छविलाई बयानका लागि चितवन ल्याइयो
चितवन । कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि चितवन ल्याइएको छ । उनीसँग रामबहादुर खनाललाई पनि भर्खरै पोखराबाट जहाजमा भरतपुर विमानस्थल ओरालिएको हो ।
साहारा सहकारीको रकम अपचलनको विषयमा अनुसन्धानका लागि छविलाललाई चितवन ल्याइएको हो । उक्त सहकारीको ३७ करोड ६५ लाखभन्दा बढी रकमको हिनामिनामा संलग्न भएको आरोपमा जीबी राईसहित १७ जनाविरुद्ध किटानी जाहेरीमा दर्ता भएको मुद्दा गत असोज ९ गतेबाट चलिरहेको छ ।
केही दिनअघि मात्र रवि लामिछानेसहित १० जनाविरुद्ध किटानी जाहेरी दर्ता भएपछि लामिछाने पनि साहाराको बचत अपचलनको अनुसन्धानको दायरामा तानिने भएका छन् ।
काठमाडौंको बयान सकेपछि रविलाई पनि चितवन ल्याउने प्रहरीको सेड्युल छ ।
प्रहरी अनुसन्धानका क्रममा साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीको नाम उल्लेख छ । ती पाँच कम्पनीमा गोर्खा मिडिया, नेचर हर्ब्स इन्टरनेसनल प्रालि, जीबी ग्रुप अफ कम्पनी, नेचर नेष्ट प्रालि र प्रिङ उड रियल स्टेट हाउजिङ प्रालि रहेका छन् ।
ती पाँच कम्पनीमा सहकारीबाट रकम गएको उक्त संस्थाको वित्तीय अभिलेखमा उल्लेख गरिएको थियो । तर, सहकारीको विवरण र ती कम्पनीमा गएको भनिएको रकमको अभिलेख नमिलेपछि सञ्चालक, पदाधिकारीसमेत माथि थप अनुसन्धान भइरहेको छ ।
सो समयमा गोर्खा मिडियामा लामिछाने पदाधिकारी भएका कारण उनी पनि अनुसन्धानमा तानिने भएका हुन् । ती संस्थामा आवद्ध माथिल्लो तहका व्यक्तिहरूमाथि सम्पत्ति शुद्धीकरणसहितको अनुसन्धान चितवन प्रहरीले थालेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार ती कम्पनीका सञ्चालक तहमा भएका रवि लामिछानेसहित १० जना विरुद्ध पुरक किटानी जाहेरी आएको छ ।