बेलकामा रोकिएको मत गणना शुरु हुन सकेन, सर्वदलीय बैठक निष्कर्षविहीन
काठमाडौं । उदयपुरकाे बेलका नगरपालिका वडा नं ९ को मतगणना रोकिएको मतगणना अझै शुरु हुन सकेको छैन । सोमबार रातीदेखि रोकिएको मत गणना अहिलेसम्म शुरु हुन नसकेको हो ।
निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताका अनुसार सोमबार राती १ बजेसम्म ५०० मतगणना गरिएको थियो । जसमा २२० मत बदर भएपछि विवाद उत्पन्न भएको हो ।
बदर मत अत्यधिक भएकोबारे सर्वदलीय बैठक बसेको थियो । तर, उक्त बैठक निष्कर्षविहीन सकिएको छ । सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि एक घण्टापछि पुनः बस्नेगरी बैठक सकिएको छ ।
पछिल्लो मत मत परिणाम अनुसार नेकपा एमालेका मोहन खड्काले ८५ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रका भरत घिमिरेले ८० मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसका नवराज बस्नेतले ६२ मत पाएका छन् ।
तीन हजार १६७ मतदाता रहेको यस वडामा एक हजार ८८५ मत खसेको थियो ।
यस वडामा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पदम खड्काको मोटरसाइकल दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन भएको हो ।