सुदूरपश्चिममा ५४ प्रतिशतले गरिसके मतदान, सबै ठाउँमा शान्तिपूर्ण छ अवस्था
कैलाली । सुदूरपश्चिम प्रदेशमा एक उपाध्यक्ष र चार वडाध्यक्षको लागि भइरहेको उपनिर्वाचनमा ३ः३० बजेसम्म ५४ प्रतिशतले मतदान गरेका छन् ।
१७ हजार ३१३ मतदाता रहेको सुदूरपश्चिमका पाँच स्थानमा ९ हजार २७० जनाले मतदान गरिसकेको प्रदेश निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिए ।
बाजुराको स्वामिकार्तिक गाउँपालिकामा उपाध्यक्षलागि ७ हजार ४६० मतदाता मध्ये ३ हजार ७७७ जनाले मतदान गरिसकेका छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि ५ हजार ४३४ मतदाता मध्ये २ हजार ६८४, दार्चुलाको दुहु गाउँपालिका–५ मा १ हजार २७२ मध्ये ७८४, डोटीको पुर्वीचौकी गाउँपालिका–६ मा १ हजार ५९३ मध्ये ८०९ र बझाङको सुर्मा गाउँपालिका–४ मा १ हजार ५५४ मध्ये १ हजार १७५ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भट्टले जानकारी दिए ।
सबै ठाउँमा अवस्था शान्तिपूर्ण रहेको छ । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध भएकी टीकाकुमारी चौधरी भुलले निर्वाचित भएको प्रमाण पत्र बुझ्दै शपथ पनि लिइसकेकी छन् ।