कीर्तिपुर : कांग्रेसले अग्रता बढाउँदा दोस्रो स्थानमा एमाले र माओवादीको प्रतिस्पर्धा – Nepal Press

कीर्तिपुर : कांग्रेसले अग्रता बढाउँदा दोस्रो स्थानमा एमाले र माओवादीको प्रतिस्पर्धा

दुई स्वतन्त्रलाई पनि उल्लेख्य मत

काठमाडौं । कीर्तिपुरको मेयरमा कांग्रेसका मेयर उम्मेदवार कृष्णमान डंगोलले आफ्नो अग्रता कायम राखेका छन् । उनलाई एमाले र माओवादी उम्मेदवारहरूले पछ्याइरहेका छन् ।

प्राप्त पछिल्लो मत परिणाम अनुसार डंगोलले कुल १३१३ मत ल्याएर सहज अग्रता बनाएका हुन् । एमालेका डा. सुरेन्द्र मानन्धरले ९७८ मत ल्याएका छन् । यस्तै, माओवादीका शिवशरण महर्जनलाई ७१४ मत प्राप्त भएको छ ।

कीर्तिपुरमा वडा नम्बर १ को मतगणना सकिएर अहिले वडा नम्बर ४ को मतगणना भइरहेको छ । वडा नम्बर १ मा कांग्रेस पहिलो हुँदा स्वतन्त्र उम्मेदवार राजमान महर्जन दोस्रो स्थानमा रहेका थिए । माओवादी तेस्रो हुँदा एमाले चौथोमा खस्किएको छ ।

वडा नम्बर ४ को गणनापछि भने एमाले दोस्रो स्थानमा उक्लिएको हो । अहिलेसम्म कुल ४९०९ मत गणना सम्पन्न भइसकेको छ । कीर्तिपुरमा तीन ठूला दलबाहेक दुई स्वतन्त्र उम्मेदवारले पनि उल्लेख्य मत ल्याइरहेका छन् ।

कैँची चुनाव चिन्ह भएका दिनेशकुमार अधिकारीले ६३१ मत ल्याउँदा केटा र केटी चुनाव चिन्ह भएका राजमान महर्जनलाई ५२० मत प्राप्त भएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुव महर्जनले अहिलेसम्म २२७ मत ल्याएका छन् । अन्य उम्मेदवारलाई उल्लेख्य मत आएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *