्लब, तत्कालीन शान्ति मन्त्रालय, जिल्ला विकास समिति, शिक्षा कार्यालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट गरेर विद्यालयमा नयाँ पक्की भवन बनेसँगै अधिकांश विद्यालयका विद्यार्थीले पक्की भवनमा पठनपाठन गर्ने अवसर पाएका छन् ।
विद्यालयमा अझै दुई कक्षा कच्ची र जीर्ण भवनबाट काम गर्ने गरिएकाले सम्बन्धित निकायमा निरन्तर भवन माग गर्ने गरिएको प्रअ चोखाल बताउँछिन् । विद्यालयले शिक्षण सिकाइमा पनि सूचना प्रविधिको प्रयोग गर्दै आएको छ ।
लामो समय हुने बिदाको समयमा शिक्षकहरूले अनलाइनमार्फत विद्यार्थीलाई पठनपाठनमा पुनर्ताजगी गर्ने गर्छन् । आधारभूत तहको पढाइलाई गुणस्तरीय बनाउन विद्यालयले बालविकासबाट उत्तीर्ण हुने विद्यार्थीलाई एक वर्ष पढेरमात्र कक्षा १ मा पढ्ने व्यवस्था गरिएको छ । विद्यालयमा नियमित पठनपाठनका साथै अतिरिक्त क्रियाकलाप र व्यावहारिक ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्ने शिक्षण सिकाइलाई जोड दिने गरिएको छ ।
नेप्टेचौर, काउलेगौडा, कुवागैरा, स्यालीखेतलगायत बस्तीका बालबालिकाले अध्ययन गर्ने यस विद्यालयमा अहिले १८५ विद्यार्थी अध्ययनरत छन् । प्रअ चोखालका श्रीमान् निजामती सेवामा छन् भने छोराले इञ्जिनियरिङ र छोरीले स्टाफ नर्स उत्तीर्ण गरेका छन् ।
-कमल खत्री