लुम्बिनीका मुख्यमन्त्री आचार्य र सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँको अनौठो संयोग, भेटमा स्मरण भए ती दिन
कैलाली । झन्डै एक दशक अर्घाखाँचीमा एमाले जिल्ला इन्चार्ज रहेका नजिर मियाँ सुदूरपश्चिम प्रदेश प्रमुख छन् । उनकै कार्यकालमा जिल्ला अध्यक्ष रहेका चेतनारायण आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री छन् । मियाँलाई सरकारले गत फागुन २८ गते सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । आचार्य साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
एउटै जिल्लाका एउटै कार्यकालमा अध्यक्ष र इन्चार्ज रहेका मुख्यमन्त्री र प्रदेश प्रमुखको शनिबार भेट हुँदा दुवैले पुराना दिन स्मरण गरे ।
लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रदेश प्रमुख मियाँले सबैभन्दा पहिले मुख्यमन्त्री आचार्यको स्वास्थ्यबारे चिन्ता प्रकट गरे । क्यान्सरले थलिएका आचार्य लामो समयको उपचारपछि निको भएका हुन् । शनिबारको भेटमा प्रदेश प्रमुख मियाँले मुख्यमन्त्री आचार्यलाई सुदूरपश्चिम प्रदेश भ्रमणको निम्तोसमेत दिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबिच एक घण्टा बढी संवाद भएको थियो । त्यस क्रममा उनीहरुले पुराना दिनसमेत स्मरण गरेका थिए ।
मियाँ नेकपा एमालेको १०औं महाधिवेशनभन्दा पहिले झन्डै १२ वर्ष अर्घाखाँचीको इन्चार्ज रहे । आचार्य झन्डै ९ वर्ष पार्टीको जिल्ला अध्यक्ष रहेका थिए । अर्घाखाँची निर्वाचित क्षेत्र १ (१) बाट प्रदेशसभामा निर्वाचित आचार्य यसअघि शङ्कर पोख्रेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री थिए । त्यसपछि एमाले नेता लीला गिरी नेतृत्व सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकासमन्त्री भएका उनी माओवादी नेता जोखबहादुर महराको नेतृत्वको सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्दै आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए ।
२०४९ तथा २०५४ मा अर्घाखाँचीको पालीको तत्कालीन गाविस अध्यक्ष रहेका मियाँ नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका संस्थापक अध्यक्ष हुन् । उनी पञ्चालयकालमा पनि जनपक्षीय उम्मेदवार बनेर थोरै मतले पराजित भएका थिए । २०६४ सालमा समानुपातिकतर्फबाट पहिलो संविधानसभा सदस्य रहेका मियाँले सहयोद्धालाई मुख्यमन्त्रीको रुपमा देख्न पाउँदा खुसी लागेको बताए ।
मुख्यमन्त्री आचार्यले संघीयताको सफल कार्यान्वयनका लागि प्रदेशहरूबीचको असल अभ्यास र सिकाइ आदानप्रदान गर्न जोड दिए । उनले प्रदेश सरकारलाई बलियो बनाउन अधिकार प्रत्यायोजन, नीति कार्यान्वयन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको जानकारी दिए ।
भेटवार्तामा प्रदेशहरुबीचको सहकार्यलाई सुदृढ गर्दै विकास परियोजनाहरूलाई अगाडि बढाउन साझा नीति अवलम्बन गर्ने सहमति पनि भएको छ । विशेषगरी ठूला पूर्वाधार परियोजना सञ्चालन, सीमावर्ती क्षेत्रको विकास, प्राकृतिक स्रोतको संरक्षण र प्राकृतिक प्रकोपको न्यूनीकरणका लागि सहकार्यलाई प्राथमिकता दिने विषयमा दुवै पक्षबीच समझदारी बनेको छ ।
सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले प्रदेशहरूबीच समन्वय र सहकार्यलाई थप गति दिन आवश्यक रहेको उल्लेख गरे । उनले विकासका लागि सामूहिक प्रयास र समन्वय नै संघीयता सफल बनाउन महत्वपूर्ण हुने धारणा राखे ।
भेटवार्तामा प्राकृतिक स्रोतको साझा उपयोग, आपतकालीन उद्धार र सामाजिक मुद्दाहरूमा सहकार्यका साथै दीर्घकालीन रणनीतिको विकासमा सहमति जुटाइएको छ । यो भेटवार्ताले संघीयता कार्यान्वयनको प्रक्रिया सुदृढ गर्दै प्रदेशहरूबीच सहकार्यका नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।
एउटै जिल्लाका अध्यक्ष र इन्चार्ज मुख्यमन्त्री र प्रदेश प्रमुख भएपछि शनिबार उनीहरुबीच पहिलो पटक भेट भएको हो । भेटमा संविधानसभा सदस्य नेत्र पन्थी, लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री खेम सारू, सुदूरपश्चिम प्रदेश प्रमुखको प्रमुख स्वकीय सचिव साबिर अली, लुम्बिनीका मुख्यमन्त्री प्रमुख राजनीतिक सल्लाहकार लक्ष्मण ज्ञवाली र स्वकीय सचिव प्रदीप नेपालीलगायत सहभागी थिए ।