जनकपुरधाममा विवाहपञ्चमी सुरु, भगवान श्रीराम र लक्ष्मणको गराइयो नगरदर्शन (भिडिओ)
जनकपुरधाम । त्रेतायुगमा भगवान श्रीराम र माता सीताबीच भएको विवाहको सम्झनामा जानकी मन्दिरले मनाइने साताव्यापी विवाह पञ्चमी आजबाट विधिवत सुरु भएको छ ।
विवाह पञ्चमी महोत्सवको पहिलोदिन आज नगरदर्शन गरिएको हो । भगवान श्रीराम र उनका भाई लक्ष्मण पहिलो पटक प्राचिन मिथिलाका राजधानी जनकपुरधाम आएको मान्यता अनुरुप नगरदर्शन मनाइन्छ ।
दुई बालकलाई भगवान श्रीराम र लक्ष्मणको रुपमा सजाएर जानकी मन्दिर परिसरमा नगर दर्शन गराइयो । नगर दर्शनका लागि जानकी मन्दिर परिसरमा पान, मखान, मिठाई, मिथिला चित्रकला, कपडासहितका पसलको स्टल राखिएको थियो ।
नगरदर्शन विधिमा हजारौं श्रद्धालुहरु सहभागी थिए । सो अवसरमा भजन-कीर्तन र गितनादमा श्रद्धालुहरु रमाए । विवाह पञ्चमीको विधिहरु हेर्न बाहिर जिल्ला र भारतबाट साधुसन्त र श्रद्धालुहरु जनकपुरधाम आउनेक्रम जारी छ ।
यसवर्ष राम जन्मभूमि भारतको अयोध्याबाट जन्ती समेत आउन लागेको छ ।