अधिकांश स्थानमा मतगणना आजैबाट, सोमबार साँझसम्म नतिजा आइसक्ने आयोगको दावी – Nepal Press

अधिकांश स्थानमा मतगणना आजैबाट, सोमबार साँझसम्म नतिजा आइसक्ने आयोगको दावी

ताजा अपडेट आयोगको वेवसाइटबाट

काठमाडौं । स्थानीय तहमा रिक्त रहेका ४१ स्थानमा उपनिर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्षसमेतको उपनिर्वाचन शान्ति पुर्णरुपमा सम्पन्न भएको हो ।

उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल प्रेससँग बताए । उनका अनुसार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ मा सबैभन्दा बढी मत खसेको छ भने काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा सबैभन्दा कम मत खसेको छ ।

देशभरका विभिन्न ४१ स्थानमा सम्पन्न स्थानीय तहको उपनिर्वाचन भएका ४१ स्थानमध्ये अधिकांश वडामा आजैबाट मतगणना सुरु हुने आयोगले जनाएको छ । ३३ वडाको निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित वडा कार्यालयमा नै रहेकाले उक्त वडामा मतदान सकिएलगत्तै मतगणना सुरु हुने तयारी रहेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । उपनिर्वाचनको भोलिपल्ट नै अन्तिम मतपरिणाम आउने उनको दावी छ ।
थपलियाले भने, ‘उपनिर्वाचन हुने ३३ वडामा आजै मतगणना सुरु गर्न कुनै समस्या छैन । तर, कतिपय पालिकामा भने भोलि सोमबारबाट मात्रै मतगणना सुरु गरेर भोलि नै सकिन्छ ।’

मतगणना कार्य तत्काल सुरु गर्ने जिम्मेवारी राजनीतिक दल, तीनका प्रतिनिधि र उम्मेदवारको नै रहेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । उनले भने, ‘मतगणना गर्दा कानूनी व्यवस्था अनुसार सर्वदलीय सहमति अनुसार गर्नुपर्छ । राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिले निर्वाचन अधिकृतले भने अनुसारको काम गर्नुभयो, विवाद गर्नुभएन भने मतपत्र सजिलो भएकाले पनि चाँडै गणना सकिन्छ । निर्वाचन भएकै ठाउँमा मतगणना हुने भएकाले पनि सहज छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले हरेक उम्मेदवारको मतपत्र छुट्टाछुट्टै रहेको र मतगणना गर्न पर्याप्त टिम परिचालन भएको उल्लेख गरे ।
उनले भने, ‘काठमाडौं बाहेक सबै स्थानमा मतगणना एकै चरणमा सकिन्छ । काठमाडौंमा भने एकै चरणमा नसकिन सक्छ ।’

दोलखाको गौरिशंकरमा हेलिकोप्टरबाट मतपेटिका ल्याउने तयारी

दोलखाको गौरिशंकर गाउँपालिकामा भने उपनिर्वाचन सकिएपछि पालिकाको केन्द्रमा मतपेटिका ल्याउनका लागि हेलिकोप्टरको प्रयोग गर्नुपर्ने देखिएको छ । गाउँपालिकाको केन्द्रदेखि वडा कार्यालय धेरै टाढा रहेकाले हेलिकोप्टरमार्फत नै मतपेटिका ल्याउनुपर्ने अवस्था देखिएको र त्यसको तयारी अघि बढाइएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

उनले भने, ‘हेलिकोप्टर प्रयोग नगर्दा करिव १२ देखि १३ घण्टा लाग्ने अवस्था छ । सबै मतपेटिका जम्मा नगरिकन गणना गर्न नसकिने हँुदा केही समय लाग्न सक्छ । अन्य सबै पालिकाको आजैबाट मतगणना सुरु हुन्छ ।’

गौरिशंकरपछि रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका वडामा गणना सुरु गर्न केही ढिलाइ हुने भएको छ । यद्यपि आइतबार राति अबेरसम्म गणना भइसक्ने आायोगले जनाएको छ ।
थपलियाले भने, ‘अलि टाढा भनेको रुकुम पूर्वको पुथा उत्तरगंगाका वडा हुन् । तर पनि त्यहाँ आजै राति ११ बजेसम्म सुरु भइसक्छ होला भन्ने हामीले अपेक्षा गरेका छौ ।’

ताजा अपडेट आयोगको वेवसाइटबाट

निर्वाचन आयोगले मतगणनाको नतिजा प्रत्येक २ घण्टाको फरकमा आयोगकै वेवसाइटमार्फत सार्वजनिक गर्ने भएको छ । आयोगले हरेक मतगणना स्थलमा कम्प्यूटर अपरेटर राखेर प्रत्येक २–२ घण्टामा अद्यावधिक गराउने व्यवस्था मिलाएको हो । मतगणना स्थलबाट नतिजाको विवरण राख्ने वित्तिकै आयोगको वेवसाइटबाट सार्वजनिक हुन्छ ।’

आज देशभरका ८ स्थानीय तह र ३३ वडा गरेर ४१ स्थानमा उपनिर्वाचन सम्पन्न भएको छ । काठमाडौंको किर्तिपुर नगरपालिकाका प्रमुख र जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख पदका लागि उपनिर्वाचन भयोे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर