मातृ वियोगका कारण आत्महत्या, आमाकै सलमा झुण्डिए गिभिनाका भाइ – Nepal Press

मातृ वियोगका कारण आत्महत्या, आमाकै सलमा झुण्डिए गिभिनाका भाइ

आमाको शवअघि विलौना गर्दै भनेका थिए, ‘म पनि तपाईंसँगै आउँदैछु’

पोखरा । पोखरा महानगरपालिका-२५ याम्दीमा अभियन्ता टिकटकर गिभिना मगरको दुइटा घर (माइती) छन् । परिवारका सदस्यहरु धेरैजसो ‘माथिल्लो घर’ मा बस्छन् ।

शुक्रबार बेलुकीपख गिभिनाका भाइ २६ वर्षीय रामबहादुर बुढाले आफ्नो बाबु र आमालाई कतैबाट स्कुटरमा ल्याएर माथिल्लो घर नजिकै सडक छेउमा ओराले । आफू ‘तल्लो घर’ गएर फर्किन्छु भनेर निस्किए ।

गिभिनाका बाबुआमालाई घर पुग्न बाटो क्रस गर्नुपर्ने थियो । उनीहरु दुवै जेब्रा क्रसबाट बाटो काट्दै थिए । ५५ वर्षीया धनकुमारी बुढा अघिअघि र उनका श्रीमान पछिपछि थिए । सीसीटीभीमा देखिएअनुसार फराकिलो सडकमा गाडीहरु स्पीडमा आइरहँदा श्रीमान रोकिए, तर धनकुमारी सडक पार गर्न अचानक दौडिइन् । उनलाई ग २ ख १४६० नम्बर ट्रकले जेब्रा क्रसमै ठक्कर दियो । धनकुमारी गम्भीर घाइते भइन् ।

बुवाआमालाई छोडेर हिँडेका रामबहादुर तत्काल घटनास्थलमा आए । आमालाई परिवारका अरु सदस्यसमेत जम्मा भएर धनकुमारीलाई मणिपाल शिक्षण अस्पतालमा पुर्‍याइयो, तर उनको प्राणान्त भइसकेको थियो । लैजानासाथ चिकित्सकले मृत घोषणा गरे ।

आमाको दुर्घटनाको खबर सुनेपछि काठमाडौंमा रहेकी गिभिना पोखरा आइपुगिन् । भाइसहितका परिवारले मणिपालमा कानूनी प्रक्रिया पूरा गरेर आमाको शवलाई अस्पतालमै छोडेर घर फर्किए । गिभिना राति ८ बजे पोखरा आइपुगेकी थिइन्, तर आमाको मृत्यु भएको उनलाई सुनाइएको थिएन । भोलिपल्ट मात्रै भन्ने परिवार र आफन्तको तयारी थियो । उनलाई अस्पतालमा धेरै जना बस्न नमिल्ने बताएर घरमै पठाइयो । भाइ रामले आफू अस्पतालमा बस्ने बताएका थिए ।

राति अस्पताललाई शव जिम्मा लगाएर सबैजना घरतिर आए । रामले आफूले दिदीलाई सम्हाल्न नसक्ने भन्दै ‘तल्लो’ घरमा एक्लै बस्ने बताए । आमालाई गुमाएर विक्षिप्त बनेका उनी अरू परिवारलाई छोडेर एक्लै तल्लो घरतर्फ लागे ।

‘सबै प्रक्रिया पूरा भएपछि उसलाई (गिभिनाका भाइ) घर जाऊँ भन्यौं, तर उसले माथिल्लो घरमा जान मानेन’, गिभिनाका फुपाजु जीवनकुमार श्रेष्ठले भने, ‘हामी गाडीमा आयौंं । ऊ स्कुटरमा फर्कियो ।’

अस्पतालमा रामले आमाको शव नजिकै विलौना गर्दै ‘ममी तपाईं जानु भो, तपाईंसँगै म पनि आउँदैछु है’ भनेका थिए ।

‘हामीले त सुनेका होइनौं, तर पछि चौकीमा गएर थाहा भयो भाइले आमाको शव नजिक गएर ‘ममी तपाईं जानुभो, तपाईंसँगै म पनि आउँदैछु है’ भनेका रहेछन्’, गिभिनाका फुपाजुले भने ।

रामले आफ्ना आमाबाबुलाई औधी माया र सम्मान गर्थे । आमा गुमाएपछि उनले आफूलाई बेसहारा सम्झिएका थिए । आफूले ‘जेब्रा क्रस’ कटाइदिएको भए यस्तो घटना नहुने सोचेर उनलाई आत्मग्लानी भइरहेको थियो ।

फुपाजुका अनुसार राम राति अबेरसम्म साथीहरूसँग थिए, तर छुट्टिने बेला एक्लै बस्छु भनेर उनी घरतर्फ लागे । त्यसपछि उनले कसैको फोन रिसिभ गरेनन् ।

गिभिनाले राति लाइभ आउँदै भाइ हराएको बताएकी थिइन् ।

लाइभमा रुँदै उनले भनेकी छन्, ‘मेरो सबै खुसी फिर्ता लैजा भगवान । मेरो आमा र बाबुलाई फिर्ता ल्याइदे । मेरो कान्छो भाइले ममीले छोडेर गएको कुरा खप्न सक्दैन । भाइ मेरो लाइभ हेरिरहेको छस् भने तँ आइज । जता भए नि आइज । ममी नभए पनि म छु त !’

अर्को दिन बिहान पनि फोन नउठेपछि सबैजना माथिल्लो घरबाट तल्लो घरमा पुगे । घरमा राम झुन्डिएको अवस्थामा भेटियो । उनको प्राणपखेरु उडिसकेको थियो । रामले आमाको रगत लागेको ‘सल’ आत्महत्या गर्न प्रयोग गरेका थिए ।

पारिवारिक स्रोतका अनुसार राम गिभिनाका दुई भाइमध्ये कान्छा हुन् । विवाहित रामका श्रीमती र एक बच्चासमेत छन् । आमाको मृत्युको पीडा खप्न नसकेरै उनले आत्महत्या गरेको पारिवारिक स्रोतको भनाइ छ । पोखरा महानगरपालिका- २५ का वडाध्यक्ष मोतीलाल तिमल्सिनाले पनि आत्महत्या गर्नुको अरु कारण नरहेको बताए । प्रहरीले पनि प्रारम्भिक रुपमा यही निष्कर्ष निकालेको छ ।

गिभिनाको गत मंसिर ८ गते विवाह भएको थियो । वैवाहिक जीवन सुरु गरेको एक साता पनि नबित्दै उनले अकल्पनीय वियोग सहनुपरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *