‘विश्नोई’ को नाम, दुर्गा प्रसाईँको काम : राष्ट्र बैंकका उच्च अधिकारीलाई ११३ पटकसम्म धम्की
काठमाडौं । कुख्यात भारतीय आपराधिक गिरोह ‘लरेन्स विश्नोईको एजेण्ट’ भन्दै नेपालीलाई धम्क्याउने झापाका हरिचन्द्र फुयाँलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित राष्ट्र बैंकका अन्य उच्च अधिकारीलाई १ सय १३ पटक धम्क्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) द्वारा झापाको भारतीय सीमावर्ती क्षेत्रबाट पक्राउ गरी काठमाडौं ल्याइएका उनले राष्ट्र बैंकका अधिकारीहरूमाथि धम्कीपूर्ण भाषा प्रयोग गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता एसपी होविन्द्र बोगटीले बताए ।
‘हामीले गभर्नर सा’ब भनेर किटान गरेका छैनौं, उच्चपदस्थ अधिकारी भनेका छौं ।’
फुयाँल मंसिर १३ गते नेपाल-भारत सीमानाकाबाट पक्राउ परेका थिए । केही व्यापारीहरूले भारतीय नम्बरबाट विश्नोईको नाममा धम्की आएको भन्दै प्रहरीमा उजुरीसमेत दिएका थिए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँको योजनामा आपराधिक कार्यका निम्ति परिचालित उनी विश्नोई समूहको नभई प्रसाईंद्वारा आफ्नो स्वार्थमा परिचालन गरिएकाव्यक्ति भएको बोगटीले बताए ।
फुयाँल घ्यू व्यापारी हुन् । उनी इलामको घ्यू भारतको आसाममा लगेर बेच्ने गर्थे । फुयाँललाई आपराधिक लाभमा अनुसन्धान भइरहेको छ ।
‘अरुको त नाममात्रै लिएका हुन्, काम चाहिँ प्रसाईँले लगाउने गर्थे’, उनले भने ।
फुयाँललाई आइतबार बयानका निम्ति जिल्ला सरकारी वकिलको कार्यालय लगिएको थियो । तर, धेरैजसो सरकारी वकिल स्थानीय तहको उपनिर्वाचनमा खटिएका कारण प्रारम्भिक बयान लिएर पुनः हिरासतमा पठाइएको वकिलको कार्यालयले जनायो ।
‘प्रहरी अनुसन्धानबाट खुल्न आएका कागजात पनि प्राप्त भयो, थुप्रै मानिसलाई धम्की दिइएका डिजिटल तथा अन्य प्रमाण पेश भएका छन्’, सरकारी वकिलको कार्यालय स्रोतले जनायो । त्यसमध्ये नेपाल राष्ट्र बैंकका कर्मचारीलाई धम्की दिइएको पनि समावेश छ ।
फुयाँलले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका प्रसाईंका अर्बौं रकम ऋण र ब्याज मिनाहाको उद्देश्यसहित राष्ट्र बैंकका उच्चपदस्थ व्यक्तिलाई विभिन्न आपत्तिजनक भाषामा धम्क्याउने र त्रस्त बनाउने काम गरेको प्रवक्ता बोगटीले बताए ।
‘उनलाई राष्ट्र बैंकका उच्चपदस्थ व्यक्तिको नम्बर दिने मानिस पनि पहिचान भएको छ’, बोगटीले भने, ‘अनुसन्धानका क्रममा ती मानिसलाई पनि झिकाइने छ ।’
फुयाँलसँग प्रसाईँको ५० औं पटक मोबाइलमा सम्पर्क देखिने बोगटीले बताए ।
‘उनैले यसो गर, उसो गर भनी अर्हाएको देखिन्छ’, उनले भने ।
फुयाँलले आइतबारको प्रारम्भिक बयानमा ‘गल्ती स्वीकार’ गरेको सरकारी वकोलको कार्यालयस्रोतले जनायो । उनको बयान सोमबारदेखि नियमित चल्ने छ ।
‘धेरै पीडितका जाहेरी छन्, प्रहरी प्रतिवेदनले औंल्याएका गम्भीर विषय पनि छन्’, स्रोतले भन्यो, ‘त्यसैले बयान सिध्याउन समय लाग्छ ।’